शुक्रबार, बैशाख ७, २०८१
  • होमपेज
  • प्रवास
  • भारतमा हुने चुनावका कारण कहिले–कहिले बन्द हुदैछ नेपाल–भारत सीमा नाका ? सबैको जानकारीको लागि शेयर गर्नुहोला

भारतमा हुने चुनावका कारण कहिले–कहिले बन्द हुदैछ नेपाल–भारत सीमा नाका ? सबैको जानकारीको लागि शेयर गर्नुहोला

  • शनिबार, चैत्र २३, २०७५
भारतमा हुने चुनावका कारण कहिले–कहिले बन्द हुदैछ  नेपाल–भारत सीमा नाका ? सबैको जानकारीको लागि शेयर गर्नुहोला

काठमाण्डौ – आउँदो बिहीबारदेखि भारतमा लोकसभा चुनाव हुँदैछ । विभिन्न सात चरणमा हुने चुनावको तयारी तीव्र भइरहेको छ ।

लोकसभा चुनावले भारतको राजनीतिमा उतारचढाव ल्याउने आंकलन छ । लोकसभा चुनावको परिणामका आधारमा भारतले भावी प्रधानमन्त्री प्राप्त गर्ने छ ।

प्रधानमन्त्रीको दौडमा वर्तमान प्रधानमन्त्री एवं भारतीय जनता पार्टीको तर्फबाट नरेन्द्र मोदी र कांग्रेस नेतृत्वको विपक्षी गठबन्धनबाट राहुल गान्धीलाई भावी प्रधानमन्त्रीको रुपमा हेरिएको छ ।

विभिन्न सात चरणमा गरेर हुने चुनाव यही चैत २८ (अप्रिल ११) गतेदेखि सुरु हुँदै छ । पहिलो चरणमा चैत २८ (अप्रिल ११) मा सुरु हुने चुनाव जेठ ५ (मे १९) तारिखमा सातौँ तथा अन्तिम चरणको हुने छ ।

यस्तै वैशाख ५(अप्रिल १८), वैशाख १० (अप्रिल २३), वैशाख १६ (अप्रिल २९) तथा वैशाख २३ (मे ६), वैशाख २९ (मे १२) र जेठ ५ (मे १९) तारिख गरी सात चरणमा चुनाव हुने भारतीय निर्वाचन आयोगले जनाएको छ ।

नेपाल भारत सीमा पूर्वि नाका काकडभिट्टामा राखिएको स्वागत गेट ।

भारतमा हुन लागेको चुनावले नेपाललाई प्रत्यक्ष प्रभाव पार्ने छ । सात चरणमा हुने चुनावका कारण नेपाल भारत सीमा नाका झण्डै तीनसाता बन्द हुने छ ।

चुनाव हुने दिनसहित ७२ घण्टा सीमा नाका बन्द हुन्छ । सीमा नाका बन्द हुँदा अत्यावश्यक र बिरामी बोकेका एम्बुलेन्स दुवै देशका सुरक्षाकर्मीको समन्वयमा आवतजावत गर्ने बाहेक अन्य आवतजावत ठप्प हुन्छ ।

सीमा नाका झण्डै तीन सातासम्म बन्द हुँदा आयात निर्यात प्रभावित हुन सक्छ । नेपाल दाल, चामल, तेल हरियो तरकारीजस्ता दैनिक उपभोग्य वस्तुदेखि विलासिताका सामानमासमेत भारतमा नै निर्भर छ ।

एक दिन सीमा बन्द हुँदा प्रभाव पर्ने अवस्थामा झण्डै तीनसाता सीमा बन्द हुँदा झनै प्रभाव पर्ने देखिन्छ ।

कुन–कुन दिन बन्द हुन्छ सीमा ?

चुनाव सकिनुभन्दा अघिल्लो ७२ घण्टादेखि सीमा नाका बन्द गर्ने गरिन्छ । दुवै देशका सुरक्षा समितिको बैठक बसेर सीमा नाका बन्द गरिने चलन छ । चुनावका बेला घुसपैठ नहोस् भनेर दुवै देशमा चुनाव हुँदा यस्तो व्यवस्था गरिँदै आएको छ ।

पूर्व–पश्चिम र दक्षिणतर्फबाट नेपालसँग भारतीय सीमा जोडिएको छ । भारतको सात वटा केन्द्र शासित र २९ वटा प्रदेश गरि ३६ प्रदेशमा चुनाव हुन लागेको हो । यसमध्ये भारतको पाँच वटा प्रदेशको नेपालसँग सीमा जोडिएको छ ।

पूर्वी नेपालको पाँचथर र ताप्लेजुङ भारतको सिक्किमसँग सीमा जोडिएको छ । झापा र इलाम पश्चिम बंगालसँग जोडिएको छ भने झापादेखि चितवनसम्म बिहार प्रदेशको सीमा जोडिएको छ ।

यस्तै नवलपरासीदेखि सुदूरपश्चिम कञ्चनपुरसम्म उत्तर प्रदेश र कञ्चनपुरदेखि पश्चिमी क्षेत्रको दार्चुला उत्तराखण्डसँग सीमा जोडिएको छ ।

यो पाँच वटा प्रदेशमध्ये सिक्किम र उत्तराखण्डमा पहिलो चरणमा अर्थात चैत २८ (अप्रिल ११) मा नै चुनाव सकिने छ । पश्चिम बंगाल, बिहार र उत्तर प्रदेशमा भने सातै चरणमा चुनाव हुनेछ ।

पहिलो चरणमा अर्थात चैत २८ गते (अप्रिल ११) नेपालसँग सीमा जोडिएका सबै प्रदेशमा चुनाव हुँदै छ । चुनावलाई मध्यनजर गर्दै चैत २६ गतेदेखि नै सीमा नाका बन्द हुँदै छ ।

चुनाव सकिनु ७२ घण्टा अघिदेखि सीमा नाका बन्द हुने हुँदा पहिलो चरणमा हुने चुनावमा २६, २७ र २८ गते सीमा बन्द हुनेछ । यी दिनमा भारतसँग जोडिएको नेपालको सबै सीमा बन्द हुनेछन् ।

यस्तै वैशाख ५(अप्रिल १८) मा हुने दोस्रो चरणको चुनावका लागि वैशाख ३, ४ र ५ गते, वैशाख १० (अप्रिल २३) मा हुने तेस्रो चरणको चुनावका लागि ८, ९ र १० गते सीमा नाका बन्द हुनेछ ।

वैशाख १६ (अप्रिल २९) मा हुने चुनावका लागि वैशाख १४, १५ र १६ गते, यस्तै वैशाख २३ (मे ६) मा हुने चुनावका लागि वैशाख २१, २२ र २३ गते सीमा बन्द हुनेछ ।

यसै गरी वैशाख २९ (मे १२) मा हुने चुनावका लागि वैशाख २७, २८ र २९ गते एवं जेठ ५ (मे १९) गते हुने अन्तिम एवं सातौँ चरणको चुनावका लागि जेठ ३, ४ र ५ गते सीमा नाका बन्द हुने छ ।

पहिलो चरणमा हुने भारतीय लोकसभा चुनावमा भारतसँग जोडिएका सबै सीमा बन्द हुनेछन् । तर दोस्रो चरणदेखि सातौँ चरणसम्मका चुनावमा उत्तराखण्ड र सिक्किमसँगको सीमानाका भने खुल्नेछ ।

यो समाचार हामीले उज्यालो अनलाइनबाट लिएका हौं । तपाइ यो लिंक खोलेर उज्यालो अनलाइनमा यस समाचार हेर्न सक्नुहुन्छ ।

चर्चामा

सम्बन्धित समाचार