मङ्लबार, मंसिर १८, २०८१
  • होमपेज
  • विचार/ब्लग
  • घरमै पाईने पोषिला खानाहरु

घरमै पाईने पोषिला खानाहरु

  • बुधबार, चैत्र २७, २०७५
घरमै पाईने पोषिला खानाहरु

डा. अरुणा उप्रेती
एउटा भनाई छ “यदि पौष्टिक खाना खायौ भने तिमीलाई कुनै औषधिको जरूरत नै पर्दैन, तर यदि तिमीले पोषणयुक्त खाना खाएनौ भने कुनै पनि रोग लाग्दा औषधिले पनि मद्दत गर्न सक्दैन” । यो भनाइले हाम्रो जीवनमा पोषणयुक्त खानाको महत्व वारे धेरै हदसम्म दर्शाउँछ ।
बालबालिका,युवा, गर्भिणी, दुध खुवाउने आमा , बृद्घ,सबैलाई पोषणयुक्त खाना चाहिन्छ । वालबालिकाको लागि त पोषणको झन महत्व छ । किनभने विभिन्न किसिमका पोषक तत्वहरूको अभावमा बालबालिकाहरूलाई कुपोषण हुन्छ । उनीहरू शारीरिक र मानसिक रूपमा पनि कमजोर बन्न सक्छन् ।
पोषणयुक्त खाना महँङ्गो हुने तथा सजिलै उपलब्ध नहुने भएकाले पनि मानिसहरुलाई कुपोषण हुन्छ भन्ने धेरैले विचार गरेका हुन्छन् । वास्तवमा सस्तो रुपमा नै पर्याप्त पौष्टिक तत्व भएका खानेकुराहरू प्राप्त गर्न सकिन्छ । तर पनि अज्ञानताका कारण पौष्टिक तत्व बढी भएका खाना महंगो हुन्छ भन्ने बुझाइ छ ।
बालबालिकाहरूलाई घरकै खानेकुरा खान दिएर स्वस्थ बनाउन सकिन्छ । यदि कसैलाई कुपोषण भए हाम्रै घरवरिपरि भएका खाने कुराहरूबाट उनीहरूलाई स्वस्थ पार्न सकिन्छ भन्ने कुरा प्रायः स्वास्थ्यर्मीहरूलाई पनि थाहा भएकै हुन्छ । कतिपयले यसलाई वास्ता नगरेका होलान् तर व्यवहारिक प्रयोग गरेर बालबालिका स्वस्थ पारेका उदाहरणहरू पनि नभएका होइनन् ।
ललितपुरको सुनाकोठीस्थित पोषण पुर्नस्थापना केन्द्र (यो पहिले बालुवाटारमा थियो) वीरगञ्जमा नारायणी अञ्चल अस्पतालको पुर्नस्थापना केन्द्र यसका राम्रा उदाहरण हुन् ।
नारायणी अञ्चल अस्पताल, पुनसर््थापना केन्दका बालरोग विशेषज्ञ डा. श्याम शरण दास भन्नुहुन्छ “ अस्पतालमा पोषण पुनस्र्थापना केन्द्र स्थापना गरेपछि व्यापारीहरुलगायत धेरै मानिसहरुले आप्mना कुपोषित बच्चा उपचार गर्न ल्याए । उपचारपछि उनीहरुलाई घरमै पोषणयुक्त खानेकुरा तयार गर्ने वारेमा पनि सिकाइयो । बाबुआमालाई यस सम्बन्धी ज्ञान दिएपछि पोषणसम्बन्धी उनीहरुको व्यवहारमा ठूलो परिवर्तन भइरहेको छ ।
डा. श्याम शरणका अनुसार ६ वर्षअघि स्थापित सो पुस्र्थापना केन्द्रमा अहिलेसम्म १ हजार भन्दा बढी अति कुपोषित बालबालिकालाई उपचार गरिसकिएको छ । साथै झण्डै १ हजार ४ सय जना आमाहरुलाइ पोषणको बारेमा सिप पनि सिकाइएको छ ।
कतिपय संस्थाहरुले सो पुस्र्थापना केन्द्रका बालबालिकालाई निशुःल्क विस्कुट, चाउचाउ बाँड्ने प्रस्ताव गरेपनि सो गर्न नदिइएको डा दास बताउनु हुन्छ । उहाँका अनुसार केन्द्रका बच्चाहरुलाई चाउचाउ विस्कुट खान नदिने गरिएको र स्थानीय रुपमा पाइने खानेकुराहरु मात्र दिने गरिएको छ ।
नेपालमा बालबालिका र गर्भिणी महिलाहरूलाई खानामा प्रोटिनको कमी भएर कुपोषण भएको पाइन्छ । यस्तो कुपोषण हुननदिनका लागि कतिपय बिदेशी संघ संस्थाहरुले खाद्य बस्तुहरु सहयोग गर्ने गरेका पनि छन तर यस्ता खाद्य बस्तुहरु प्राय तयारी तथा पाकेटबन्द हुन्छन् र महंगा पनि हुन्छन् । हाम्रै गाउँघरमा उत्पादन हुने गेडागुडी जस्तो चना, भटमास, बकुला, सिमी, बोडी आदि खानेकुराहरूमा पर्याप्त मात्रामा प्रोटीनका साथै क्याल्सियम, आइरन आदि पाइन्छ । ती खानेकुराहरूको मूल्य विदेशी संस्थाहरूले दिने प्याकेटबन्द खाने कुरा तथा बजारमा पाइने तयारी खाने कुराको भन्दा कम नै पर्छ ।
नेपालमा उत्पादन हुने विभिन्न खाद्य वस्तुहरूमा प्रसस्त मात्रामा पौष्टिक तत्वहरु पाइन्छ । यस्ता बस्तुहरुका सम्बन्धमा गरिएको वैज्ञानिक अध्ययन विश्लेषणबाट पनि गाउँघरमा उत्पादन हुने तथा तयार हुने खाद्य बस्तुहरुमा शहरमा तयार गरिने खाद्य बस्तुभन्दा कम मूल्यमा बढी पौष्टिक तत्वहरु भएको खाद्य बस्तु प्राप्त गर्न सकिने पुष्टि भएको छ । बजारमा किनिने तयारी खाद्यबस्तुको प्यकेजिङका लागि थप साधन स्रोतको उपयोग गर्नुपर्ने हुन्छ । थप आकर्षक बनाउनका लागि रङ्गिन बट्टा वा कागजको प्रयोग गर्नुपर्ने हुन्छ । यसको लागि थप खर्च र व्यापारिले लिने नाफाको अंश जोड्दा बस्तुको मूल्य निश्चयनै बढी हुन्छ । यसको सट्टा गाउँघरमै तयार गर्न सकिने खाद्य बस्तुलाई प्रयोग गर्न सकेमा कम मूल्यमा खधिकतम लाभ लिन सकिन्छ । साथै कुपोषणको समस्या पनि कम हुनसक्छ ।
उदाहरणको लागि १०० ग्राम भटमासलाई ८–९ रूपियाँ पर्छ र यसमा ४३ ग्राम प्रोटीन पाइन्छ । साथै यसमा लौह तत्व पनि १०.४ मि.ग्रा. हुन्छ भने क्याल्सियम २४० मि.ग्रा. पाइन्छ । साथै यसमा रेशादार पदार्थ पनि पर्याप्त पाइन्छ । १०० ग्राम भटमास (८–९ रू) र १०० ग्राम मन्सुली चामल रू.(४–६) पकाएर खायो भने ४९ ग्राम प्रोटीन पाइन्छ र त्यसको मूल्य १२–१५ रूपैयाँ पर्छ । यदि यसमा इन्धनको खर्च, पानीको खर्च आदि पनि जोडेमा रू.२० जती पर्न सक्छ । अर्थात् एकजनालाई उत्तम तरिकाको प्रोटीन प्राप्त गर्न रू. २० भयो भने पर्याप्त हुन्छ ।
त्यसै गरी १०० ग्राम चिउरामा (प्रोटीन ७.५ ग्राम) हुन्छ, र यो ४–७ रूपैयाँ पर्छ । १०० ग्राम चनाको रू.१० पर्छ र (१७ ग्राम प्रोटिन) पाइन्छ । अर्थात् १५–१७ रूपैयाँमा २५ ग्राम प्रोटिन पाइन्छ । हामीलाई चाहिने दैनिक प्रोटीनको आधा भाग प्राप्त हुन्छ । चना पकाउनलाई चाहिने खर्च जोड्दा अर्को रू.१० जोडियो भने ३० रूपियाँ पर्छ । धेरै जना व्यक्तिहरूलाई पकाउँदा प्रतिव्यक्ति लागत निकै नै कम हुन्छ । यसरी थोरै पैसामा पर्याप्त मात्रामा प्रोटीन प्राप्त गर्न सकिने हुन्छ । तर बजारका तयारी खाद्यबस्तुहरुबाट यतिनै पौष्टिक तत्वहरु प्राप्त गर्नका लागि रु २०० भन्दा बढी खर्च गर्नुपर्ने हुनसक्छ । त्यसकारणले पनि राम्रो पोषणका लागि घरायसी बस्तुलाई बढी जोड दिनुपर्छ भनिएको हो ।


घरायसी खानेकुराबाट शरीरलाई राम्ररी भिटामिन ‘सी’ शोषण गराउनका लागि तरकारी खाँदा, त्यसमा केही अमिलो अचार, कागतीको रस मिसाउन उचित हुन्छ । अथवा मोहीसँग खाना खाँदा पनि यो लाभ प्राप्त गर्न सकिन्छ । यसको साथै फलामको भाँडामा खाना पकाएर खानाले पनि त्यसमा रहेको लौह तत्व बढ्न जान्छ ।
विभिन्न किसिमका खानेकुराहरू मिसाएर खाँदा पनि त्यसको उपयोगिता झन् बढ्न जाने हुन्छ । जस्तो टुसा उम्रेको क्वाँटीलाई पकाएर खाँदा उच्च स्तरको प्रोटीन प्राप्त हुनुका साथै विभिन्न गेडागुडीमा रहेका सुक्ष्म पोषण जस्तो भिटामिन ‘सी’ भिटामिन ‘ए’ आदि पनि बढ्न जान्छ । इथियोपियामा कुपोषित भएका बच्चाहरूलाई यसरी नै टुसा उमारिएका गेडागुडीबाट बनेको पिठोको प्रयोग गरेर पोषण दिने गरिन्छ ।
कतिपय खानेकुराको विज्ञापनमा “घरमा भएका खानेकुराले बच्चा र गर्भवती महिलालाई पोषण पुग्दैन, त्यसैले बजारका पोषणयुक्त खाद्यबस्तु किनेर उनीहरुलाई क्याल्सियम, आइरन आदि आपूर्ति गर्नुुपर्छ” भनिएको हुन्छ । तर घरवरिपरिनै पाइने खाद्यबस्तुहरु राम्ररी बनाएर खाने हो भने यस्ता महंगा बस्तु किन्न जरुरत नै पर्दैन । भात, दाल, रोटी भट्मास, दुध मकै, दही आदि घरेलु खानेकुराले नै पोषण पुग्छ । कतिपय आमाबाबुहरुलाई पनि बाहिरका खानेकुरा नभई बच्चाको स्वास्थ्य राम्रो हुँदैन भन्ने भ्रम अझै छ, यस्तो भ्रम हटाउन आवश्यक छ ।

गर्भवती महिलाको शरीरमा रहेको क्याल्सियमले भ्रुणको हाड पनि मजबुत बनाउँछ भने सुत्केरी महिलाले क्याल्सियमले भरिपूर्ण भएको खाना खाँदा, शिशुलाई पनि आमाको दुधको माध्यमबाट क्याल्सियम पुग्छ ।

बजारमा बेचिने धेरै खाद्यबस्तुहरुको विज्ञापनले उपभोक्ताहरुमा धेरै नै भ्रम उत्पन्न गराएका हुन्छन । यदि उपभोक्ता जागरूक भएर बजारका खाद्यबस्तुको बाहिरी भागमा खानेकुराको वारेमा के जानकारी राखिएको छ भनेर पढ्ने हो भने विज्ञापनले कति भ्रम उत्पन्न गरेको छ भन्ने कुरा सजिलैसँग थाहा पाउन सकिन्छ । त्यस्ता बट्टाका खानेकुरामा गहुँ, जौ, चामल, चिनी जस्ता घर वरिपरि पाइने खानेकुराहरु नै हुन्छन्् ।” त्यसमा विशेष रूपले क्याल्सियम वा भिटामिन “ए” पाइन्छ भनेर थपिएको हुन्छ । तर क्याल्सियम खानेकुरामा मिसाउनै पर्दैन, दुध, दही, ज्वानो जस्ता खानेकुरामा पर्याप्त क्याल्सियम हुन्छ ।
साग, सिस्नो, गिठ्ठा, भ्याकुर, कोदो, फापर, जौ, गहुँ, चामलको ढुटो, भटमास मकै आदि पोषणका राम्रा श्रोत हुन् ।
क्याल्सियम पाउनलाई, गुन्द्रुक र ज्वानो खाए हुन्छ । शरीरमा लौह शक्ति तत्व बढाउन कर्कलो, मस्यौरा र गुन्द्रुकको प्रयोग उत्तम हुन्छ
कर्णालीमा फल्ने जुनेलो, कोदो, फापर, आलु र अछाममा फल्ने गहुँ र कोदोलाई खान प्रोत्साहित गर्ने र त्यसका बरू विभिन्न परिकार बनाएर खाने वारेमा स्थानीय तहमा जानकारी गराउने हो भने त्यस क्षेत्रको कुपोषण सम्बन्धी समस्या धेरैहदसम्म हल गर्न सकिन्छ । शरीरलाई आवश्यक पर्ने पोषक तत्वहरु स्थानीय खानाबाट पनि सजिलै प्राप्त गर्न सकिन्छ । यसका लागि सरकाले व्यवहारिक नीति तथा कार्यक्रम बनाउन आवश्यक छ ।

चर्चामा

सम्बन्धित समाचार