• होमपेज
  • समाचार
  • स्कुलका प्रअलाई कार्यकक्षमै हातपात

स्कुलका प्रअलाई कार्यकक्षमै हातपात

  • सोमवार, बैशाख ९, २०७६
स्कुलका प्रअलाई कार्यकक्षमै हातपात

काठमाडौं : प्रधानाध्यापक नियुक्तिको विषयमा मध्य वानेश्वरस्थित रत्नराज्य माध्यमिक विद्यालयमा दुई पक्षवीच विवाद भएको छ ।

असन्तुष्ट समूहले निमित्त प्रधानाध्यापक रहेका जीवन प्रकाश रेग्मीलाई सोमबार कार्यकक्षमै हातपात गरेका छन् । विद्यार्थी पढाई रहेको समयमा विद्यालयकै शिक्षक कृपाशुर खड्काको नेतृत्वमा गएको अपरिचित समूहले आफूमाथि हातपात गरेको रेग्मीले आरोप लगाए ।

तत्कालिन प्रधानाध्यापक डा. गीता खरेलले अवकाश पाएपछि रेग्मीलाई वैशाख ५ गतेदेखि निमित्तको जिम्मेवारी दिइएको थियो । खरेलकै प्रस्तावमा रेग्मीलाई विद्यालय व्यवस्थापन समितिले जिम्मेवारी दिएको थियो । तर आफू भन्दा कनिष्ठलाई प्रअको जिम्मेवारी दिएको भन्दै खड्काले असन्तुष्टि जनाउँदै आएका थिए ।

असन्तुष्टिकै क्रममा सोमबार रेग्मीलाई हातपात गरिएको हो । ‘विद्यालयसंग सम्बन्ध नै नभएका २०।२५ जनाको समूह अकस्मात मेरो कक्षमा पसेर लछारपछार गरे । उनीहरुले तत्कालै म बसेको कुर्सी तान्ने तथा कागजपत्र फ्याक्न थाले’ रेग्मीले भने, ‘त्यहाँ आएकामध्ये मैले चिनेको भनेका मेरै सहकर्मी कृपाशुर खड्का मात्र थिए । उनैले नेतृत्व गरेर उक्त समूहलाई म माथि आक्रमण भएको थियो ।’

हातपात गर्ने समहूमा काभ्रेको पाँचखालका मेयर महेश खरेल पनि आएको रेग्मीले बताए । खरेल वानेश्वरकै वासिन्दा हुन् । तर अहिले उनी उक्त विद्यालयका अभिभावक छैनन् । विद्यालय सञ्चालन तथा व्यवस्थापनसंग सम्बन्धित कुनै पनि समितिमा आवद्ध पनि नरहेको रेग्मीले बताए ।

विगत दुई पक्षबीचको टकरावको कारण विद्यालयको नयाँ भवन निर्माण कार्य पनि प्रभावित बनेको थियो । रत्नराज्य काठमाडौंमा विद्यार्थी आकर्षण भएको सामूदायिक विद्यालय मध्येमा पर्छ । यहाँ २ हजार ४ सयको हाराहारीमा विद्यार्थी पढ्छन् । ६५ जना शिक्षक कार्यरत छन् । स्थानीयहरु पनि प्रख नियुक्तिमा दुई खेमामा बाडिएका छन् । प्रअमा खड्कालाई नियुक्त गर्नुपर्ने भन्ने एकथरि र विगतमा पनि राम्रो काम गरेका कारण रेग्मीलाई नै नेतृत्वको जिम्मेवारी दिनुपर्छ भन्ने अर्कोथरि समूहका कारण विवाद आएको हो । रेग्मी नेपाल कम्युनिष्ट पार्टीसंग नजिक छन् भने खड्का नेपाली कांग्रेस ।

साभार अन्नपुर्ण पाेष्ट

चर्चामा

सम्बन्धित समाचार