शनिबार, बैशाख १५, २०८१
  • होमपेज
  • समाज
  • लोग्ने-स्वास्नीलाई एकै ठाउमा पार्दै ७० हजार प्रहरीको दुई किस्तामा यसरी हुने भो समायोजन

लोग्ने-स्वास्नीलाई एकै ठाउमा पार्दै ७० हजार प्रहरीको दुई किस्तामा यसरी हुने भो समायोजन

  • शुक्रबार, चैत्र ८, २०७५
लोग्ने-स्वास्नीलाई एकै ठाउमा पार्दै ७० हजार प्रहरीको दुई किस्तामा यसरी हुने भो समायोजन

सरकारले ७० हजार हाराहारी नेपाल प्रहरीको समायोजन गर्ने भएको छ । सरकारले नेपाल प्रहरीलाई दुई तहको संरचनामा समायोजन गर्ने तयारी अगाडि बढाएको छ । निजामती सेवाका कर्मचारीको तीन तहमा समायोजन प्रक्रिया अन्तिम चरणमा पुगेका बेला सरकारले प्रहरीको समायोजन प्रक्रिया अघि बढाउन लागेको हो । प्रहरी कर्मचारीहरू संघ सरकार मातहत रहने नेपाल प्रहरी तथा प्रदेश सरकार मातहत रहने प्रदेश प्रहरीमा समायोजन हुने भएका छन् । गृह मन्त्रालयले प्रहरी कर्मचारीलाई नेपाल प्रहरी तथा प्रदेश प्रहरीमा समायोजन गर्ने सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक संसद् सचिवालयमा दर्ता गराइसकेको छ । संसदबाट उक्त विधेयक पारित भएपछि समायोजन शुरु हुने मन्त्रालयले जनाएको छ ।

समायोजन पूर्व नेपाल प्रहरी र प्रदेश प्रहरीको सांगठनिक संरचना कस्तो हुने, केन्द्र र प्रदेशपिच्छे प्रहरीको दरबन्दी कति आवश्यक पर्ने भन्ने यकिन गरिने जनाइएको छ । केन्द्र तथा प्रदेश प्रहरीको संगठन संरचना तथा दरबन्दी नेपाल सरकारले निर्धारण गर्नेछ । यसअघि प्रशासनिक संरचना तथा कर्मचारीको दरबन्दी समेत नेपाल सरकारले निर्धारण गरेको थियो ।

केन्द्रले ठूलो संख्यामा केन्द्रीय निकाय तथा विभागस्तरका कार्यालय आफैंसँग राखेको साथै कर्मचारीको ठूलो हिस्सा समेत केन्द्रमै राखेकोप्रति प्रदेश सरकारहरूले असन्तुष्टि पोख्दै आएका छन् । गृहसचिव संयोजक रहने संगठन तथा व्यवस्थापन सर्वेक्षण समितिमा प्रदेश सरकारका तर्फबाट कसैको प्रतिनिधित्व गराइएको छैन ।

समितिमा नेपाल प्रहरीका एक जना अतिरिक्त प्रहरी महानिरीक्षक, प्रधानमन्त्री कार्यालय, अर्थ मन्त्रालय, कानुन मन्त्रालय तथा गृहकै एक–एक जना सहसचिव सदस्य रहने व्यवस्था विधेयकमा गरिएको छ । उक्त समितिले संघ वा प्रदेशको शान्ति सुरक्षा तथा व्यवस्थापनका लागि गर्नुपर्ने कार्य र औचित्यको अध्ययन गर्नेछ । सोही आधारमा नेपाल प्रहरी तथा प्रदेश प्रहरीको संगठन र दरबन्दी निर्धारण गरी सर्वेक्षण प्रतिवेदन तयार गर्ने विधेयकमा उल्लेख छ । प्रदेश प्रहरीमा कायम हुने नेपाल प्रहरीको दरबन्दी र पद समेत सोही समितिले यकिन गर्नेछ । गृह मन्त्रालयले प्रहरी निरीक्षकभन्दा माथिको पद नेपाल प्रहरीको दरबन्दीमा कायम रहने गरी प्रहरीसम्बन्धी अर्को विधेयक यसअघि नै संसद्मा पेस गरिसकेको छ ।

नेपाल प्रहरी र प्रदेश प्रहरीले सम्पादन गर्ने कार्यको सञ्चालन, सुपरिवेक्षण र समन्वय सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयकको दफा १४ (१) मा राजपत्रांकित द्वितीय श्रेणी वा सोभन्दा माथिल्लो दर्जाको प्रदेश प्रहरी पदमा नेपाल प्रहरीको दरबन्दी कायम गरिने भनिएको छ । सोही प्रावधानसहित विधेयक पारित भए प्रहरी निरीक्षक र सोभन्दा मुनिका प्रहरी कर्मचारी मात्रै प्रदेश प्रहरीमा समायोजन हुन योग्य हुने जनाइएको छ . प्रहरी निरीक्षकभन्दा माथिल्लो दर्जाका प्रहरी कर्मचारी प्रदेश प्रहरीमा कामकाजमा खटिए पनि तिनको दरबन्दी नेपाल प्रहरीमै रहनेछ । नेपाल प्रहरीमा यकिन भएका सांगठनिक संरचनाको दरबन्दीमा समायोजन भएपछि बाँकी रहेका प्रहरी कर्मचारीको दरबन्दी नेपाल प्रहरीको पुल दरबन्दीमा रहने छन् । उनीहरूलाई आवश्यकताअनुसार प्रदेश प्रहरीमा खटाइने प्रावधान विधेयकमा छ । प्रदेश प्रहरीमा समायोजन भएर जाने प्रहरी कर्मचारीको तलबमा दुई ग्रेड थप, कम्तीमा दुई वर्ष सेवाअवधि थप, प्रदेश प्रहरीको रिक्त दरबन्दीमा बढुवाको अवसर, पति–पत्नीलाई एकै प्रदेशमा पर्ने गरी समायोजनजस्ता सुविधाको प्रस्ताव विधेयकमा गरिएको छ ।

चर्चामा

सम्बन्धित समाचार