• होमपेज
  • अर्थ/वाणिज्य
  • राष्ट्रिय वाणिज्यले नाफामा सबैलाई जित्यो, व्याजदर सबैभन्दा सस्तो

राष्ट्रिय वाणिज्यले नाफामा सबैलाई जित्यो, व्याजदर सबैभन्दा सस्तो

  • सोमवार, जेष्ठ ६, २०७६
राष्ट्रिय वाणिज्यले नाफामा सबैलाई जित्यो, व्याजदर सबैभन्दा सस्तो

राष्ट्रिय वाणिज्य बैंकले नाफामा सबैलाई जितेको छ।

बैंकले सार्वजनिक गरेको तेस्रो त्रैमासिक वित्तीय विवरणअनुसार ३ अर्ब ४९ करोड खुद नाफा आर्जन गरेको छ। बैंकहरुको नाफामा यो सबैभन्दा उच्च हो।

यसअघि नविलले ३ अर्ब १९ करोड खुद नाफा आर्जन गरेको विवरण सार्वजनिक गरेको थियो। बहु सरकारी स्वामित्वको नेपाल बैंकको नाफा घट्दा पूर्ण सरकारी स्वामित्वमा रहेको राष्ट्रिय वाणिज्यको नाफा भने १३ प्रतिशतले बढेको हो। गत वर्षको यस अवधिमा बैंकको नाफा ३ अर्ब ८ करोड थियो।

बैंकको खुद व्याजवापतको आम्दानी र कमिसन तथा शुल्कवापतको आम्दानी बढ्दा नाफामा टेवा पुगेको हो। बैंकको व्यवसाय बढेको छ। चैत मसान्तसम्म १ खर्ब ७२ अर्ब निक्षेप संकलन गरी १ खर्ब ३७ अर्ब कर्जा प्रवाह गरेको छ। एक वर्षको अवधिमा बैंकको निक्षेप संकलन ८ अर्बले बढेको छ भने कर्जा प्रवाह २० अर्बले बढेको छ।

निक्षेपभन्दा कर्जा प्रवाहको वृद्धिदर बढी देखिए पनि लगानीयोग्य रकमका आधारमा बैंक सहज अवस्थामा छ। सिडी रेसियो ७४ प्रतिशत रहेकाले निक्षेप संकलन नभए पनि बैंकले अरु थप ऋण रकम लगानी गर्न सक्ने क्षमतामा छ।

मुलुकमा लगानीयोग्य रकमको अभाव भइरहेका बेला सिडी रेसियोको सहजताका कारण आगामी दिनमा बैंकको नाफा अझ बढ्न सक्छ।

९ अर्बको सरकारी सेयर पुँजी रहेको बैंकको जगेडा कोषको आकार पनि मजबुत छ। १४ अर्ब जगेडा कोषमा छ। बैंकको प्रतिसेयर आम्दानी ३८ रुपैयाँ ८६ पैसा छ।

बैंकको व्यवसायसँगै निश्क्रिय कर्जा समेत बढ्नुले भने व्यवस्थापकीय क्षमतालाई कमजोर देखाएको छ। बैंकको निश्क्रिय कर्जा ४. २८ प्रतिशत पुगेको छ। समीक्षा अवधिमा यो २. ९० प्रतिशतबाट बढेको हो।

बैंकले प्रवाह गरेको ऋण नियमित रुपमा उठ्न नसकेपछि निश्क्रिय कर्जा बढ्न जान्छ। मुख्यतः कमसल धितोका कारण ऋण नउठ्ने गर्दछ। निश्क्रिय कर्जा बढ्दा सोवापतको जोखिम व्यवस्थापन रकम बढ्न जान्छ। जसले लाभांश वितरणको क्षमतामा ह्रास आउँछ।

राष्ट्र बैंकले यस्तो निश्क्रिय कर्जाको अधिकतम दर ५ प्रतिशत तोकेको छ। निश्क्रिय कर्जा ५ प्रतिशत नाघेमा नियामकले कारबाही गर्नेछ। तसर्थ बैंकलाई आगामी दिनमा निश्क्रिय कर्जा घटाउनु सबैभन्दा ठूलो चुनौति देखिएको छ।

व्याजदर सबैभन्दा सस्तो
ऋण लिन चाहनेका लागि राष्ट्रिय वाणिज्यको व्याजदर सबैभन्दा सस्तो देखिएको छ। आधार व्याजदरमा निश्चित प्रिमियम दर जोडेर बैंकहरुले कर्जा प्रवाह गर्ने गरेका छन्। त्यसकारण ऋण लिनुअघि बैंकको आधार व्याजदर हेर्नु जरुरी हुन्छ।

राष्ट्रिय वाणिज्यको आधार व्याजदर जम्मा ५. ३८ प्रतिशत छ। बैंकको आधार दर घट्दै गएको छ। गत वर्षको यस अवधिमा आधार व्याजदर ६. २० प्रतिशत थियो।

सरकारले दिने सहुलियतपूर्ण ऋणका लागि पनि वाणिज्य बैंक सबैभन्दा सस्तो देखिन्छ। यस्तो ऋणमा आधार दरमा बढीमा २ प्रतिशत प्रिमियम दर जोडेर सहुलियतको (५ प्रतिशत) व्याजदर घटाइन्छ। कृषि काम गर्ने तथा बैदेशिक रोजगारबाट फर्केका युवाले जम्मा २. ३८ प्रतिशत व्याजमा बैंकबाट ऋण पाउन सक्छन्।

बैंकले निक्षेपकर्तालाई दिने व्याजदर बचतमा बढीमा ५ प्रतिशतसम्म छ भने मुद्दतीमा बढीमा साढे ८ प्रतिशतसम्म मात्रै छ। साथै बैंकले हालसम्म बैंक खाता नखोलेकालाई खाता खोल्दा १ सय रुपैयाँ खातामै जम्मा गरिदिने व्यवस्था गरेको छ।

चर्चामा

सम्बन्धित समाचार