हात शरीरको महत्वपवूर्ण अंग हो। हातमा बेलबखत चेटपटक लाग्छन्, अन्य विविध कारणले पनि अनेकन् समस्या देखापर्छन्। हातमा लाग्न सके रोग के–के हुन् ? चोटपटकका कारणले हातमा आउने समस्या कस्ता हुन्छन् ? त्यस्ता समस्याको समाधान कसरी गर्न सकिन्छ ? यी र यस्ता विषयलाई समेटेर नागरिककर्मी पवित्रा सुनारले काठमाडौंको कीर्तिपुर अस्पतालकी ह्यान्ड सर्जन डा. शिलु श्रेष्ठसित गरेको कुराकानीको संक्षिप्त अंश:
यो पेसामा कहिलेदेखि आउनुभयो ?
– सन् २००७ मा एमबिबिएस उत्र्तीण गरेलगत्तै यो पेसामा आएँ।
ह्यान्ड सर्जनकै रुपमा काम गर्न थालेको कति वर्ष भयो ?
– पाँच वर्ष भयो।
ह्यान्ड सर्जिकल नै किन रोज्नुभयो ?
– नेपालमा हाडजोर्नी सर्जनका रूपमा काम थालें। त्यतिबेला बिएन्डबी अस्पतालमा काम गर्दा वरिष्ठ सर्जनहरूले मलाई हातको शल्यक्रिया गर्ने काम बढी दिनुहुन्थ्यो। सुरुमा त महिलाले ठूलो काम गर्न सक्दैन भनेर त्यसो गर्नुभएको होला भन्ने लाग्थ्यो। तथापि, सिनियर सर्जनले दिएको काम म राम्रोसित पूरा गर्थें, शल्यक्रियापछिको घाउ चिटिक्क पारेर सिलाउँथे। त्यसपछि मलाई त्यस्तै काम बढी आउन थाल्यो। त्यसैबेला सिंगापुरका एकजना अर्थोपेडिक सर्जन नेपाल आउनुभयो। उहाँले मलाई ह्यान्ड सर्जन बन्ने सुझाव दिनुभयो। त्यहीबेला एक वर्षे फेलोसिप अध्ययनका लागि सिंगापुर पुगें। त्यहाँ रहँदा मैले ह्यान्ड सर्जरीको महत्व बुझें। नेपाल फर्केपछि त्यही काम गरिरहें। खासमा नेपाल आएपछि सबै हाडजोर्नीको शल्यक्रिया गर्छु भन्ने लागेको थियो। नेपालमा पनि हातकै बिरामी बढी आउन थाले।
उनीहरू मेरो उपचारबाट खुसी हुँदै गए। पछि त बिरामी यति धेरै आउन थाले कि अरू केही सोच्ने फुर्सदै पाइएन। यसैले गर्दा मैले ह्यान्ड सर्जरी मात्र गर्न थालें। नेपालमा एक वर्ष बिताएँ। मलाई लाग्थ्यो मैले पाएको ज्ञान र सीप अझै पुगेको छैन। हात भनेको अत्यन्त महत्वपवूर्ण विषय हो। त्यसपछि म थप तालिमका लागि अमेरिका गएँ। अमेरिकाका विभिन्न स्वास्थ्य संस्थामा तीनचारपटक फेलोसिप तालिम लिएर आएँ। यसरी प्राप्त ज्ञानलाई उपयोग गर्दै अस्पतालमा बसेर सेवा दिइरहेको छु। यिनै कारणले गर्दा म ह्यान्ड सर्जनका रूपमा मात्र केन्द्रित छु।
ह्यान्ड सर्जरी भनेको के हो ?
– यो शल्यक्रियामा अर्थोपेडिक हाडजोर्नी र प्लास्टिक सर्जन दुवैको ज्ञान र सीप आवश्यक पर्छ। यसमा थप उपचार होइन, पुनःसंरचना हुन्छ। यसका लागि दुवै विशेषज्ञको ज्ञान हुनुपर्छ। हात भनेको महŒवपुर्ण अंग हो। हातमा चोटपटक लाग्यो भने पेसाबाट विस्थापित हुनुपर्ने अवस्था आउन सक्छ। यस्ता बिरामीलाई ह्यान्ड सर्जनको उपचारबाट सामान्य अवस्थामा फर्काउने या सकेसम्म पहिलेको पेसामा फर्काउने तहको उपचार हुन्छ। काम गर्ने हातैले हो। हाम्रो जस्तो देशमा काम गर्ने सिलसिलामा धेरै चोटपटक लाग्न सक्छ। यसलाई ह्यान्ड एन्ड रिकन्सट्रक्सन अर्थोपेडिक सर्जरी पनि भनिन्छ।
नेपालमा हातको शल्यक्रिया नै गर्नुपर्ने समस्याहरू के–के हुन् ?
– नेपालमा प्रायः काठ काट्ने उपकरणले काटिएर, ढोकामा च्यापिएर, सडक दुर्घटनामा परेर, कलकारखानाका मेसिनमा परेर हातको शल्यक्रिया गर्नुपरेको देखिन्छ। विदेशमा यस्ता ठाउँमा काम गर्नेहरूको सुरक्षा विधि अपनाउन लगाउने र दुर्घटनामा परिहाले क्षतिपूर्ति दिने अभ्यास छ। हामीकहाँ यी कुरा त्यति अभ्यासमा देखिँदैन। सुरक्षा विधि नअपनाउनाले पनि काम गर्नेहरूका हातमा चोटपटक बढी लागेको देखिन्छ। लडेर पनि हातमा चोटपटक लाग्ने बिरामी पनि बढी नै हुन्छन्। काम गर्दा हातको प्रयोग बढी हुने हुनाले त्यसमा चोटपटक लाग्ने सम्भावना बढी हुन्छ।
अरू के कारणले हुन्छ ?
– जन्मजात ६ वटा औंला हुने, आंैलाहरू मोटो–मोटो हुने, औलाहरू बांगोटिंगो हुने, चोट लाग्दा पनि उपचार नगरी बस्ने समस्या पनि हुन्छ। अर्को सेरेब्रल पल्सी (जन्मजातै मष्तिष्कमा चोट लागेको) अवस्थामा हातहरू कडा हुन्छन्। हड्डीको ट्युमर, हातमा आउने डल्लो, गाँठो, रगतको नसामा आउने समस्या, बे्रकल प्यासेल इन्जुरी (गर्धनको नसा चुँडिएमा) पनि हातको शल्यक्रिया गर्नुपर्ने अवस्था आउँछ।
मेरुदण्डको नसा चुँडियो भने हातमा कस्तो समस्या आउँछ ?
– मेरुदण्डका नासा चुँडिए भने पुरै हातमा पक्षाघात हुन्छ। जसले गर्दा हात नचल्ने अवस्था सिर्जना हुन्छ। यस्तो घटना धेरैजसो सडक दुर्घटनाका कारण हुने गर्छ।
हातमा चोट लागेका कतिजति बिरामीको शल्यक्रिया गरिसक्नुभयो त ?
– हातको शल्यक्रिया थालेको वर्षदेखि यता करिब आठ हजार बिरामीको हातको शल्यक्रिया गरिसकें। त्यसमा पनि मेरुदण्डका नसा चुँडिएका मात्र २३ जनाको शल्यक्रिया गरेको छु। ती प्रायः दुर्घटनाको चोटका कारण हातमा समस्या आएका बिरामी हुन्। यस हिसाबले प्रतिवर्ष औसतमा १५ सय यस्ता बिरामीको शल्यक्रिया गरेकी छु।
हातमा जुनसुकै समस्या आएका बिरामीले पनि यहाँलाई भेटे हुन्छ ?
– हुन्छ। मैले गर्न सक्ने सबै कोसिस गर्छु।
हातको शल्यक्रिया त प्लास्टिक र अर्थोपेडिक सर्जनले पनि गर्छन्, ह्यान्ड सर्जन नै खास किन आवश्यक पर्छ ?
– पहिला जनरल सर्जनले पनि यो उपचार गरेको थियो। ह्यान्ड सर्जनमा हाडजोर्नी र प्लास्टिक सर्जरीको काम एउटै व्यक्तिले गर्ने हुनाले ह्यान्ड सर्जनबाट हुने उपचार छरितो र प्रभावकारी हुन्छ।
दुर्घटनाका कारण हातमा कस्तो–कस्तो समस्या आउँछ ?
– दुर्घटनाका कारण प्रायः हात, पाखुरा, कुमजस्ता भागहरू कमजोर हुन्छन्, कतिपय अवस्थामा ती अंग चल्दैनन्।
वृद्धावस्थामा आउने हातको समस्या कस्तो खालको हो ?
– हातमा देखापर्ने बाथरोग तथा उमेरका कारणले हड्डी खिइएर शल्यक्रिया गर्नुपर्ने हुन्छ। तर नेपालमा हातमा सानोतिनो समस्या देखापर्दा उपचार गराउने चलन कम छ।
शल्यक्रिया नै गर्नुपर्ने अवस्था के कारणले हुन्छ ?
– हेर्दा सानो चोट हुन्छ। तर त्यसको सही उपचार मिलेन भने गम्भीर समस्या आउँछ। जस्तो कि औंला काटेपछि कहिलेकाँही औला बांगो हुन्छ। औंला काटिँदा औंला तन्काउने नसा चुँडिन्छ, जसका कारण औंला बांगिने गर्दछ। यस्तो अवस्थामा पनि शल्यक्रिया गरेर औंलालाई सामान्य अवस्थामा फर्काउन सकिन्छ। हातको हड्डी भाँचियो तर प्लास्टरको सही उपचार नहुँदा पनि हात नचल्ने या मासु मर्नेजस्ता समस्या आउँछन्। प्लास्टर धेरै टाइट (कडा ) भयो भने हात कक्रक्क पर्ने समस्या आउँछ। हात कुप्रिएर पनि जान्छ। यस्ता समस्या बोकेर आउने बिरामी धेरैजसो दुर्गमका हुन्छन्।
दुर्गममा यस्तो समस्या किन बढी देखिएको होला ?
– प्रविधि र दक्ष जनशक्तिको कमीले त्यस्तो अवस्था आएको हुन सक्छ। कतिपय अवस्थामा दक्ष जनशक्ति हुँदा पनि कुनै प्राविधिक त्रुटिका कारण समस्याले झनै जटिल रूप लिन सक्छ।
तपाईंसित कस्तो अवस्थामा बिरामी आइपुग्छन् त ?
– सबैखालका बिरामी आउँछन्। धेरैजसो अरू ठाउँमा उपचार गराएको भए पनि निको हुन नसकेका, पूर्ण उपचार नपुगेका, ह्यान्ड सर्जन नै खोजिरहेका बिरामी मकहाँ आइपुग्छन्।
हात चुँडिएपछि जोड्न सकिन्छ भनिन्छ। त्यस किसिमको शल्यक्रिया पनि गर्नुभएको छ ?
– नेपालमा अहिलेसम्म मसित हात चुँडिएका बिरामी आइपुगेका छैनन्। तर चुँडिएका धेरैवटा औंला जोडेको छु। चुँडिएको हातलाई राम्रोसित सुरक्षित गरेर ल्याए ६ घन्टाभित्र जोड्न मिल्छ। त्यसमा पनि छुरी, खुकुरीले काटिएका हातहरू जोडिने सम्भावना हुन्छ। तर मेसिनले काटेको, दुर्घटनामा चुँडिएका हातहरुरूभने जोडिने सम्भावना कम हुन्छ। त्यसैगरी जबर्जस्ती चुँडिएका हातहरू जोडिने सम्भावना कम हुन्छ। चुँडिएका सबै औंला शल्यक्रियापछि पनि सामान्य अवस्थामा नआउन सक्छन्। हामी कोसिस गर्छौं कोही सफल हुन्छन् ,कोही हुँदैनन्।