शनिबार, बैशाख ८, २०८१
  • होमपेज
  • प्रवास
  • १६ करोडबढी भ्रष्टाचारको मुद्दामा पूर्व प्रधानमन्त्रीपत्नी पक्राउ

१६ करोडबढी भ्रष्टाचारको मुद्दामा पूर्व प्रधानमन्त्रीपत्नी पक्राउ

  • बुधबार, चैत्र २७, २०७५
१६ करोडबढी भ्रष्टाचारको मुद्दामा पूर्व प्रधानमन्त्रीपत्नी पक्राउ

मलेसियाका पूर्व प्रधानमन्त्री नाजिब रजाककी पत्नी रोसमाह मन्सुरलाई ग्रामीण क्षेत्रमा रहेका विद्यालयमा जडान गरिएको सोलार पावर आयोजनामा भ्रष्टाचार गरेको आरोपमा मङ्गलबार पक्राउ गरिएको छ । पक्राउ पर्नु पहिले उहाँलाई सोलार पावर आयोजनामा उठेका भ्रष्टाचारका प्रश्नहरूबारे अनुसन्धानमा सहजीकरणका लागि सोधपुछ गर्नका लागि भनी बोलाइएको थियो । तर उहाँलाई पछि त्यहीँबाट पक्राउ गरिएको थियो ।

उहाँलाई बुधबार नै क्वालालम्पुर अदालतमा उपस्थित गराइने मलेसियाको भ्रष्टाचारविरोधी निकायद्वारा जारी विज्ञप्तिमा जनाइएको छ । रोसमाह तथा उहाँका पूर्व विशेष सहयोगीलाई गत बर्षको नोभेम्बरमा एक कम्पनीलाई चार करोड ४८ लाख अमेरिकी डलर बराबरको ठेक्का करार गरेबापत १५ प्रतिशत कमिसन मागेको आरोप लगाइएको थियो । रोसमाहलाई उक्त कम्पनीका निर्देशकबाट घुससमेत लिएको आरोप लगाइएको थियो ।

उहाँका विशेष सहयोगी रिजाल मनसोरमाथि भ्रष्टाचार तथा कमिसन लिएको विभिन्न चार आरोप दर्ता गरिएको थियो । आरोपित दुवै जनाले आरोप निराधार रहेका जनाउँदै यसको खण्डन गर्दै आएका छन् । सोलार पावर आयोजनाबारे आरोप लाग्नु पहिले पूर्व प्रधानमन्त्रीकी पत्नी रोसमाहमाथि १६ लाख अमेरिकी डलर बराबर सम्पत्तिको शुद्धीकरण तथा कर छलीबारेका विभिन्न १७ मुद्दामाथि छानबिन गरिसकिएको छ ।

पछिल्लो सोलार प्यानल आयोजनाबारेको आरोपमा उहाँले मलेसियाको पूर्वी राज्य सारावाकमा विभिन्न ३०० विद्यालयमा जोडिएको सौर्य उर्जा बिनाटेन्डर एक कम्पनीलाई दिएको र यसबाट ठूलो कमिसन लिएको आरोप लगाइएको छ । टेन्डरका लागि पूर्व प्रधानमन्त्रीसमेतको अनुमति रहेको दाबी गरिएको छ । सत्ताबाट बाहिरिएपछि पूर्व प्रधानमन्त्री नाजिबमाथि भ्रष्टाचारका विभिन्न ४२ वटा मुद्दा दर्ता भएका छन् । उहाँका मुद्दामाथि गएकाे हप्तादेखि सुनुवाइ सुरु भएको छ । दैनिकि अनलाइनबाट

चर्चामा

सम्बन्धित समाचार