• होमपेज
  • समाज
  • पतिले आगो लगाएर गम्भीर घाइते कञ्चन मण्डलको मृत्यु

पतिले आगो लगाएर गम्भीर घाइते कञ्चन मण्डलको मृत्यु

  • शुक्रबार, बैशाख १३, २०७६
पतिले आगो लगाएर गम्भीर घाइते कञ्चन मण्डलको मृत्यु

पतिले आगो लगाएर गम्भीर घाइते भएकी सिराहा कल्याणपुर नगरपालिकाकी २१ वर्षीया कञ्चन मण्डलको मृत्यु भएको छ।

काठमाडौंको साँखुस्थित शुस्मा कोइराला मेमोरियल अस्पतालमा उपचाररत उनको ५ बजेर ५ मिनेटमा मृत्यु भएको अस्पतालकी डाक्टर रूजिना शिल्पकारले सेतोपाटीलाई जानकारी दिइन्। ‘उहाँलाई यहाँ ल्याइपुर्‍याउँदा धेरै ढिलो भइसकेको थियो। यहाँ ल्याउँदा अनुहार सुनिएको स्वासप्रस्वास नली सुन्निएको थियो, बिस्तारै मृगौलाले पनि काम गर्न छोड्दै गयो,’ उनले भनिन्,‘कोशिश गर्दा गर्दै हामीले बचाउन सकेनौ।’

उनलाई आगो लगाउने उनका पति चेतन मण्डल फरार छन्। आगो लगाएर मार्ने कोशिश गरेको भन्दै प्रहरीले यसअघिनै सासू सुर्जी खत्वेलाई पक्राउ गरेको छ।

कञ्चनलाई सुरूमा उपचारका लागि विपी कोइराला मेमोरियल अस्पताल धरान र त्यसपछि काठमाडौंको साँखु पुर्‍याइएको थियो।

उनको पूरा शरीरको ८० प्रतिशत भाग जलेको थियो।

भान्छामा काम गरिरहेकी उनलाई श्रीमानले शरीरमा पछाडिबाट आगो लगाइदिएका थिए।

‘म भान्छामा काम गरिरहेकी थिएँ। आगो लागेपछि थाहा भयो। मलाई मेरो पति र सासूले यस्तो अप्ठ्यारोमा पारे,’ घाइते अवस्थामा प्रहरी बयानमा कञ्चनले भनेकी थिइन्।

कञ्चनलाई जलाएको थाहा भएपछि छिमेकीले प्रहरी बोलाएका थिए। प्रहरी र गाउँले मिलेर उनको उद्धार गरेका थिए। कञ्चनकी डेढ वर्षीया छोरी छन्।

सासूलाई पक्राउ गरे पनि अहिलेसम्म उनले केही कुरा नखोलेको प्रहरीले जनाएको छ।

‘कञ्चनकी सासूसँग हामीले बयान लिएका छौं तर उनी केही बोल्दिनन्। त्यसैले मौकामा पीडितसँगै लिएको बयानका आधारमा हामीले अनुसन्धान अघि बढाएका छौं,’ मिर्चैया इलाका प्रहरी कार्यालयका डिएसपी खनालले ‘उनका पतिलाई पनि हामीले खोजी गरिरहेका छौं।’

चर्चामा

सम्बन्धित समाचार