• होमपेज
  • देश/प्रदेश
  • सुदूरपश्चिममा नेकपाको सपथ : तीन सचिवले गरे बहिस्कार

सुदूरपश्चिममा नेकपाको सपथ : तीन सचिवले गरे बहिस्कार

  • आइतवार, बैशाख १५, २०७६
सुदूरपश्चिममा नेकपाको सपथ : तीन सचिवले गरे बहिस्कार
धनगढी – सुदूरपश्चिम प्रदेशमा नेकपाका जिल्ला अध्यक्ष र सचिवले सपथ ग्रहण गरेका छन्। नेकपाको प्रदेश कार्यालय धनगढीमा आइतबार उनीहरुलाई सपथ ग्रहण गराइएको हो।
नेकपाका सुदूरपश्चिम इन्चार्ज भीम रावलले उनीहरुलाई सपथ खुवाएका हुन्। तर, सपथ ग्रहणलाई तीन जिल्लाका सचिवहरुले भने बहिस्कार गरेका छन्। बहिस्कार गर्नेमा तीनै जना तत्कालिन नेकपा एमालेका जिल्ला अध्यक्षहरु हुन्। बहिस्कार गर्नेमा डडेल्धुराका सचिव तारादत्त जोशी, दार्चुलाका रामदत्त जोशी र बझाङका दिलबहादुर सिंह हुन्।
उनीहरुका जिल्लामा जिल्ला अध्यक्ष पद तत्कालिन नेकपा एमालेको भागमा परेको छ । ‘बझाङ जस्तो जिल्लामा जस्को कुनै संगठन नै छैन उसलाई अध्यक्ष अनि मलाई सचिव राख्ने काम घोर अन्यायपूर्ण र अव्यवहारिक छ’, बझाङका सचिव सिंहले भने, ‘पार्टीको मापदण्ड विधिसम्मत भएन। त्यसैले मैले सचिव पद बहिस्कार गरेको हुँ।’
यस्तै डडेलधुराका सचिव जोशीले पनि पार्टीको पद बिभाजन विधिसम्मत नभएको गुनासो गरे। ‘११ वर्षसम्म एमालेको जिल्ला अध्यक्ष भएर चलाएको मान्छेलाई सचिव बनाएर अपमान गर्ने काम भयो’, उनले भने, ‘मेरो जिल्ला तहमा बस्ने कुनै इच्छा नै होइन। मलाई यस विषयमा एक पटक सोध्ने काम पनि भएन।’
आफूलाई एक पटक नसोधेर नै सचिवमा राखेको भन्दै जोशीले यश बारेमा प्रदेश इन्चार्ज र अध्यक्षलाई जानकारी गराएको बताए। धनगढीमा आएर पनि जोशी सपथ ग्रहण कार्यक्रममा सहभागी भएनन्। तत्कालिन एमालेको जिल्ला अध्यक्ष भएर पनि एकीकृत पार्टीको जिल्ला सचिव पद स्वीकार गर्नेमा कंचनपुरका तारालामा तामाङ छन्। उनले पार्टीले बनाएको मापदण्ड स्वीकारेको प्रतिक्रिया दिए। इन्चार्ज भीम रावलले भने अनुपस्थित किन रहे भन्ने बारेमा आफू जानकार नरहेको बताएका छन्।

चर्चामा

सम्बन्धित समाचार