शुक्रबार, बैशाख ७, २०८१
  • होमपेज
  • शिक्षा
  • अध्ययन भिसामा दुई हजार विदेशी नेपालमा

अध्ययन भिसामा दुई हजार विदेशी नेपालमा

  • बिहिबार, चैत्र ७, २०७५
अध्ययन भिसामा दुई हजार विदेशी नेपालमा

अध्ययन भिसामा नेपाल आउने विदेशीको संख्यामा ठूलो वृद्धि भएको छ । २०१८ मा अध्ययन भिसा लिने विदेशीको संख्या अघिल्लो वर्षको तुलनामा ५५ प्रतिशतले बढेको छ । २०१८ मा २ हजार १६ विदेशी (भारतीयबाहेक)ले नेपालमा अध्ययन भिसा लिएका छन् । २०१७ मा १ हजार २ सय ९७ ले यो भिसा लिएका थिए । यसरी नेपाल भित्रिनेहरू अध्ययनभन्दा अन्य गतिविधिमा संलग्न रहेको आशंका अध्यागमन विभागका अधिकारीहरूको छ ।

धेरैजसो धर्म प्रचारमा लागेको उनीहरूको भनाइ छ । ‘अध्ययन भिसा लिनेको संख्या एकदमै बढेको छ, यसमा हामी पनि अध्ययन गर्दै छौँ,’ अध्यागमन विभागका महानिर्देशक ईश्वरराज पौडेल भन्छन्, ‘उनीहरू अन्य गतिविधिमा संलग्न भइरहेका पो छन् कि भन्ने हाम्रो आशंका छ ।’ अध्ययन भिसामा रहेका विदेशीमाथि अनुगमन बढाउन लागिएको उनले बताए । अध्ययन भिसा लिनेमा धेरैजसो युरोप तथा अमेरिकी देशका नागरिक छन् । जापान, कोरिया, चीन, फिलिपिन्स तथा केही अफ्रिकी मुलुकका नागरिक पनि नेपालमा बसेका छन् ।

नेपाली भाषा पढ्न नेपालमा ?
नेपालमा अध्ययन भिसामा रहेका दुई हजार विदेशीमध्ये एक सय ६४ जना विश्वभाषा क्याम्पसमा भर्ना भएका छन् । धेरैजसो नेपाली भाषा पढ्न भनेर भर्ना भएका छन् । क्याम्पसका विदेश विभाग प्रमुख रीतादेवी निरौलाका अनुसार यो सिजनमा भर्ना भएका एक सय ६४ विदेशीमध्ये एक सय ३८ जनाले नेपाली भाषा पढिरहेका छन् । केहीले भने नेवारी र संस्कृत विषय अध्ययन गरिरहेका छन् ।

उनीहरू क्याम्पस भने कहिलेकाहीँ मात्रै जान्छन् । उनीहरू कहाँ बस्छन्, के गर्छन् भन्नेबारे कतैबाट अनुगमनसमेत भएको छैन । अध्ययन भिसाको दुरुपयोग रोक्न विश्वभाषा क्याम्पसले पनि कडाइ गर्नुपर्ने अध्यागमन विभागका अधिकारीहरूको भनाइ छ । कतिपय विद्यार्थी नियमित नरहेको विभागकी प्रमुख निरौलाले बताइन् । तर, उनीहरूमाथि आफूहरूले अनुगमन गर्न सम्भव नभएको उनको भनाइ छ ।

रिसर्चका नाममा पनि ठूलो संख्यामा विद्यार्थीमा नेपालमा बसेका छन् । रिसर्चका नाममा हिमाली जिल्लाहरूमा गएर उनीहरू जासुसीलगायतका गतिविधिमा संलग्न भएको उजुरीसमेत पर्ने गरेको छ । उनीहरू विदेशी धर्म प्रचारमा संलग्न रहेको उजुरी पनि परेको छ । तर, प्रमाण नभेटिँदा कारबाही हुने गरेको छैन ।

विद्यार्थी भिसामा रहेकामध्ये थोरै मात्रै पढाइमै केन्द्रित छन् । बंगलादेश, श्रीलंका, माल्दिभ्सजस्ता देशबाट एमबिबिएसलगायत विषय पढ्न विद्यार्थी आउँछन् । कतिपय भने नेपालीसँग बिहे गरेको र विदेशी नागरिकता पनि त्याग्न नचाहेको अवस्थामा अध्ययन भिसा लिएर नेपाल बस्ने गरेका छन् ।

 अध्यागमन विभागका महानिर्देशक पौडेल भन्छन् ‘अध्ययन भिसा लिनेको संख्या एकदमै बढेको छ, यसमा हामी पनि अध्ययन गर्दै छौँ, उनीहरू अन्य गतिविधिमा संलग्न भइरहेका पो छन् कि भन्ने हाम्रो आशंका छ । ’

सहज प्रक्रियाको दुरुपयोग
नेपालीले विदेशमा अध्ययन भिसा पाउन लाखौँ खर्च गर्नुपर्छ । तर, विदेशीले भने एक हजार डलरभन्दा कममै अध्ययन भिसा पाउने गरेका छन् । विश्वभाषा क्याम्पसले भर्नामा पाँच सय डलर लिने गरेको छ । भिसाबापत मासिक २० डलर तिरे पुग्छ । त्यसबाहेक शिक्षा मन्त्रालयको सिफारिसपछि पनि अध्यागमनले भिसा दिने गरेको छ ।

 विदेशी लगानीका १२ कम्पनीमाथि कारबाही सुरु 

व्यवसायको आवरणमा नेपालमा अवैध गतिविधिमा संलग्न विदेशी लगानीका १२ कम्पनीमाथि कारबाही सुरु भएको छ । उद्योग विभागको अनुगमनमा उद्देश्यविपरीत गतिविधिमा संलग्नमाथि कारबाही अघि बढाइएको हो । १० कम्पनीलाई प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सिआइबी) ले कारबाही गरिसकेको छ । ‘थप दुईवटा कम्पनीले पनि व्यवसायको आवरणमा अन्य गतिविधि गरेको पाइयो,’ उद्योग विभागका महानिर्देशक विनोदप्रकाश सिंह भन्छन्, ‘उनीहरूमाथि पनि कारबाहीका लागि पत्राचार गर्न लागेका छौँ ।’

हिमालयन टेक्नोलोजी सोलुसन, कोरियन ल्याङ्ग्वेज ट्रेनिङ सेन्टर, डिचेन अर्गानिक, इमानुअल लर्निङ सेन्टर, हाम्रो ट्रेनिङ सेन्टर, नेपाल एमभिसिबिएसपी ट्रेकिङ स्टुडियो, होटेल काउन्ट कागमेल, जे सिलनस म्युजिक, स्यालभेसन म्युजिक सेन्टर, क्याफे थोनाफेलगायत कम्पनीका सञ्चालक कारबाहीमा परेका छन् ।

उनीहरूमध्ये धेरैले सम्झौताअनुसार काम नगरेको महानिर्देशक सिंहले बताए । कतिपयले विदेशबाट लगानी ल्याएको भनेर नक्कली बैंक स्टेटमेन्टसमेत पेस गरेको खुलेको छ । लगानी ल्याएपछि मात्र उनीहरूले बिजनेस भिसा पाउँछन् । उद्योग विभागका कर्मचारीले समेत राम्रोसँग नबुझी नक्कली कागजपत्रकै आधारमा बिजनेस भिसा सिफारिस गरेका थिए । उद्योग विभागको सिफारिसमा मात्र अध्यागमन विभागले विदेशीलाई बिजनेस भिसा दिन्छ । पर्यटक भिसामा नेपालमा एक वर्षमा एक सय ५० दिनभन्दा बढी बस्न नपाउने भएकाले अवैध गतिविधिमा बस्नेहरूले बिजनेसलगायत गैरपर्यटक भिसा लिने गर्छन् ।

थोरै लगानीमै बिजनेस भिसा पाउने नियमका कारण समस्या भएको उद्योग विभागका महानिर्देशक सिंह बताउँछन् । हाल ५० लाख रुपैयाँ विदेशी लगानी ल्याए बिजनेस भिसा पाइन्छ । सुरुमा एकैपटक ५० लाख पनि ल्याउनुपर्दैन । थुप्रैले सुरुमा १०–१२ लाख लगानी ल्याउने र बाँकी आउने क्रममा छ भनेर लामो समय नेपालमा बसेर अन्य गतिविधि गर्दै आएका छन् । ‘धेरै लगानी आएका विदेशी कम्पनीमा समस्या छैन,’ महानिर्देशक सिंहले भने, ‘थोरै लगानीका कम्पनीमा धेरै विकृति देखियो ।’ यसैकारण विदेशीले नेपालमा व्यवसाय गर्न कम्तीमा पाँच करोड लगानी ल्याउनुपर्ने प्रावधान राख्न सुझाब दिइएको उनले बताए ।

विगतमा उद्योग विभागबाट समेत प्रभावकारी अनुगमन नहुने भएकाले विकृति बढेको थियो । हाल विभागले अनुगमन बढाएर धमाधम कारबाही थालेको छ । विभागसँग मिलेर आफूहरूले अवैध गतिविधिमा संलग्न विदेशीमाथि अनुसन्धान अघि बढाएको सिआइबीका निर्देशक डिआइजी नीरज शाहीले बताए ।

अध्यागमन बेखबर
भिसाको उद्देश्यविपरीत नेपालमा रहेका विदेशीमाथि कारबाही गर्न उद्योग विभागले गृह मन्त्रालयलाई पत्राचार गरे पनि अध्यागमन विभाग भने यसबारे बेखबर छ । गृहले यसबारे छानबिन र कारबाही गर्न प्रहरीलाई मात्र पत्राचार गरेको छ । उद्देश्यविपरीत गतिविधि गरेमा उनीहरूको भिसा रद्द हुने प्रावधान अध्यागमन नियमावलीमा छ । तर, बिजनेस भिसामा बसेर अवैध गतिविधिमा संलग्न विदेशीबारे गृहले अध्यागमन विभागलाई जानकारी नै गराएको छैन ।

नयाँ पत्रिका दैनिकबाट

चर्चामा

सम्बन्धित समाचार