शुक्रबार, बैशाख ७, २०८१
  • होमपेज
  • खेलकुद
  • आईपीएल : चेन्नईले दिल्लीलाई हरायो

आईपीएल : चेन्नईले दिल्लीलाई हरायो

  • बुधबार, चैत्र १३, २०७५
आईपीएल : चेन्नईले दिल्लीलाई हरायो

दिल्ली : इन्डियन प्रिमियर लिग (आईपीएल) टीट्वेन्टी क्रिकेटमा चेन्नई सुपर किङ्सले लगातार दोस्रो जित हासिल गरेको छ । महेन्द्रसिंह धोनीको कप्तानीमा रहेको चुन्नईले मंगलबार राति खेलिएको आफ्नो दोस्रो खेलमा दिल्ली क्यापिटललाई ६ विकेटले पराजित गर्यो ।

साविक विजेतासमेत रहेको चेन्नईले प्रतियोगिताको उद्घाटन खेलमा विराट कोहलीको कप्तानीमा रहेको रोयल च्यालेन्जर्स बैंगलोरलाई हराएको थियो । लगातार दोस्रो जितसँगै चेन्नई चार अंकसहित तालिकाको पहिलो स्थानमा छ ।

दुई खेलबाट दुई अंक जोडेको दिल्ली दोस्रो स्थानमा छ । दिल्ली आफ्नो पहिलो खेलमा विजयी भएको थियो । नेपाली युवा बलर सन्दीप लामिछाने दिल्लीबाटै खेल्छन् । यद्यपि, दिल्लीले दुबै खेलमा सन्दीपलाई खेलाएको छैन ।

टस जितेर पहिले ब्याटिङ रोजेको दिल्लीले निर्धारित ओभरमा ६ विकेट गुमाएर एक सय ४७ रन बनाएको थियो । जवाफी ब्याटिङमा ओर्लिएको चेन्नईले १९.४ ओभरमा केवल चार विकेट गुमाएर एक सय ५० रन बनाउँदै विजयलक्ष्य पार गर्यो ।

चेन्नईका लागि ओपनर ब्याट्सम्यान सेन वाट्सनले ४४ रनको योगदान गरे । उनले २६ बलको सामना गरी तीन छक्का र चार चौका प्रहार गरे । सोही योगदानका कारण उनी म्यान अफ दी म्याच पनि घोषित भए ।

आक्रामक रुपमा प्रस्तुत भएका सुरेश रैनाले केवल १६ बलमा एक छक्का र चार चौकाको मद्दतले ३० रन बनाए भने केदार जादबले पनि २७ रनको योगदान गरे । उनले ३४ बलको सामना गरी दुई चाौका पनि प्रहार गरे ।

यसैगरी कप्तान धोनी ३२ र ड्वेन ब्राभो चार रनमा अविजित रहे । विकेटकिपर ब्याट्सम्यान धोनीले ३५ बलको सामना गरी एक छक्का र दुई चौका हिर्काए । दिल्लीका बलर अमित मिश्राले दुई तथा कागिसो राबडा र इशान्त शर्माले एक/एक विकेट लिए ।

यसअघि पहिले ब्याटिङ गरेको दिल्लीका लागि शिखर धवनले ५१ रन बनाए पनि टोलीको जितका लागि त्यो पर्याप्त हुन सकेन । धवनले ४७ बलको सामना गरी सात चौका पनि प्रहार गरेका थिए । ओपनर पृथ्वी सले २४ रन बनाएका थिए भने रिसभ पन्तले २५ रन थपेका थिए । चेन्नईका बलर ड्वेन ब्राभोले तीन तथा इमरान ताहिर, रविन्द्र जडेजा र दिपक चाहरले एक/एक विकेट लिएका थिए ।

चर्चामा

सम्बन्धित समाचार