• होमपेज
  • शिक्षा
  • प्रदेशको ५३ स्थानीय तहमा प्राविधिक शिक्षाको पहुँच

प्रदेशको ५३ स्थानीय तहमा प्राविधिक शिक्षाको पहुँच

  • बुधबार, चैत्र २७, २०७५
प्रदेशको ५३ स्थानीय तहमा प्राविधिक शिक्षाको पहुँच

सुदूरपश्चिम प्रदेशका सामाजिक विकासमन्त्री कृष्णराज सुवेदीले प्रदेशका सबै स्थानीय तहमा चाँडै प्राविधिक शिक्षा पढाइ हुने बताएका छन् ।
मङ्गलबार धनगढीमा प्राविधिक तथा व्यावसायिक शिक्षा र तालिम नीति, रणनीति तथा सीप नक्साङ्कन सम्बन्धी कार्यक्रममा उनले प्रदेशको सबै स्थानीय तहमा प्राविधिक शिक्षाको पढाइ हुने बताएका हुन ।
‘प्राविधिक शिक्षालय अहिलेसम्म प्रदेश सरकारको मातहतमा आउन सकेको छैन’, मन्त्री सुवेदीले भने–‘तर, पनि सकेसम्म दुई वर्षभित्रै सबै स्थानीय तहमा प्राविधिक शिक्षाको पढाइ हुनेछ ।’ उनले प्राविधिक शिक्षा हासिल गरेका जनशक्तिलाई प्रदेशमै रोजगारी उपलब्ध गराउनका लागि प्रदेश सरकारले प्रयास गर्दै आएको बताए ।
‘तर, महिलाले ब्युटिशियन र पुरुषले डकर्मीकोमात्रै तालिम लिनु पर्छ भन्ने बुझाइलाई त्यागेर सबैले आफ्नो रोजाइको तालिम लिन पाउनु पर्दछ’, मन्त्री सुवेदीले अगाडि थपे–‘उहाँहरुले सिकेको सीपलाई सदुपयोग गर्न आवश्यक पनि हुन्छ ।’
सुदूरपश्चिम प्रदेशमा रहेको ८८ वटा स्थानीय तहमध्ये अहिलेसम्म ५३ वटामा प्राविधिक शिक्षाको पहुँच पुगेको छ । प्राविधिक शिक्षा तथा व्यावसायिक तालिम परिषद् सुदूरपश्चिम प्रदेश कार्यालयका अनुसार प्रदेशमा सीटीइभीटीको आङ्गिक शिक्षालय तीन वटा रहेको छ । कैलालीको टीकापुरमा टीकापुर पोलिटेक्निक इन्स्टिच्युट, डोटीमा सेती प्राविधिक विद्यालय, बैतडीमा भीमदत्त पोलिटेक्निक इन्स्टिच्युटबाट प्राविधिक शिक्षाको पठनपाठन हुँदै आएको छ ।
यसैगरी, ७७ वटा विद्यालय, २५ वटा प्लस टु, ३० वटा निजी कलेज र ९९ वटा छोटो अवधिका तालिम दिने संस्थाहरुबाट प्राविधिक शिक्षा र तालिम प्रदान गर्ने कार्य भइरहेको छ । प्रदेशमा प्राविधिक शिक्षाको पहुँच बढ्दै गए पनि उत्पादित जनशक्तिको उपयुक्त व्यवस्थापन हुन नसकिरहेको सीटीइभीटी प्रदेश कार्यालयका प्रमुख डा. कुश्माकर भट्टले बताए ।
‘प्रदेशमा प्राविधिक शिक्षा हासिल गरेका दक्ष जनशक्तिलाई रोजगारीको सृजना गर्न आवश्यक छ’, उनले अगाडि थपे–‘अहिलेसम्म प्राविधिक शिक्षा हासिल गरेका जशक्तिको उपयुक्त व्यवस्थापन भएको देखिएको छैन ।’
नेपाल बाहिर रहेका ४३ लाख जनशक्तिमध्ये ७५ प्रतिशत व्यक्ति कुनै पनि सीप नसिकेर गएको दावी गरिएको छ । मुलुकमा कस्ता किसिमका सीप सिकेका कति व्यक्ति छन, त्यसको पहिचान नै गर्न नसकिएको बताइएको छ । प्राविधिक शिक्षार्जन गरेका व्यक्तिहरुको प्रदेशगत आवश्यकताको पहिचान गर्न आवश्यक रहेको यूएनडीपीका स्कील नेशनल प्रोजेक्टका म्यानेजर डा. मुकुण्डमणि खनालले बताए ।
‘त्यसैले सबैभन्दा पहिले सीपको नक्साङ्कन गर्न जरुरी छ’, उनले भने–‘यसले जनशक्तिको पहिचानमा सहयोग भइ भावी रणनीति तयार पार्न मार्गप्रशस्त हुनेछ ।’ प्रदेशमा कुन प्रकारका सीप हासिल गरेका जनशक्तिको माग र आपूर्तिको अवस्था कस्तो छ भनेर सीप नक्शाङ्कन गर्ने उद्देश्यले नेपाल सरकार शिक्षा विज्ञान तथा प्रविधि मन्त्रालय र सुदूरपश्चिम प्रदेशको सामाजिक विकास मन्त्रालयको संयुक्त आयोजनामा कार्यक्रम गरिएको हो ।
कार्यक्रममा विज्ञ डा. प्रमोदबहादुर श्रेष्ठले प्राविधिक शिक्षामा सबैको पहुँचका लागि प्रदेश सरकारले आफै पोलिटेक्निक इन्स्टिच्युटहरु सञ्चालन गर्न आवश्यक रहेको बताए ।

चर्चामा

सम्बन्धित समाचार