मङ्लबार, मंसिर १८, २०८१
  • होमपेज
  • पत्रपत्रिका
  • पश्चिम नेपालमा महाभूकम्पको खतरा, पराकम्पले जोखिम कम

पश्चिम नेपालमा महाभूकम्पको खतरा, पराकम्पले जोखिम कम

  • बिहिबार, बैशाख १२, २०७६
पश्चिम नेपालमा महाभूकम्पको खतरा, पराकम्पले जोखिम कम

१२ वैशाख, काठमाडौं । भूकम्पसँग सम्बन्धित सामग्री आजका सबै दैनिक पत्रिकाहरुको पहिलो प्राथमिकतामा परेको छ । ०७२ वैशाख १२ मा गएको भूकम्पको वार्षिक पारेर पत्रिकाहरुले त्यसपछिका पुनर्निर्माण र भूकम्पको खतराबारे चर्चा–परिचर्चा गरेका छन् ।

सरकारी पत्रिका गोरखापत्रले ०७२ वैशाख १२ को भूकम्पपछि निरन्तर परकम्प गइरहेकाले ठूलो भूकम्पको जोखिम कम भएको लेखेको छ । तर पश्चिम नेपालमा भने महाभूकम्पको खतरा रहेको उसले औंल्याएको छ । गोरखापत्र लेख्छ– कुनै क्षेत्रमा ठूलो भूकम्प गएपछि त्यहाँ जम्मा भएको शक्ति निष्क्रिय हुन्छ । फेरि त्यो शक्ति सञ्चय हुन लामो समय लाग्छ । हिमालय क्षेत्रमा आठ रेक्टर स्केलभन्दा ठूलो भूकम्प जान सात आठ वर्ष लाग्छ । तर, आठभन्दा सानो भूकम्प गयो भनेचाहिँ कति वर्षमा आउने भन्ने ठेगान हुँदैन ।

१२ वैशाख ०७२ मा भूकम्प गएका क्षेत्रमा यसको खतरा नभए पनि पश्चिम नेपालमा भने भूकम्पको खतरा रहेको भूकम्पविदहरुलाई उद्धृत गर्दै गोरखापत्रले समाचार लेखेको छ । गोरखापत्रका अनुसार त्यो भूकम्प कति समयपछि कुन मात्रामा जान्छ भनेर अनुमान गर्न नसकिने विज्ञहरुले बताएका छन् ।

नेपालको पूर्वी, मध्य र पश्चिम क्षेत्रको अध्ययन गर्दा मध्य नेपालमा ८० देखि सय वर्षको अवधिमा ठूला भूकम्प गएको पाइन्छ । भूकम्पविदहरुको अनुसार पश्चिम नेपालमा सन् १५०५ पछि ठूलो भूकम्प गएको छैन ।

सिस्मोलोजिस्ट मुकुन्द भट्टराईका अनुसार पश्चिम नेपालमा धेरै शक्ति सञ्चय भएको देखाउँछ । यस क्षेत्रमा महाभूकम्प जाने सम्भावना छ । काठमाडौं उपत्यकाको दक्षिणी क्षेत्रमा पनि लामो समयदेखि शक्ति सञ्चय भइरहेको छ । सन् १८३३ मा गएको भूकम्पले पनि यस क्षेत्रको शक्ति पूरै बाहिर नगएको ठान्छि ।

भट्टराईले गोरखापत्रसँग भनेका छन्– गोरखा भूकम्पपछि गोरखादेखि सिन्धुपाल्चोकसम्मको क्षेत्रमा सञ्चय भएको शक्ति बाहिर गएको छ । त्यसैले यो क्षेत्रमा तत्कालै ठूलो भूकम्प नजाला ।

१२ वैशाख ०७२ को भूकम्पको केन्द्रबिन्दु गोरखा बारपाकको ०६४ र हालैको तस्वीर मुखपृष्ठमा छापेको कान्तिपुरले ५ वर्षमा ४५ हजार परकम्प गएको लेखेको छ । जुन अद्यपि कायमै छ ।

त्यस्तै, भूकम्पपछिको पुनर्निर्माणबारे सम्पदाविद् रवीन्द्र पुरीको विचारलाई पनि कान्तिपुरले मुखपृष्ठमा ‘कभरेज’ गरेको छ । सम्पदाविद् पुरीका अनुसार, स्वार्थ समूहका कारण सम्पदाहरुको पुनर्निर्माण प्रभावित बनेको छ ।

बालुवाटारको सरकारी जग्गा कसरी व्यक्तिको नाममा भयो भन्ने वृत्तान्त पनि आजको कान्तिपुरमा छ । यो जग्गा व्यक्तिको नाममा दर्ता गर्ने प्रक्रियामा अख्तियार दुरुपयोग अनुसन्धान आयोगका पूर्वप्रमुख दीप बस्न्यातको निर्णायक भूमिका रहेको दाबी कान्तिपुरको छ ।

कान्तिपुरमा बलराम बानियाँ लेख्छन्– बस्न्यातले अख्तियारको प्रमुख आयुक्त हुनुभन्दा अघि तत्कालीन भौतिक योजना तथा निर्माण मन्त्रालयको सचिव रहेका बेला पर्ती, सरकारी र राजकुलोको जग्गासमेत नक्कली मोहीका नाममा दर्ता गरिदिन मन्त्रिपरिषद्मा पेस गरेको विवरण फेला परेको छ ।

बालुवाटारको करिब ११३ रोपनी जग्गा २०४९ सालसम्म विभिन्न व्यक्तिका नाममा दर्ता भइसकेको थियो भने करिब ३५ रोपनी जग्गा खाली थियो । त्यो खाली जग्गाको बीचबीचमा पर्ने भागलाई विभिन्न टुक्रा बनाइ व्यक्तिका नाममा दर्ता गरिएको थियो । त्यहाँ राजकुलो र बाटोसमेत थिए ।

अन्नपूर्णले पनि आजको अंकलाई भूकम्प विशेष बनाएको छ । भूकम्पपछिको पनुर्निर्माण, दाताको प्रतिबद्धतालगायत विषयलाई अन्नपूर्णले आजको अंकमा पस्केको छ । अन्नपूर्णका अनुसार, भूकम्पमा ज्यान गुमाएका ३१ को अझै सनाखत हुन सकेको छैन । पहिचान हुन नसकेका शवललाई त्रिवि शिक्षण अस्पतालको फरेन्सिक विभाग परिसरमा गाडिएको छ । भूकम्पका बेला हराएका ८ जना भने अझै बेपत्ता छन् ।

नागरिकले नुवाकोटको ऐतिहासिक साततले दरबार अझै टेकोको भरमा रहेको लेखेको छ ।

कारोबारले अन्य दैनिक पत्रिकाहरुको भन्दा पृथक विषय उठाएको छ । संघीयता कार्यान्वयनका लागि महत्त्वपूर्ण ठानिएको वित्त आयोगको काम अब अर्थ मन्त्रालयबाटै हुने उसले लेखेको छ । भारतबाट इन्धन आपूर्ति सहजताका लागि ४१ अर्ब लागतका विभिन्न ६ वटा पेट्रोलियम पाइपलाइन परियोजना प्रस्ताव गरिएकोलाई पनि कारोबारले महत्त्वका साथ छापेको छ ।

चर्चामा

सम्बन्धित समाचार