• होमपेज
  • राजनीति
  • एकता नहुँदै नयाँ शक्तिमा पहिरो नेकपामा सबै नेता कार्यकर्ता फर्किने अन्तिम तयारीमा !

एकता नहुँदै नयाँ शक्तिमा पहिरो नेकपामा सबै नेता कार्यकर्ता फर्किने अन्तिम तयारीमा !

  • शुक्रबार, बैशाख २७, २०७६
एकता नहुँदै नयाँ शक्तिमा पहिरो नेकपामा सबै नेता कार्यकर्ता फर्किने अन्तिम तयारीमा !

काठमाडौं, तत्कालिन नेकपा माओवादी केन्द्रलाई पुरानो भत्केको बन्नै नसक्ने घरको आरोप लगाउँदै नयाँ शक्ति गठन गरेका बाबुराम भट्टराईले संघीय समाजवादी फोरमसँग एकता गर्ने निर्णय गरेपछि नयाँ शक्तिभित्र पहिरो जाने देखिएको छ ।
नयाँ शक्ति बनेपछि उत्साहित हुँदै बाबुरामसँग लागेका पूर्व माओवादीका नेता तथा कार्यकर्ता यतिखेर बाबुरामसँगै जाने या नेकपामा फर्किने अवस्थामा पुगेका हुन ।

“केही नयाँ होला भनेर बाबुरामजीसँगै गयौं, तर सोचेजस्तो भएन ।” एक उच्च तहका नेताले भने, “फोरमको राजनीतिक लाइन नै मान्ने हो भने हामीले किन नेकपाबाट अलग हुनुपथ्र्यो ?”

पार्टी भित्र पार्टी एकताबारे पर्याप्त छलफल नभएको समेत उनीहरुको आरोप छ । शीर्ष तहमा बाबुरामजीले एकल निर्णय गरेको र यसबारेमा परिषद तहमा समेत कुनै छलफल नभएको उनले बताए । “हामीले त नयाँ बनाउने कुरा पो गरेका थियौं, अरु भन्दा भिन्न, कार्यशैलीदेखि विचारमा भिन्न मोडेल पार्टी बनाउने कुरा थियो । शक्ति कमजोर भयो भन्दैमा एकताको एकल निर्णय गर्नु ठीक होइन ।” उनले भने ।

नेताहरु देवेन्द्र पराजुलीलगायतकाले समेत यो विषयमा असन्तुष्टि व्यक्त गरेका छन् । सामाजिक सञ्जालमा नै पराजुलीले टिप्पणी गरेका छन् ।

संघीय समाजवादी फोरमले लिएको समाजवादी कार्यनीति र आफूहरुले अघि सारेको पाँच ‘स’ को कार्यनीतिबीच कहाँ कसरी तादाम्यता मिल्छ भन्ने कुरा पार्टीमा छलफल नभई एकता गरिएको अधिकांश पूर्व माओवादीबाट गएकाहरुले बताएका छन् ।
यो अवस्थामा सबै उस्तै नै हो भने नेकपामा नै जाँदा कम्तीमा कम्युनिष्ट त भन्न पाइने मनोविज्ञान समेत विकास भएको देखिन्छ।

माओवादी केन्द्र र एमालेबीचको एकताले वैचारिकरुपमा कम्युनिष्ट आन्दोलनको क्रान्तिकारी धारलाई भुत्ते बनाएको भएपनि कतिपय अवस्थामा अन्य शक्तिभन्दा अगाडि बढने अवसर भने नभएको होइन भन्ने उनीहरुको ठम्याई छ ।
सम्भवतः यो बीचमा पदीय या अन्य जिम्मेवारी तहको विषय र कार्यदिशाको विषयमा कुरा नमिलेको खण्डमा जिल्लादेखि केन्द्रसम्मका नेता तथा कार्यकर्ता नेकपामा प्रवेशको लहर चल्ने उनले बताए ।

बाबुराम भट्टराईले निकै हतारमा फोरमसँग एकता गर्नुका पछाडि कुन चाहिँ तत्वले काम गरेको हो भन्ने स्पष्ट नभएपनि राजपालाई समेत छोडेर अघि बढेको देखिन्छ । राजपाले समेत आफूहरुले एकताबारे छलफल गर्न समय मागेपनि बाबुराम र उपेन्द्र यादवले हतारमा एकताको निर्णय गरेको आरोप लगाएको छ ।

बाबुरामको यो हतारो कार्यकर्तालाई सन्तुष्ट तुल्याउन सक्ला त भन्ने प्रश्नको जवाफ अहिले नै दिन सकिने अवस्था छैन तर यसले दीर्घकालमा वैकल्पिक शक्ति बन्ने उसको अभिष्टामा भने तत्कालका लागि धक्का लागेको नै देखिन्छ ।

चर्चामा

सम्बन्धित समाचार