मङ्लबार, मंसिर १८, २०८१

छोरो पाउन आशिष !

  • आइतवार, बैशाख १५, २०७६
छोरो पाउन आशिष !

टीका विष्ट

कुनै सन्ध्याको एक बसाइमा घुम्न जाने कुरा निस्क्यो । मैले नजाने भनें । हक जताएरै रिसाएजस्तो नजरले हेर्दै एकजना दाइले भन्नुभो– ‘के हो के पारा ? बच्चा पाउने आइमाई जस्तो सक्दिनँ भनेर टार्ने । जाउँ खुरुक्क !’

‘साँच्चै म पाउने भा’छु दाइ’, मैले हल्का मुस्काएँ ।

‘सरप्राइज !’ दाइले आँखीभौं उचाल्नुभो ।

छलफलकै बीचमा रितु आइन् । लौ शुभ अवसरमा सुन्तला खाउँ भनेर दाइले डोके व्यापारी दिदीबाट एक किलो सुन्तला किन्नुभो । दुबैले मलाई जिस्क्याए ।

दाईले सोध्नुभो–‘साँच्चि के पाउन मन छ छोरा कि छोरी ?’ ‘मलाई सन्तान चाहिएको हो’ भन्ने उत्तरले उहाँको चित्त बुझेन । एउटा मात्र रोज्न लगाएपछि गर्भको बच्चालाई अन्याय होला कि सोच्दै छानें–‘छोरी’ ।

मुखैमा लगेको सुन्तला हातमा फर्काउँदै दाईले अस्वाभाविक अनुहार लाएर भन्नुभो, ‘लौ ! पहिलो बच्चा छोरी होस् भन्ने मान्छे पहिलो पटक देखें ।’ रितुले मेरै सही थापिन् । भनिन्–‘हुन्छन् दाई । बुढीले छोरा जन्मायो भनेर तीन दिनसम्म जाँड खाएको मान्छेलाई मैले भेटेको छु । उनले पहिलो बच्चा नै छोरी चाहेका थिए ।’ मलाई यसको बैज्ञानिकताबारे केही थाहा छैन । पहिला के हुँदा राम्रो भन्ने बहस पनि हैन । मैले त यसै भनेकी थिएँ पहिलो बच्चा छोरी नै होस् ।

रितुको अफिस बाहिर थियौं । घरबेटी दिदी किराना पसलबाट निस्केर भनिन्–‘पाँच महिना कटेपछि पेट हेरेरै छोरा कि छोरी भन्न सक्छु ।’ सोचें, पेटै हेरेर गर्भको लिङ्ग पत्ता लगाउने मान्छेले त त्यही धन्दा गर्नु नि । किन गर्थे मान्छेहरु अल्ट्रासाउण्ड ?

महिला हिंसा बिरुद्धको १६ दिने अभियानको अन्तिम दिनको बिहान । वीरेन्द्रनगरको बसपार्कमा रहेका गाडी र काउण्टरमा स्टीकर टाँस्ने कार्यक्रम थियो । महिनावारी हुनुपूर्वको जस्तो कटक्क पेट दुःखीरहेको थियो ।

तिलालाई घरसम्म छोड्न पार्किङ्गको स्कूटी निकालें । चक्कर आउला जस्तो भो । नजिकै रहेको कोठामा पुगेपछि उनले सातु खुवाइन् । स्कूटी घर पु¥याउन सकस भएपछि श्रीमान्लाई बोलाएँ ।

खप्न नसक्ने पेट दुखेपछि देउती अस्पतालमा पिशाब जाँच गरें । प्रेगनेन्सी पोजिटिभ देखायो । त्यसै दिन कोहोलपुर गएँ । जहाजको टिकट काटेर भोलिपल्ट नेपालगञ्जबाट काठमाडौं पुगें ।

सुत्केरी व्यथा लागेपछि अघिल्लै दिन देउरानी अस्पताल भर्ना भएकी थिइन् । एयरपोर्टबाट सिधै केएमसी गएँ । म पुगेको एक घण्टामै संगीताले छोरी जन्माइन् । आमालाई छोराको आशा लागेको ठम्याउन हामीलाई त्यति गा¥हो भएन । यद्यपि परिवारमा खुशीयाली छायो ।

कोठामा पुगेपछि देवरले छोरी खेलाउँदै भन्नुभो– ‘अर्को बर्ष तिम्रो भाइ आउँदैछ ।’ उहाँको इशारा मतिर थियो । यसो भन्दा आमाको मुहारमा एकतमासको खुशी दौडियो ।

मध्यपश्चिमाञ्चल विश्वविद्यालयमा ‘जेण्डर’ पढाउने उप–प्राध्यापकले एक दिन श्रीमान्संग भन्नुभएछ– ‘उपरवाला देताहे तो छप्पर फाडके देता हे भनेको सही रहेछ । कमल यही बर्ष स्थायी भयो, यही बर्ष घर बनायो अब छोरा पनि पाउने भो ।’

वीरेन्द्रनगर २ मा लैंगिक समानता र समावेशीकरणको तालिम दिएर फर्किंदा एकजना आमाले मेरो पेटतिर हेर्दै सोध्नुभो–‘मेडमका कति छन् बच्चा बच्ची ?’ छैनन्, पहिलो पल्ट हो । ढिलै होस्, छोरै होस् भन्छन्, छोरै हुन्छ । मेरो बोली त लाग्छ । ३२ ओटा दाँत छन् ।’

एक दिन फुपू दिदीलाई ढोग्दा भन्नुभो–‘भाग्यमानी भए, छोरा जन्माए !’

बर्ष फेरिएको छ । शुभकामना दिनेहरु धेरैले भन्छन्, छोरै होस् ! कुनै तालिम, टट वा विश्वविद्यालयमा नसिकेको÷नबुझेको लैङ्गिकता गर्भवती भएदेखी नजिकबाट बुझ्ने अवसर पाएकी छु ।

छोरो नजन्मंदै कसरी घर, परिवार र समाजको प्राथमिकतामा पर्छ ? छोराले कसरी बाबुआमाको मन जित्छ ? र, किन बाबुआमाले छोरोसंग हार्न सक्दैनन् ? भन्ने सोच्न थालेकी छु ।

मेरा एक छिमेकी कर्मचारी छन् । जसले ८ ओटा छोरीको ‘भ्रुण हत्या’ गरेर छोरा जन्मिंदा सबैलाई लड्डु बाँडेका थिए । मैले नजिकबाट चिनेको एक महिला अधिकारकर्मीले ४ वटा छोरी फालेर भर्खरै छोरा पाएकी छन् । २ छोरी पछि छोरो पाउन उनलाई निकै दबाब थियो रे ! छोरी जन्माएको भनेर श्रीमतीलाई यातना दिने पनि मैले देखेकी छु ।

छोरीमै सन्तुष्ट हुने भनेर मनलाई सम्झाएका पढेलेखेका मान्छेको ‘मन’ पनि भड्किएको पाएकी छु । अचेल लाग्छ– छोरी जन्मेपछि धेरै ‘ग्याप’मा छोरा पाउनेहरु कतिले छोरीको भ्रुण हत्या गरे होलान् !

आखिर किन चाहिन्छ त छोरो ? छोरी प्रतिकुल समाजमा छोराको आवश्यकताबारे केही चिन्तन गरौं ।

पहिलो, हामीले अभ्यास गर्दै आएको पितृसत्ता चिनौं । जहाँ आमालाई छोरा जन्माउन विवश बनाइन्छ । छोराको हैकम स्वीकार्न तयार राखिन्छ । र, उनीहरुलाई त्यही खालको अभ्यास र अनुभव छ । किनकि सत्ता सञ्चालनका लागि छोरो जरुरी छ । छोराको प्रभुत्व नै पितृसत्ता हो ।

दोस्रो, हामीले छोराको आवश्यकतालाई धर्म, परम्परा र संस्कारसंग जोडेका छौं । मर्दा, पर्दा, लाहुर जान, धन कमाउन, घर व्यवहार चलाउन, पितृको श्राद्ध गर्न, मलामी जान, परायासंग ‘डिल’ गर्न वा कुनै कठोर परिश्रम गर्न छोरालाई अघि सार्छौं । छोरीलाई कुनै क्षेत्रमा पनि अग्राधिकार छैन । यो पितृसत्ता जोगाउन गरिएको प्रपञ्च हो ।

म बसेको ठाउँमा छोरीले मोटरसाइकल चलाएको सबैले फर्केर हेर्छन् । स्टन्ट देखाउने कुरा सोच्न पनि सकिंदैन । छोरीलाई सार्वजनिक कामबाट बञ्चित गरिनुले पितृसत्ता टिकाउन मद्दत गरेको हो । भर्खरै एक सरकारी कार्यालयकी प्रमुखसंग कुरा गर्दा छोरीलाई ‘हाकिम’ मान्न धेरैजना तयार छैनन् । यद्धपी परिवर्तनलाई सबैले स्वीकार गर्नैपर्छ ।

हामीले अभ्यास गरेको धर्म, परम्परा र राजनीतिले छोराको सर्वसत्ता स्थापित गरेको छ । सत्ता सञ्चालन गर्ने छोराको गल्ती वा ज्यादती पनि स्वीकार्य छ । छोरी निरीहताको प्रतिक बनेको छ । शायद यसै कारणले होला धेरैले शक्तिशाली, शासकीय र सामाजिक छोरो जन्माउन चाहने । र, फलस्वरुप छोरीको माग घट्ने ।

हुनपनि हामीले पढ्ने स्कूलमा ‘हेड मेडम’ हुनुहुन्थेन । पत्रकारिता शुरु गर्दा ‘क्यामेरा पर्सन’को परिकल्पनै थिएन । यहाँसम्म कि गीत सुनाउने यन्त्रको नाम पनि ‘वाकमेन’ थियो । अहिले धेरै कुरा फेरिएको छ । लैंगिक मूलप्रवाहीकरणका लागि धेरै प्रयास भएका छन् । वास्तविक जीवनमा पनि परिवर्तनको महसुस गर्न सकिएको छ ।

छोराछोरी दुबै सृष्टिका साधक हुन् । उनीहरुलाई हेर्ने दृष्टि पनि समान हुनु जरुरी छ । लैंगिक समानताका लागि छोरीलाई साधन होइन साध्यको रुपमा हेरिनुपर्छ ।

जबसम्म पेटभित्रको बच्चा बाहिर नआउँदै के आउँछ भनेर बाजी थाप्ने प्रचलन कायम रहन्छ तबसम्म बिभेद रहन्छ । सन्तान जन्माउने र अशल नागरिक बनाएर योगदान गर्ने वातावरणको सिर्जना गर्नु आजको आवश्यकता हो ।

अतः छोरा वा छोरी पाउन आशिष दिने कुरालाई अवज्ञा गरौं । जन्मेका सन्तानलाई अशल बनाउने अभियानमा लागौं । मेरो हुनेवाला सन्ताप्रति म पूर्वाग्रही हुनै सक्दिनँ ।

(विष्ट पत्रकार हुन्)

चर्चामा

सम्बन्धित समाचार