शुक्रबार, अशोज ४, २०८१
  • होमपेज
  • देश/प्रदेश
  • हावाहुरीले कैलाली विभिन्न ठाउँमा क्षति

हावाहुरीले कैलाली विभिन्न ठाउँमा क्षति

  • सोमवार, चैत्र २५, २०७५
हावाहुरीले कैलाली विभिन्न ठाउँमा क्षति

कैलालीमा हावाहुरी र असिनापानीका कारण केही घर र कृषिमा क्षति पुगेको छ ।
हावाहुरीले बर्दगोरिया गाउँपालिका र गौरीगङ्गा नगरपालिकामा केही व्यक्तिको घरको छानो उडाएको छ । जिल्ला प्रहरी कार्यालय कैलालीका अनुसार बर्दगोरिया गाउँपालिकाको वडा नम्बर ४ स्थित बसन्तपुरमा पाँच जना स्थानीयको घरको छाना उडाएर हावाहुरीले क्षति गरेको छ ।
स्थानीय गगन कामीको चार कोठे कच्ची घरको छाना उडाउँदा एक लाख रुपियाँ बराबरको क्षति भएको प्रहरी नायब उपरीक्षक दक्षकुमार बस्नेतले जानकारी दिए । यसैगरी, सोही ठाउँका कृष्ण कामीको गाईगोठ, खदुवा कामीको घरको टिनको छाना, रैना चौधरीको जस्तापाताको छाना र देव बिकको घरको छानो उडाएको छ । यी व्यक्तिहरुको घरको छाना उडाउँदा क्रमशः तीन हजार पाँच सय, ६२ हजार, चार हजार पाँच सय रुपियाँ बराबरको क्षति भएको प्रारम्भिक विवरण आएको प्रहरी नायब उपरीक्षक बस्नेतले बताए ।
यसैगरी, हावाहुरीले गौरीगङ्गा नगरपालिकाको वडा नम्बर ७ मा स्थानीय धनबहादुर बिकको एक तले घरको टिनको छानो उडाएको छ । यस्तै, हावाहुरी जानकी गाउँपालिकाको केही स्थानीय घरमा पनि क्षति पु¥याएको जनाएको छ । यसैगरी, टीकापुर नगरपालिकाको वडा नम्बर ६ र ७ मा पनि हावाहुरीले दर्जन बढी घरको छाना उडाएको छ । हावाहुरीले घर पनि भत्किएका नेपाल रेडक्रस सोसाइटी नारायणपुर उपशाखाका सभापति तुप केसीले जानकारी दिए ।
शनिबार राति साढे आठ बजेतिर कैलालीमा हावाहुरी चलेको थियो । सोही दिन साँझ परेको असिना पानीले गहुँबाली र तरकारी खेतीमा पनि क्षति पु¥याएको छ ।
जिल्लाको लम्कीचुहा नगरपालिकाको केही भू–भाग र कैलारी गाउँपालिका लगायतको क्षेत्रमा असिना पानी परेको थियो । असिनाले तरकारी र पाकेको गहुँबालीमा सामान्य क्षति गरेको विवरण आइरहेको कैलारी गाउँपालिका वडा नम्बर ७ का वडा अध्यक्ष कमलप्रसाद चौधरीले जानकारी दिए ।
‘हिजो साँझ परेको असिना पानीले यत्रतत्र क्षति भएको विवरण आइरहेको छ’, उनले भने–‘हामी अझै विवरण सङ्कलनकै क्रममा रहेका छौं । तर, ठूलो क्षति हुनबाट जोगिएको छ ।’

चर्चामा

सम्बन्धित समाचार