• होमपेज
  • खेलकुद
  • ब्याडमिन्टन टोली चीन प्रस्थान

ब्याडमिन्टन टोली चीन प्रस्थान

  • शनिबार, जेष्ठ ४, २०७६
ब्याडमिन्टन टोली चीन प्रस्थान

सुदिरमान कप विश्व मिक्स टिम ब्याडमिन्टन च्याम्पियनसिपमा सहभागी हुन नेपाली ब्याडमिन्टन टोली आज चीनको नानिङ प्रस्थान गरेको छ ।

यही जेठ ५ देखि १२ गतेसम्म हुने प्रतियोगितामा नेपालबाट समान दुई/दुई पुरुष/महिला खेलाडीले प्रतिस्पर्धा गर्नेछन् । पुरुषमा रत्नजीत तामाङ र दीपेश धामी तथा महिलामा नङशल तामाङ र अमिता गिरी रहेका छन् ।

प्रशिक्षकमा उत्तम सिंखडा तथा व्यवस्थापकमा नेपाल ब्याडमिन्टन सङ्घका कोषाध्यक्ष अनोज बस्नेत छन् । प्रतियोगितामा दक्षिण एशियाका तीनसहित २१ राष्ट्रको सहभागिता रहने ब्याडमिन्टन सङ्घले जनाएको छ ।

दक्षिण एशियाबाट नेपालसहित भारत र श्रीलङ्काको सहभागिता रहने छ । ब्याडमिन्टन सङ्घका अध्यक्ष रामजीबहादुर श्रेष्ठ तथा उपाध्यक्ष सुवास श्रेष्ठ प्रतियोगिताका दौरान हुने ब्याडमिन्टन विश्व महासङ्घ र ब्याडमिन्टन एशियाको वार्षिक साधारणमा भाग लिन चीन जादैँछन् ।

अध्यक्ष श्रेष्ठ यही जेठ ७ गते  जाँदैछन् भने उपाध्यक्ष श्रेष्ठ टोलीसँग चीन गएका छन् । टोलीलाई सफलताको शुभकामना दिदै राष्ट्रिय खेलकुद परिषद्का सदस्यसचिव केशवकुमार विष्टले आजै बिदाइ गरेका थिए ।

 

चर्चामा

सम्बन्धित समाचार