
सरकारले बाराका हुरीपीडितका लागि टहरा बनाउने काम सुरू गरेको छ। हुरीबाट सबैभन्दा बढी प्रभावित बाराका भुलही,भरवलिया र पुरैनिया तिनैवटा निकायका सुरक्षाकर्मीले टहरा बनाउन लागेका हुन्। मंगलबार उनीहरूले रेडक्रसको टोलीसँगै सरसफाइको काम गरिरहेको छन्। अहिले त्यस ठाँउमा नेपाल रेडक्रसले पठाएको १ सय ५० पाल पुगिसकेको छ भने गृह मन्त्रालयले पठाएको ३ सय पाल पुग्ने क्रममा रहेको सेनाका एक अधिकृतले सेतोपाटीलाई बताए ।
‘हामीले बिहानैदेखि सरसफाइ गरेर पाल राख्ने ठाँउ बनाइरहेका छौं। रेडक्रस सहभागी जिल्ला सुरक्षा समितिको बैठक बसेपछि पाल राख्नुपर्ने संख्या तय हुन्छ,’ ती अधिकृतले भने, ‘अहिलेसम्मको प्रारम्भीक अनुमान अनुसार १ हजारको हाराहारीमा टहरा बनाउनुपर्ने हुन्छ।’ नेपाली सेनाले पनि ३ सय भन्दा बढी पाल त्यसतर्फ पठाइसकेको छ। नेपाली सेनाले बिरामीका लागि रगत संकलनदेखि खानेकुरा बाँड्नेसम्मको काम पनि गरिरहेको छ।
स्थानीय सरकारले चलाए ठाउँ ठाँउमा मेस
आइतबार साँझ आएको हावाहुरीबाट प्रभावित बारा र पर्साका स्थानीय सरकारले ठाउँ ठाउँमा मेस चलाएका छन्। आइतबारको हुरीले बाराका फेटा, पर्सौनी, सुवर्णपूर गाउँपालिका र महागढीमाई नगरपालिकाका १८ जनाको मृत्यु भएको थियो भने पर्सामा तीन जनाको ज्यान गएको थियो। हुरीमा परी ४ जना भारतीयको पनि मृत्यु भएको छ। बाराका स्थानीय सरकार प्रमुखले प्रभावितलाई खानाको समस्या नहोस् भनेर ठाउँ ठाउँमा मेस चलाइएको जानकारी दिएका छन्।
महागढीमाई नगरपालिकाका प्रमुख उपेन्द्रप्रसाद यादवले नगरपालिकाले त्रिपाल र झुल किनेर बाँडेको बताए। ‘हिजो राति हामीले झुल र त्रिपाल बाँड्यौं। अहिले ठाउँ ठाउँमा मेस चलाइरहेका छौं,’ यादवले भने, ‘यो नगरपालिकामा २५० बढी घर क्षति भएका छन्। हावाहुरीबाट मरेका चौपायालाई खाल्डो खनेर गाड्दैछौं।’
उनले बिजुलीका पोल ढलेकाले ठाउँ ठाउँमा जेनेरेटर राखेर राति उज्यालो दिइएको बताए। चोरीका घटना नहोऊन् भनेर प्रभावित क्षेत्रमा रातभरि प्रहरी खटेको उनले बताए। हुरीबाट सबैभन्दा बढी प्रभावित फेटा गाउँपालिकामा भने त्रिपालको अभाव भएपछि मानिसहरू पक्की घरमा शरण लिन गएका छन्।
‘४ वडामा ८ सयभन्दा बढी घरमा क्षति भएको छ। हिजो केहीलाई त्रिपाल दियौं। नपाएकाहरू पक्की घरतिर मिलाएर बस्नुभयो,’ गाउँपालिका अध्यक्ष अमरीलाल प्रसादले भने, ‘खाना खुवाउनका लागि ८ ठाउँमा मेस चलाएका छौं।’ अमरीलालले हुरीबाट मृत्यु भएकाका परिवारलाई गाउँपालिकाकाको तर्फबाट २० हजार रूपैयाँ दिने निर्णय भएको बताए। हुरीबाट फेटामा १४ जनाको मृत्यु भएको छ।
