शनिबार, बैशाख १५, २०८१
  • होमपेज
  • शिक्षा
  • ४२ कलेजका विद्यार्थी परीक्षाबाट वञ्चित

४२ कलेजका विद्यार्थी परीक्षाबाट वञ्चित

  • आइतवार, चैत्र २४, २०७५
४२ कलेजका विद्यार्थी परीक्षाबाट वञ्चित

पोखरा विश्वविद्यालयले सम्बन्धन दिएका ४२ निजी कलेजमा ६ महिनाअघि व्यवस्थापन संकायअन्तर्गत स्नातक तहमा भर्ना भएर पढिरहेका विद्यार्थी परीक्षाबाट वञ्चित हुने भएका हुन् ।

काठमाडौँ — पोखरा विश्वविद्यालय र निजी क्याम्पसहरूको लापरबाहीले ४२ कलेजका विद्यार्थी परीक्षाबाट वञ्चित हुने भएका छन् । विश्वविद्यालय र कलेजले फरक–फरक मापदण्डका आधारमा विद्यार्थी भर्ना गरेपछि अध्ययनरत ३ सय ९१ जनाले रजिस्ट्रेसन नम्बर पाएका छैनन् । रजिस्ट्रेसन कायम नभए विद्यार्थीले परीक्षा दिन पाउँदैनन् । विश्वविद्यालयले सम्बन्धन दिएका ४२ निजी कलेजमा ६ महिनाअघि व्यवस्थापन संकायअन्तर्गत स्नातक तहमा भर्ना भएर पढिरहेका विद्यार्थी परीक्षाबाट वञ्चित हुने भएका हुन् । विश्वविद्यालयको पछिल्लो प्राज्ञ परिषद् बैठकले समेत ती विद्यार्थीबारे निर्णय लिन सकेन ।

उक्त संकायमा भर्ना हुन विश्वविद्यालयले प्रत्येक विषयमा न्यूनतम ‘सी’ ग्रेड ल्याउनुपर्ने मापदण्ड बनाएको थियो तर कलेजहरूले ग्रेडसिटमा कुल ‘सी’ ग्रेड ल्याउने विद्यार्थीलाई भर्ना लिएका थिए । अक्षरांकन पद्धतिमा कुनै विषयमा ‘डी प्लस’ ल्याए पनि ग्रेडसिटमा अन्य विषय र प्रयोगात्मक परीक्षाको नम्बर जोडदा ‘सी’ भन्दा माथिल्लो ग्रेड प्राप्त गर्ने सम्भावना हुन्छ । कलेजहरूले भने विद्यार्थी संख्या बढाउन कुनै विषयमा ‘डी प्लस’ ल्याएकालाई पनि भर्ना लिएर पठनपाठन गराएका थिए ।

कलेजहरूले विश्वविद्यालयले तोकेको मापदण्डविपरीत भर्ना गरेकाले विद्यार्थी समस्यामा परेको व्यवस्थापन संकायका डिन हरिबहादुर खडकाले जनाए । ‘प्राज्ञ परिषदको बैठकले प्रत्येक विषयमा कम्तीमा ‘सी’ ग्रेड ल्याउनुपर्छ भन्ने व्याख्या गर्‍यो,’ उनले भने, ‘परीक्षा समितिले रजिस्ट्रेसन नदिएसम्म ती विद्यार्थीले परीक्षा दिन पाउँदैनन् ।’ कलेज सञ्चालक भने खडकाका भनाइको खण्डन गर्छन् । विश्वविद्यालयले बनाएको मापदण्ड न्यायोचित र स्पष्ट नभएको उनीहरूको तर्क छ । विश्वविद्यालयले स्नातक तहमा भर्नाका लागि तोकेको न्यूनतम योग्यतामा ‘सी’ ग्रेड ल्याएको हुनुपर्ने मात्र भनिएको छ ।

व्यवस्थापन संकायमा भर्ना हुन प्रत्येक विषयमा कम्तीमा ‘सी’ ग्रेड ल्याउनुपर्ने भनिएको छैन । अन्य संकायका लागि भने विषयअनुसारको ग्रेड पनि खुलाइएको छ । तय गरेको मापदण्ड स्पष्ट नहुँदा कुनै विषयमा ‘डी प्लस’ ल्याउने विद्यार्थीलाई पनि कलेजहरूले भर्ना लिएको पोखरा विश्वविद्यालय शिक्षण संस्थाहरूको संघका महासचिव नरबहादुर विष्टले बताए । ‘विश्वविद्यालयको मापदण्ड न्यायोचित छैन, अंकन पद्धतिमा उत्तीर्ण मात्र भएका विद्यार्थीलाई भर्ना गर्ने, अक्षरांकन पद्धतिमा न्यूनतम ‘सी ग्रेड’ तोक्नु उपयुक्त हुँदैन ।’

सोही संकायमा त्रिभुवनलगायत केही विश्वविद्यालयले ग्रेडसिटमा कुल ‘सी ग्रेड’ ल्याउने विद्यार्थीलाई भर्ना लिएका छन् । पोखरा विश्वविद्यालयका पदाधिकारीले भने निजी कलेजले धेरै विद्यार्थी जम्मा पार्नका लागि मापदण्ड उल्लंघन गरेर भर्ना लिएको बताए ।

व्यवस्थापन संकायमा विश्वविद्यालयमातहत करिब २० हजार विद्यार्थी अध्ययनरत छन् । बीबीए, बीएचएमलगायत ६ विषय पढिरहेका ३ सय ९१ विद्यार्थी परीक्षाबाट वञ्चित हुने भएका हुन् । संघले विद्यार्थीको समस्या समाधान गरिदिन विश्वविद्यालयलाई आग्रह गरेको थियो । विश्वविद्यालयले कक्षा ११ र १२ मा प्रत्येक विषयमा ‘सी’ ग्रेड ल्याएका विद्यार्थीले मात्र भर्ना भएर रजिस्ट्रेसन पाउने व्याख्या गरेको हो ।

गत चैत १५ गतेबाट देशभरका कलेजमा परीक्षा मिति तोकिएको थियो । विश्वविद्यालयको आंगिक कलेजमा अध्ययनरत विद्यार्थीको आन्दोलनका कारण उक्त परीक्षा हुन सकेको थिएन । होम सेन्टर हटाउने निर्णयको विरोध गर्दै विद्यार्थीले आन्दोलन गरेपछि परीक्षा रोकिएको थियो ।

परिषद्ले होम सेन्टर कायमै राखेपछि विश्वविद्यालयले नयाँ परीक्षा तालिका सार्वजनिक गर्ने तयारी गरिरहेको छ । पहिलो सेमेस्टरमा भर्ना भएर ६ महिनादेखि अध्ययनरत विद्यार्थी भने परीक्षामा सहभागी हुन पाउने छैनन् । उनीहरूबाट ४ हजारका दरले रजिस्ट्रेसन शुल्क उठाएर कलेजहरूले विश्वविद्यालयमा पठाइसकेका छन् ।

पीडित विद्यार्थीले भने कलेजले स्पष्ट जानकारी नदिई भर्ना गरेकाले आफूहरू झुक्किएर मर्कामा परेको गुनासो गरेका छन् । ‘भर्ना र मासिक शुल्क तिरेर पढिरहेका छौं,’ एक विद्यार्थीले भने, ‘६ महिनापछि परीक्षा दिन पाउँदैनौ भन्दा समय मात्र बर्बाद भयो ।’

चर्चामा

सम्बन्धित समाचार