शुक्रबार, पुस १२, २०८१
  • होमपेज
  • राजनीति
  • नेपाल–विप्लव गोप्य वार्ता : ‘छिट्टै उपलब्धि हात पर्ने’

नेपाल–विप्लव गोप्य वार्ता : ‘छिट्टै उपलब्धि हात पर्ने’

  • सोमवार, चैत्र २५, २०७५
नेपाल–विप्लव गोप्य वार्ता : ‘छिट्टै उपलब्धि हात पर्ने’

काठमाडौं :  सरकार र नेत्रविक्रम चन्द विप्लव नेतृतको समूहबीच संवादको थालनी भएको छ।

फागुन २८ मा बसेको मन्त्रिपरिषद् बैठकले ‘विप्लव’ समूहको गतिविधिमाथि प्रतिबन्ध लगाउने निर्णय गर्दै सरकार आक्रामक रुपमा प्रस्तुत भएको थियो। सरकारले विप्लव समूहमा आबद्ध भएकालाई जहाँ भेट्यो त्यहीँ पक्रने, हतियारसहित देखापरे घुँडाभन्दा मुनि गोली हान्ने र विप्लव समूहलाई सहयोग गर्नेलाई समेत कारबाही गर्नेलगायत घोषणा गर्‍यो।

साथै अवैध रुपमा राखिएका हतियार बुझाउन ३५ दिने सूचना पनि जारी गर्‍यो। सरकार आक्रामक बनेपछि विप्लव समूहले पनि केही दिन आफ्नो शक्ति देखाउने प्रयास गर्‍यो। तर विप्लव समूहमा आबद्ध नेता कार्यकर्तालाई धमाधम पक्राउ गरे।

प्रतिबन्ध घोषणा गरेको चारदिन नबित्दै प्रहरीले ‘विप्लव’ नेतृत्वको नेकपाका पोलिटब्युरो सदस्य मोहन कार्की ‘जीवन्त’लाई ललितपुरबाट पक्राउ गर्‍यो। त्यसको केही दिनपछि पार्टीका मध्यकमाण्ड इन्चार्ज हेमन्तप्रकाश वली ‘सुदर्शन’सहित ९ जना काभ्रेबाट पक्राउ परे।

‘विप्लव’ समूहका नेता–कार्यकर्ता पक्राउलाई प्रहरीले तीव्रता दिएसँगै पछिल्ला केही दिनयता झण्डै डेढ सय नेता कार्यकर्ता समातिए। गएको चैत ११ गतेको नेकपा संसदीय दलको बैठकमा पनि संसदीय दलका नेतासमेत रहेका प्रधानमन्त्री ओलीले शान्तिपूर्ण राजनीतिमा नआए ‘विप्लव’लाई यही चैतभित्र नियन्त्रणमा लिनेसम्म बताएका थिए। तर पछिल्ला दिनमा सरकार र विप्लव समूह दुवै नरम बनेका छन्।

हरेक दिनजसो ‘विप्लव’ समूहका गतिविधिबारे आक्रामक अभिव्यक्ति दिने प्रधानमन्त्री ओली केही दिनयता उनको विप्लवप्रति धारणा सार्वजनिक भएको छैन। विप्लव समूहका गतिविधि पनि अहिले शून्यजस्तै छन्।

विस्फोटका घटना तथा बम फेला परेका घटनाहरु सुन्न छाडिएको छ। धमाधम विप्लव समूहका नेता कार्यकर्ता पक्राउ गर्न थालेको प्रहरीले पनि अहिले उसका कार्यकर्ता पक्राउ गर्न छाडेको छ।
जसलाई सरकार र विप्लव समूहबीच वार्ता भरहेको संकेतका रुपमा लिइएको छ।

साथै पछिल्लो समय सरकार र विप्लव समूहबीच आन्तरिक रुपमा वार्ताको प्रकृया चलिरहेकाले दुवै पक्षले कारवाहीको प्रकृया रोकेको स्रोतको पनि दाबी छ। जसलाई पुष्टि गर्न गण्डकी प्रदेशमा शनिबारदेखि जारी दुईदिने सुरक्षा गोष्ठीमा गृहमन्त्री रामबहादुर थापा बादलले पनि ‘विप्लव’ समूहलाई राजनीतिको मूल प्रवाहमा ल्याउने प्रयास भइरहेको बताएका थिए। उनले सरकार र ‘विप्लव’बीच वार्ता चलिरहेको संकेत दिएका थिए।

‘विप्लव’ समूहलाई प्रतिबन्ध लगाएर समस्या समाधान नहुने भन्दै वार्ता र संवादमार्फतै सहमतिमा ल्याउनुपर्ने सत्तारुढ नेकपाका वरिष्ठ नेता माधवकुमार नेपालले गएको चैत १२ गते अभिव्यक्ति पनि दिएका थिए।

साथै उनले त्यसको जिम्मेवारी आफूलाई दिए वार्ताको वातावरण बनाउने जिकिरसमेत गरेका थिए। सरकारले पनि ‘विप्लव’ समूहलाई वार्तामार्फतै  सहमतिमा ल्याउन माधवकुमार नेपाललाई जिम्मेवारी दिएका एक नेताले नाम नखुलाउने सर्तमा द नेपालटपलाई जानकारी दिए। उनका अनुसार वरिष्ठ नेता नेपाल र विप्लवबीच एक-दुई पटक गोप्य रुपमा अनौपचारिक वार्तासमेत भइसकेको छ।

विप्लवसँगको वार्तामा सहभागी ती नेताका अनुसार केही दिनभित्रै उपलब्धि हात पर्ने गरी हुनेछ। ‘दुई चार दिनमा हामीले प्रगति हासिल गर्ने गरी काम गरिरहेका छौँ, ती नेताले भने, ‘सम्भवतः केही दिनमा नै उहाँहरुसँग एक किसिमको सहमतिको टुंगो लाग्छ।’

चर्चामा

सम्बन्धित समाचार