बिहिबार, बैशाख १३, २०८१
  • होमपेज
  • देश/प्रदेश
  • सुदूरपश्चिमका मन्त्री र सासंदका गाउँमा योजनाको ओईरो

सुदूरपश्चिमका मन्त्री र सासंदका गाउँमा योजनाको ओईरो

  • शनिबार, चैत्र ९, २०७५
सुदूरपश्चिमका मन्त्री र सासंदका गाउँमा योजनाको ओईरो

चैत ९

बैतडीका प्रभावशाली नेताहरूले पनि आफ्नै गाउँका योजनामा पैसा हालेका दृष्टान्त जति पनि भेटिन्छन् । प्रदेशसभाका सांसद लीलाधर भट्टको दोगडाकेदार गाउँपालिकामा मात्रै प्रदेश सरकारबाट ८ करोड ४९ लाख ५० हजार रुपैयाँ हालिएको छ । उनको घर भएका ठाउँमा खानेपानी, सडक, सिँचाइ, पहिरो नियन्त्रण तटबन्धलगायत १९ वटा योजनामा त्यो पैसा हालिएको हो ।

सांसद भट्टका स्वकीय सचिव नरेश पाण्डेले २०७५ असार ७ मा फेसबुकमा माननीय लीलाधर भट्टले आफ्नो चुनाव क्षेत्रका लागि महत्त्वपूर्ण भूमिका खेलेको भन्दै उनको पहलमा परेका ३९ वटा योजना र बजेटको सूची सार्वजनिक गरेका थिए ।

प्रदेश सरकारका आन्तरिक मामिला तथा कानुनमन्त्री प्रकाश शाहको घर रहेको बाजुराको बूढीगंगा नगरपालिकामा पनि अरू स्थानीय तहको तुलनामा बढी रकम परेको छ  सिँचाइ, खानेपानी, सडक, नदी नियन्त्रण तटबन्ध आदि योजनामा उनको नगरपालिकामा ७ करोड ८५ लाखका १९ वटा योजना परेका छन् ।

बाजुराकै प्रदेश सांसद बलदेव रेग्मीको निर्वाचन क्षेत्रमा पर्ने बूढीनन्दा नगरपालिकामा प्रदेश सरकारबाट ७ करोड १६ लाख ९२ हजार रुपैयाँ विनियोजन भएको छ । विभिन्न १३ वटा योजनाको नाममा नगरपालिकामा यो रकम आएको हो । बाजुरा जिल्लामा प्रदेश सरकारले विनियोजन गरेको रकमको झन्डै आधा रकम मन्त्री शाह र सांसद रेग्मीको गाउँमा हालिएको छ । बाजुरामा भौतिक पूर्वाधार विकास मन्त्रालयले मात्र ३१ करोड २६ लाख ९२ हजार रुपैयाँ विनियोजन गरेको छ ।

बूढीनन्दा नगरपालिका–८, लमालबाडामा नगरपालिकाले निर्माण गरेको खानेपानी योजना सम्पन्न हुनै लागेको छ । प्रदेश सरकारले त्यही गाउँका लागि फेरि ६० लाख विनियोजन गरेको छ ।

साझा योजनाहरू बढी भएकाले बूढीगंगा नगरपालिकाको बजेट बढी देखिएको मन्त्री शाहको भनाइ छ । शाह भन्छन्, ‘सबैजसो सडक अरू गाउँपालिका जोड्ने खालका छन् । मार्तडी, आटीचौर, खप्तड, काँडा जाने सडक योजनालाई बूढीगंगाको मात्र भन्नु भएन ।’ आफ्नो जिल्लामा ठूलो बजेट पुगेकोमा शाह प्रसन्न छन् । उनले भने, ‘प्रदेश सरकारमा बाजुराको महत्त्वपूर्ण उपस्थिति भएकाले यो वर्ष धेरै बजेट परेको हो ।’

कञ्चनपुरको महेन्द्रनगर–विष्णुधाम सडकअन्तर्गत महाकाली सिँचाइ आयोजनाको नहरमा पक्की पुल छँदै छ । प्रदेश सरकारले त्यही सडक पुल निर्माणका लागि बजेट हालेको छ । महाकाली सिँचाइ आयोजनाका लागि नहर निर्माणका क्रममा कोरियन कम्पनीले बनाएको यो पुल कामै नलाग्ने भएको छैन । फेरि त्यहीं अर्को पुल बनाउन बजेट पारिएको हो ।

सुदूरपश्चिम प्रदेशका उद्योग, वन, वातावरण र पर्यटन राज्यमन्त्री प्रकाश रावलले कार्यकर्ताको चित्त बुझाउन आवश्यक नभएको योजनामा बजेट हालेको स्थानीय खेम ऐरीले बताए । उनले भने, ‘पुल भएकै ठाउँमा अर्को पुल आवश्यक थिएन तर त्यसैमा ४० लाख रुपैयाँ हालिएको छ ।’ उनले बरु यो ठाउँमा दुई वा चारलेनको पुल आवश्यक रहेको बताउँदै ४० लाख रकमले अहिले भएको जत्तिको पुल पनि नबन्ने बताए ।

साभार : खोज पत्रकारिता केन्द्र

चर्चामा

सम्बन्धित समाचार