नेपाल सेमिफाइनलमा

  • शुक्रबार, बैशाख १३, २०७६
नेपाल सेमिफाइनलमा

एसीसी यू-१६ इस्टर्न रिजन क्रिकेट

काठमाडौं : नेपाली टोली थाइल्यान्डमा जारी एसीसी यू-१६ इस्टर्न रिजन क्रिकेट प्रतियोगिताको सेमिफाइनलमा प्रवेश गरेको छ।

बिहीबारको आयोजक थाइल्यान्डसँगको खेल वर्षाका कारण अवरुद्ध भए पनि अंकतालिकाको शीर्ष स्थानमा रहँदै नेपालले प्रतियोगिताको सेमिफाइनलमा स्थान पक्का गरेको हो। समूह ‘ए’ मा तीन खेलबाट पाँच अंक बटुल्दै नेपाल समूह विजेता बनेको हो।

नेपालले अब शनिबार हुने सेमिफाइनल खेलमा समूह ‘बी’ को उपविजेता हङकङसँग प्रतिस्पर्धा गर्नेछ। साबिक विजेता नेपालले यसअघि प्रतियोगिताको समूहगत चरणको अघिल्ला दुई खेलमा म्यानमार र मलेसियालाई हराएको थियो। बिहीबार टस जिती पहिले ब्याटिङ गरेको नेपालले ३५ ओभरमा सात विकेट गुमाउँदै दुई सय ३४ रन बनाएको थियो।

जवाफमा थाइल्यान्डले १.५ ओभरमा कुनै रन जोड्नुअघि नै एक विकेट गुमाएपछि वर्षा सुरु भएको थियो। त्यसपछि वर्षा नरोकिएका कारण खेल अनिर्णीत बनेको थियो। त्यससँगै थाइल्यान्ड र नेपालले एक-एक अंक बाँडेका थिए। नेपालका लागि तेस्रो क्रमका ब्याट्सम्यान आइस भट्टराईले सर्वाधिक ५८ रनको योगदान गरे। कप्तान विशालविक्रम केसीले ३८ र प्रारम्भिक ब्याट्सम्यान दीपक बोहोराले ३५ रन बनाए।

यसैगरी विशालकुमार पटेल २३ बलमा २८ रन र निखिलकुमार सिंह १२ बलमा २२ रन बनाउँदै अविजित रहे। नेपालका लागि आइसले विशालसँग मिलेर चौथो विकेटका लागि सर्वाधिक ७३ र दीपकसँग मिलेर दोस्रो विकेटका लागि ५५ रनको साझेदारी गरेका थिए। वर्षाले खेल अवरुद्ध हुनुअघि बलिङतर्फ नेपालका प्रशान्त महतले दोस्रो ओभरमै थाइल्यान्डको विकेट लिएका थिए। थाइल्यान्डकाका लागि भने नरवित नुन्तरचले तीन विकेट लिएका थिए।

चर्चामा

सम्बन्धित समाचार