शनिबार, बैशाख ८, २०८१
  • होमपेज
  • राजनीति
  • नेकपा एकता जिल्ला र स्थानीय तहमा एकै चरणमा

नेकपा एकता जिल्ला र स्थानीय तहमा एकै चरणमा

  • शुक्रबार, चैत्र ८, २०७५
नेकपा एकता जिल्ला र स्थानीय तहमा एकै चरणमा

काठमाडौं : सत्तारूढ नेकपाले जिल्ला र स्थानीय तहमा पार्टी एकता एकै चरणमा सक्ने तयारी थालेको छ। जिल्ला कमिटीको अध्यक्ष र सचिवको टुंगो लगाउने जिम्मेवारी पार्टी केन्द्रको भए पनि स्थानीय तहको एकता सम्बन्धित जिल्ला कार्यदल र प्रदेश कमिटीले टुंग्याउने गरी प्रक्रिया अगाडि बढाएको नेकपाले जनाएको छ।

पार्टी एकता भएको दस महिना बितिसक्दा पनि तल्लो तहको एकता प्रक्रिया टुंग्याउन नसक्दा नेकपाका आठ लाख बढी नेताकार्यकर्ता जिम्मेवारीविहीन छन्। नेकपाको एकता ३ जेठमा भएको थियो। त्यसयता नेकपाले केन्द्र र प्रदेश कमिटी मात्र गठन गरेको छ। जिल्ला र स्थानीय तहसम्म एकता टुंग्याउन सकेको छैन। जिल्ला अध्यक्ष र सचिवको टुंगो केन्द्रले लगाउँदा स्थानीय तहको एकता पनि टुंगिने गरी काम भइरहेको नेकपाका नेताहरुले बताएका छन्।

नेकपा स्थायी समिति सदस्य सुवास नेम्बाङले स्थानीय तहमा एकताका लागि दु्रत गतिमा काम भइरहेको बताए। उनले केन्द्रले जिल्ला अध्यक्ष र सचिव टुंग्याउँदासम्म स्थानीय तहको एकता टुंगोमा पुर्‍याइने बताए। ‘जिल्ला अध्यक्ष र सचिव चयनमा प्रक्रिया अड्किएको हो। अध्यक्ष दाहाल अमेरिकाबाट फर्केलगत्तै टुंगिन्छ,’ नेकपा संसदीय दलका उपनेतासमेत रहेका नेम्बाङले भने, ‘अधिकांश स्थानीय तहमा एकता प्रक्रिया टुंगिसकेको छ। जिल्ला अध्यक्ष र सचिव चयन हुदाँसम्म सबै स्थानीय तहमा टुंगिन्छ।’

 नेकपाका कतिपय जिल्ला नेताले चैतसम्म स्थानीय तहको एकता सक्न आन्तरिक सर्कुलर गरेका छन्।

स्थानीय तहमा एकता प्रक्रिया टुंग्याउन सम्बन्धित प्रदेश कमिटीले जिल्ला तहमा कार्यदल गठन गरी प्रक्रिया अगाडि बढाएको छ। जिल्ला कार्यदलले वडा तहसम्मकै एकता टुंगो लगाएको छ। झन्डै तीन दर्जनभन्दा बढी जिल्लाका स्थानीय तहका वडा कमिटीसम्मै एकता प्रक्रिया टुंगिसकेको नेकपाले जनाएको छ। बाँकी जिल्लाका स्थानीय तहमा पनि चैत मसान्तसम्म एकता टुंग्याउने गरी सम्बन्धित जिल्ला कमिटीले आन्तरिक सर्कुलर गरेको नेकपा नेताहरूले बताएका छन्। ‘कतिपय जिल्लाले चैतसम्म स्थानीय तहको एकता टुंग्याउन आन्तरिक सर्कुलर गरेका छन्। त्यहीअनुसार काम अगाडि बढेको छ,’ नेकपाका एक नेताले भने।

उपप्रधान तथा रक्षामन्त्रीसमेत रहेका नेकपाका सचिवालय सदस्य ईश्वर पोखरेलले पनि कतिपय ठाउँमा स्थानीय स्तरबाटै एकताका काम अगाडि बढेको बताए। मदन भण्डारी फाउन्डेसनले राजधानीमा आयोजना गरेको ३ नम्बर प्रदेश स्तरीय भेलालाई बिहीबार काठमाडौंमा सम्बोधन गर्दै पोखरेलले नमिलेका ठाउँमा पनि मिलाउने प्रयास भइरहेको बताए। ‘एकता प्रक्रिया तल्लो तहसम्म स्पष्ट रुपमा मिलाउनुपर्ने आवश्यकता छ। तलबाट मिलेर आएकोमा सहज छ, नमिलेका ठाउँमा मिलाउने प्रयास भइरहेको छ’, पोखरेलले भने।

प्रदेश तीनको शपथ १४ चैतमा

नेकपाले गठन गरेको प्रदेश कमिटी स्थायी समितिबाट अनुमोदन भएको छैन। तर पनि प्रदेश कमिटीका पदाधिकारी तथा सदस्यहरुको शपथ ग्रहण गराउने र बैठक बसाउने काम भइरहेको छ। सात प्रदेशमध्ये ६ प्रदेश कमिटीका सदस्यहरूले पार्टी अध्यक्षकै उपस्थितिमा शपथ ग्रहण गरिसकेका छन्।

प्रदेश ३ मा मात्र प्रदेश पदाधिकारी तथा सदस्यको शपथ ग्रहण बाँकी छ। तीन नम्बर प्रदेशले चैत १४ गते शपथ ग्रहण कार्यक्रम राखेको प्रदेश सहइन्चार्ज हितबहादुर तामाङले वताए। शपथ ग्रहण कार्यक्रम थापागाउँस्थित एक ब्यांकेटमा राखिएको तामाङले बताए।

चर्चामा

सम्बन्धित समाचार