शुक्रबार, बैशाख १४, २०८१
  • होमपेज
  • अन्तर्राष्ट्रिय
  • ३५ बिलियन डलरको सम्बन्धविच्छेद

३५ बिलियन डलरको सम्बन्धविच्छेद

  • शनिबार, चैत्र २३, २०७५
३५ बिलियन डलरको सम्बन्धविच्छेद

अमेरिका । विश्वकै सबैभन्दा महँगो सम्बन्धविच्छेदको विषयमा बिहीबार दुवै पक्षबीच सम्पति बाँटडफाँड सम्बन्धी सहमति भएको छ ।

विश्वकै सबैभन्दा धनी व्यक्ति जेफ बेजोस र उनकी पत्नी म्याककेन्जीबीच कम्तिमा ३५ बिलियन डलर मूल्यको सम्बन्ध विच्छेद सम्बन्धी समझदारी भएको हो । जसअनुसार बेजोसकी पत्नीले करिब ३५ बिलियन डलर मूल्य पाउनेछन् । बेजोसले २५ वर्षअघि स्थापना गरेको अमेजन कम्पनीको ४ प्रतिशत हिस्सेदारी पूर्वपत्नीलाई दिइएको सहमतिमा उल्लेख छ ।

पत्नीले पनि वाशिङ्टन पोस्ट पत्रिका र स्पेस ट्राभल फर्म ब्लू ओरिजिनको हिस्सेदारी छोड्नेछिन् । सम्बन्धविच्छेदको यो सहमतिबाट विगतको ३.८ बिलियन डलरको आर्ट डिलर एलेक वाइल्डेन्स्टेन र उनकी पत्नी जोसेलिनले राखेको रेकर्ड तोडिएको हो । बेजोसले यसबारेमा घोषणा ट्विटमार्फत् गरेका हुन् । सम्बन्ध विच्छेदसम्बन्धी प्रक्रिया पूरा गर्न पाएकोमा उनले आभार व्यक्त गरेका छन् ।

अमेजनमा रहेको सेयरमा आफ्नो भोटिङ राइट्स पनि म्याककेन्जीले आफ्ना पूर्वपतिलाई हस्तान्तरण गरेकी छन् । उनीहरूबीच गएको जनवरी महिनामा सम्बन्ध विच्छेद भएपनि सम्पत्ति बाँडफाँडको विषय अझै टुंगिन बाँकी थियो । सम्पत्ति बाँडफाँडपछि पनि बेजोस अझै विश्वका सबैभन्दा धनी व्यक्तिकै रुपमा रहनेछन् भने उनकी पूर्वपत्नी विश्वको सबैभन्दा धनी चौथो महिला हुन पुगेकी छन् । यद्यपि, अन्य विभिन्न क्षेत्रमा भएको अमेजन प्रमुखको लगानीको हिस्सा बाँडफाँड कसरी हुन्छ भन्ने बारेमा अझै खोलिएको छैन ।

बेजोस अहिले फक्स टिभीका पूर्वकार्यक्रम सञ्चालक लारेन सान्चेजसँग सम्बन्धमा रहेको बताइँदै आएको छ ।

चर्चामा

सम्बन्धित समाचार