• होमपेज
  • राजनीति
  • मिल्यो पूर्वएमाले र माओवादीको भागबन्डा, मिलेन ओली-नेपाल झगडा

मिल्यो पूर्वएमाले र माओवादीको भागबन्डा, मिलेन ओली-नेपाल झगडा

  • बिहिबार, चैत्र २८, २०७५
मिल्यो पूर्वएमाले र माओवादीको भागबन्डा, मिलेन ओली-नेपाल झगडा

घनश्याम भुसाल भन्छन्- हार्दा ओली कमरेड भोट ल्याएको छु, मलाई पनि भाग चाहिन्छ भन्नुहुन्थ्यो, अहिले उहाँलाई एकलौटी चाहिएको छ। पूर्वएमालेभित्रको झगडाले नेपाल कम्युनिष्ट पार्टीको तल्लो तहको एकता प्रक्रियामा ढिलाइ भएको छ। अध्यक्ष पुष्पकमल दाहाल अमेरिकाबाट फर्किएलगत्तै एकता प्रक्रिया टुंग्याउने भनिए पनि पूर्वएमालेका अध्यक्ष केपी शर्मा ओली र माधवकुमार नेपाल समूहबीच भागबन्डा थप गिजोलिँदै गएपछि एकता प्रक्रिया लम्बिएको हो। दाहालले अमेरिका जानुअघि एकता प्रक्रिया अन्तिम चरणमा पुगेको बताएका थिए। उनी फर्किएको साता दिन बित्दा पनि एकताले गति लिन सकेको छैन। जिल्ला नेतृत्वको विषयमा पूर्वएमाले र पूर्वमाओवादी केन्द्रबीच भने सहमति भैसकेको छ।

स्रोतका अनुसार पूर्वएमालेले ४५ र पूर्वमाओवादीले ३२ जिल्लाको नेतृत्व गर्ने सहमति बनेको छ। यो सहमतिअनुसार एक पक्षले नेतृत्व पाएको जिल्लामा अर्को पक्षका सचिव हुनेछन्। पूर्वएमालेतर्फबाट को-को जिल्ला अध्यक्ष र सचिव बन्ने भन्ने गुटगत झगडा भने मिल्नुको साटो बल्झिएको छ।

नेपाल पक्षले पूर्वएमालेको भागमा परेका जिल्लामा त्यतिखेर पार्टी अध्यक्ष रहेकाले नै नेतृत्व गर्न पाउनु पर्ने अडान राखेको छ। ओली पक्षले योग्यतासँगै क्षमतालाई आधार मान्नु पर्ने बताएको छ। ‘हामीले मापदण्ड बनाऔं नै भनेको हो,’ नेपालनिकट नेता बेदुराम भुसालले सेतोपाटीसँग भने, ‘तर मापदण्ड नबनाएर आफूखुसी गर्नकै लागि कार्यदल विघटन गरियो।’ आफूहरूले बरिष्ठताको मापदण्ड बनाउनु पर्ने धारणा राखेको भुसालले बताए।

‘जिल्लामा अध्यक्ष जो जितेको छ उसैलाई बनाऔं,’ भुषालले भने, ‘सचिव पाउने जिल्लामा अध्यक्षले चाहे सचिव हुन्छन्। नभए उपाध्यक्ष वा सचिव जो हुन चाहन्छ उसलाई बनाऔं।’

उनले पार्टी एकताको चरणमा रहेकाले कायम रहेका अध्यक्षलाई हटाएर नयाँ ल्याउन नमिल्ने आफूहरूको भनाइ रहेको बताए। ‘एकता भनेको भएका संगठनको नेतृत्वबीच हुनुपर्छ,’ भुषालले भने।

ओली पक्षका एक बरिष्ठ नेताले भने पार्टी एकतासँगै नयाँ चरणमा प्रवेश भएकाले योग्य मान्छे ल्याउनु पर्ने बताए। ‘मापदण्ड भनेको नै योग्यता र क्षमता हो,’ ती नेताले सेतोपाटीसँग भने, ‘दुई पार्टी एकता भएपछिको परिस्थिति सम्हाल्न सक्ने क्षमता भएको व्यक्ति आवश्यक पर्छ।’ यसअघि नेकपाले जिल्लामा अध्यक्षका लागि प्रस्तावित नाम सिफारिस गर्न कार्यदल गठन गरेको थियो। त्यसरी नाम सिफारिस गर्दा कायम अध्यक्षको नाम नराखी सिफारिस गरिएपछि नेपाल पक्ष आक्रोशित भएको थियो।

नेपाल पक्षले शंकर पोखरेल संयोजक रहेको प्रदेश ५ मा आफ्ना पक्षका नेताहरुको कत्लेआम गरिएको आरोप लगाएको थियो। 

दाङको जिल्ला कमिटी अध्यक्षमा पोखरेलले आफ्नै ज्वाइँ शिवकुमार आचार्यलाई अध्यक्ष सिफारिस गरेका थिए। तत्कालीन एमालेको जिल्ला कमिटी निर्वाचनमा उनी सदस्यमा पराजित भएका थिए। उनलाई अध्यक्षमा सिफारिस गर्न दाङका एमाले अध्यक्ष टिकाराम खड्कालाई पाखा लगाइएको छ। त्यतिबेलै नेपाल समूहले पेलेर अगाडि बढे समानान्तर समूह गठन गर्ने चेतावनी समेत दिएको थियो।

स्रोतका अनुसार पछिल्लो पटक अध्यक्ष केपी शर्मा ओलीले जिल्लाको नेतृत्वको नाम सार्वजनिक गर्ने तयारी गरेका छन्। ओलीले पार्टी एकता आकस्मिक रूपमा टुङ्गिने बताउँदै आएका छन्। 

ओलीको आकस्मिकको अर्थ आफ्नो पक्षको नेताको नाम सार्वजनिक गर्ने खेल भएको नेपाल पक्षले आरोप लगाएको छ।

नेपालले ‘एसम्यानको खोजी’ का कारण पार्टी एकता समस्यामा परेको बताउँदै आएका छन्। 

एकता घोषणाको एक वर्ष हुन लाग्दा पनि किन सांगठनिक एकता नसकिएको? किन विवाद झनै बल्झँदै गएको? भनेर हामीले नेकपा स्थायी समितिका सदस्य घनश्याम भुसाललाई सोधेका थियौं।

भुसालले अहिलेको समस्याको चुरो एउटा व्यक्ति सर्वेसर्वा हुने वा पार्टी सामूहिक विवेकले चल्ने भन्ने रहेको बताए। ‘हामीले अमेरिकामा जस्तो एक पटक राष्ट्रपति चुनेपछि ऊ नै देशमा सर्वेसर्वा हुने, अझ नेपालको सन्दर्भमा पार्टीमा पनि सर्वेसर्वा हुने वा पार्टी सामूहिक विवेकले चल्नुपर्छ भन्ने पद्धति छानेका हौं,’ भुसालले भने ‘अहिलेको विवादको चुरो त्यही हो।’ आफूहरूले सामूहिक विवेकबाट पार्टी चल्नु पर्ने बताएको तर प्रधानमन्त्री ओलीले एकलौटी चलाउन खोजेको भुसालको आरोप छ। ‘अघिल्लो पटक महाधिवेशनमा हारेपछि ओली कमरेडले मैले पनि धेरै भोट ल्याएको छु, मलाई पनि पार्टीमा भाग चाहिन्छ भन्नुहुन्थ्यो,’ भुसालले भने, ‘अहिले भने उहाँलाई सबै एकलौटी चाहिएको छ।’  सेताेपाटीबाट साभार 

चर्चामा

सम्बन्धित समाचार