शनिबार, बैशाख १५, २०८१
  • होमपेज
  • खेलकुद
  • आज साफ महिला च्याम्पियनसिप फुटबल फाइनलमा नेपाल भर्सेस भारतः के नेपालले इतिहास रच्ला?

आज साफ महिला च्याम्पियनसिप फुटबल फाइनलमा नेपाल भर्सेस भारतः के नेपालले इतिहास रच्ला?

  • शुक्रबार, चैत्र ८, २०७५
आज साफ महिला च्याम्पियनसिप फुटबल फाइनलमा नेपाल भर्सेस भारतः के नेपालले इतिहास रच्ला?

पाँचौं दक्षिण एसियाली फुटबल(साफ) महिला च्याम्पियनसिप फुटबल प्रतियोगिताको उपाधिका लागि शुक्रबार नेपाल र भारत विराटनगरको शहिद रंगशालामा भिड्दैछन्।

दिउँसो तीन बजे हुने फाइनलका लागि बलियो टोली भारत र आत्मविश्वासी टोली नेपाल एक आपसमा भिड्न लागेका हुन्।

भारतले यसअघि भएका साफ महिला च्याम्पियनसिका चारवटै संस्करणको उपाधि उचालेको छ। त्यसबाहेक सुरुका तीनवटै संस्करणमा नेपाललाई फाइनलमा पराजित गर्दै भारतले उपाधि उचालेको थियो। दुईवर्षअघि भएको चौथौ संस्करणमा भने भारतले नेपाललाई सेमिफाइनलमा नै रोक्यो।

तर, पछिल्ला दुई भेटमा भने नेपालले भारतलाई कडा चुनौती दिएको छ। २०१८ को नोभेम्बरमा भएको ओलम्पिक छनोटको प्रारम्भिक चरणको खेलमा नेपालले भारतलाई बराबरीमा रोकेको थियो भने फाल्गुन पहिलो साता भारतमा भएको हिरो गोल्डकपमा नेपालले भारतलाई पहिलोपटक पराजित गरेको थियो।

पछिल्ला दुई प्रतियोगितामा नेपालले भारतविरुद्ध गतिलो फुटबल खेलेकै कारण उपाधि जित्ने विश्वास प्रशिक्षक हरि खड्काको छ।

खेलअघि भएको प्रि–म्याच कन्फ्रेन्समा उनले भने, ‘दक्षिण एसियामा भारत बलियो र स्थापित टोली हो। हामीले पनि फाइनलसम्मको यात्रा तय गरेका छौं। हामीले भारतसँग खेलेका दुई खेलमा एक जित र एक बराबरी छ। त्यसले टिमको मनोवल उच्च देखिएको छ। हामी उनीहरुलाई रोक्दै उपाधि जित्ने प्रयास गर्नेछौं।’

दक्षिण एसियाली फुटबलको इतिहासमा नेपाली पुरुष तथा महिला टोलीले हालसम्म सिनियर स्तरको प्रतियोगिता जित्न सकेको छैन्। त्यसैले भारतलाई हराउँदै फाइनल जितेमा त्यो एक इतिहास बन्नेछ।

तर हेड टू हेडमा भने नेपालभन्दा भारत निकै बलियो देखिन्छ। नेपाल र भारतले हालसम्म १० खेल एकआपसमा खेलेका छन्। जसमा अघिल्लो महिना भएको हिरो गोल्डकपमा मात्रै नेपालले भारतलाई जित्न सकेको थियो। त्यसबाहेक ७ खेलमा पराजित नेपालले दुई खेलमा बराबरी गरेको छ।

आफूहरुले भारतको वर्चस्व तोड्दै सोच बनाएको प्रशिक्षक खड्का बताउँछन्। ‘यसअघिका चार संस्करणमा नेपाल भारतसँगै पराजित छ। भारत अपराजित रहँदै चारै संस्करणको च्याम्पियन टोली पनि हो। हामी साफमा भारतको वर्चस्व तोड्न चहान्छौ। मलाई लाग्छ, भोलि हाम्रो दिन हो,’ प्रशिक्षक खड्काले भने।

भारतीय प्रशिक्षक मायामोल रक्कीले पनि आफूहरुको उदेश्य पाँचौ पटक च्याम्पियन हुने रहेको बताइन्। ‘घरेलु टोलीसँगको फाइनल रोमाञ्चक हुने अपेक्षा गरेका छौं,’ उनले भनिन्, ‘नेपालले राम्रो खेल्ने बलियो टोली हो। घरेलु दर्शकहरुको साथ नेपाललाई रहेपनि जित्नको लागि खेल्नेछौं।’

चर्चामा

सम्बन्धित समाचार