शुक्रबार, चैत्र १६, २०८०
  • होमपेज
  • खेलकुद
  • ला लिगामा आज बार्सिलोना र एथ्लेटिको मड्रिडको ‘महाभिडन्त’ हुँदै !

ला लिगामा आज बार्सिलोना र एथ्लेटिको मड्रिडको ‘महाभिडन्त’ हुँदै !

  • शनिबार, चैत्र २३, २०७५
ला लिगामा आज बार्सिलोना र एथ्लेटिको मड्रिडको ‘महाभिडन्त’ हुँदै !

स्पेनिस ला लिगा फुटबलमा आज उपाधि दौडमा रहेका दुई बलिया टोली बार्सिलोना र एथ्लेटिको मड्रिडको रोमाञ्चक भिडन्त हुँदैछ । यी दुई टोली सिजनको दोस्रो भेटमा बार्सिलोनाको घरेलु मैदान क्याम्प नोउमा भिड्न लागेका हुन् ।

हाल शीर्ष स्थानमा रहेको बार्सिलोना र दोस्रो स्थानमा रहेको एथ्लेटिको दुवैका लागि आजको खेल ज्यादै महत्त्वपूर्ण छ । समान ३० खेलपछि हाल बार्सिलोना ७० अंकसहित शीर्ष स्थानमा छ भने एथ्लेटिको ६२ अंकसहित दोस्रो स्थानमा छ । अहिले बार्सिलोना ८ अंकले अगाडि छ ।

लिग लिडर बार्सिलोना आज आफ्नो घरमा हुने यो खेल जितेर स्पष्ट रूपमा उपाधितर्फ अघि बढ्ने योजनामा छ । यदि आज उसले एथ्लेटिकोमाथि जित हात पारे ३१ खेलपछि ११ अंकको अग्रता लिएर ऊ उपाधिनजिक पुग्नेछ ।

यता, दोस्रो स्थानको एथ्लेटिको भने आज बार्सिलोनाको घरमा हुने यो खेल हारहालतमा जित्ने दाउमा छ । यदि आज पराजित भए एथ्लेटिको पनि उपाधि होडबाट अनौपचारिक रूपमा बाहिरिनेछ ।

तसर्थ, आज एथ्लेटिको बार्सिलोनाको मैदानमा जसरी पनि जित निकाल्न चाहन्छ । यदि उसले यो खेल जिते बार्सिलोनासँगको अंक दूरी ५ मा झार्नेछ । र, उसले जर्बजस्त लिगको उपाधि ढोका खुला गर्नेछ ।

तर, यदि आजको खेल बराबरीमा रोकिएको अवस्थामा भने बार्सिलोनालाई खासै असर पर्नेछैन भने एथ्लेटिकोको उपाधि होड थप कठिन बन्नेछ ।

यस्तो बेला बार्सिलोना आजको खेलबाट जसरी पनि ३ अंक बटुल्ने दाउमा छ । आजको खेल हारेको खण्डमा आफ्नो उपाधि होड संकटमा पर्ने कुरा उसलाई राम्रोसँग थाहा छ । यी दुई टोलीबीच गत नोभेम्बरमा भएको सिजनको पहिलो खेल १–१को बराबरीमा सकिएको थियो ।

आजको खेलमा एथ्लेटिकोका पहिलो रोजाइका खेलाडी मैदान उत्रिनेछन् । उसका सबै खेलाडी आज उपलब्ध हुनेछन् ।

तर, आजको खेलमा बार्सिलोनाका केही प्रमुख खेलाडीले आराम पाउने सम्भावना छ । किनभने, ४ दिनपछि च्याम्पियन्स लिगमा बार्सिलोनाले क्वार्टरफाइनलका खेल खेल्ने भएकाले सो खेलका लागि टोलीका प्रमुख खेलाडीलाई आराम दिने बार्सिलोनाका प्रशिक्षकको तयारी छ ।

तसर्थ, आजको खेलमा कप्तान लिओनल मेस्सीसहित रक्षापंक्ति र मिडफिल्डका केही प्रमुख खेलाडी हुनेछैनन् । त्यसैगरी, यसअघि चोट बोकेका उसामान डेम्बेले पनि आज उपलब्ध हुनेछैनन् । तर, उनी च्याम्पियन्स लिगमा म्यानचेस्टर युनाइटेडविरुद्धको खेलमा भने उपलब्ध हुनेछन् ।

आजको खेलमा बार्सिलोनालाई आफ्ना खेलाडीलाई चोटबाट बचाउनु मुख्य चिन्ताको विषय हुनेछ । किनभने, यसअघि सिजनको पहिलो भेटमा बार्सिलोना र एथ्लेटिको भिड्दा एकै खेलमा बार्सिलोनाका ५ जना खेलाडी घाइते भएका थिए । तसर्थ, बार्सिलोना आजको खेलमा मुख्य खेलाडीमाथि कुनै पनि जोखिम मोल्ने पक्षमा छैन । त्यसमा पनि मेस्सीमाथि बार्सिलोनाले धेरै सावधानी अपनाउने छ ।

आजको खेल क्याम्प नोउमा राति १२ः३० बजेबाट सुरु हुनेछ । लिगका आजै अन्य ३ खेल पनि हुनेछन् ।

चर्चामा

सम्बन्धित समाचार