शुक्रबार, बैशाख ७, २०८१
  • होमपेज
  • प्रवास
  • बंगलादेशको ‘कविता कुम्भ’ मा नेपालको उपस्थिति

बंगलादेशको ‘कविता कुम्भ’ मा नेपालको उपस्थिति

  • सोमवार, चैत्र ४, २०७५
बंगलादेशको ‘कविता कुम्भ’ मा नेपालको उपस्थिति

बङ्गलादेशको कविता कुम्भ भनेर चिनिने राष्ट्रिय कविता उत्सव हालै सम्पन्न भएको छ । फेब्रुअरी १ र २ तारिखमा ढाकामा सम्पन्न उत्सवमा नेपालबाट पनि सहभागिता भएको छ ।
सन् १९८७ मा मूलतः दुव्र्यवहार र अत्याचारका विरुद्धमा यो कविता उत्सवको शुरु भएको हो । यस वर्षको उत्सव सन् १९६९ को जनविद्रोहको ५० वर्ष पुगेको बेला यसका शहिदहरूको सम्मानमा समर्पित थियो । बङ्गलादेशका राष्ट्रकवि काजी नजरूल इस्लाम, कलाविद् जैनूल अवेदीन, पतुवा कमरूल हसन तथा भाषा आन्दोलनका अन्य शहिदप्रति श्रद्धाञ्जली अर्पणपछि कविता उत्सवको उद्घाटन गरिएको थियो ।
बङ्गलादेशका प्रख्यात् कवि असद चौधरीले राष्ट्रिय कविता उत्सवको उद्घाटन गरेका थिए । साहित्यको एउटा विधा कविताले बङ्गलादेशीहरूको स्वतन्त्रतामा ठूलो भूमिका खेलेको उल्लेख गर्दै बङ्गलादेशीहरूका लागि कविता अन्याय, अत्याचार र हिंसाका विरूद्धको पे्ररणा रहेको उनले बताए ।
बङ्गालीहरूको जीत भनेको कविताको जीत हो भन्ने मूलः विषय रहेको उत्सवमा देशभरका चार सयभन्दा बढी कविहरूले कविता पाठ गरेका थिए । बङ्गाली कविका अतिरिक्त कविता उत्सवमा नेपाल, भारत, टर्की, कङ्गो, स्पेन, इराक, श्रीलङ्का, युके, स्वीडेन, मालद्वीप, मलेसिया र उरुग्वे गरी १२ देशका १९ जना कविहरूको सहभागिता थियो ।
जातीय कविता परिषद्का अध्यक्ष, ढाका विश्वविद्यालयका भाइस् चान्सलर मोहम्मद समादले फेब्रुअरी १ लाई कविता दिवसका रूपमा घोषणा गर्न अनुरोध गरे । परिषदमा महासचिव तारिक सुजातले बङ्गाली कविहरू सँधै प्रगतिको पक्षमा रहेको बताउँदै प्रत्येक आन्दोलनको पछि कविताको ठूलो हात रहेको बताए ।
कवितामार्फत् पुर्‍याएको योगदानको कदर गर्दै कवि हबिवुल्लाह सिराजीलाई कार्यक्रममा सम्मान गरिएको थियो । कविता उत्सवमा कविता पाठ, कवि र कविता विषयमा कविता सेमिनार, छलफल तथा कविताका पुस्तकहरूको प्रदर्शनी भएको थियो ।
त्यहाँ फेब्रुअरी १ तारिखदेखि शुरू भएको किताव मेला एक महिनासम्म चल्नेछ । मेलामा सातसय भन्दा बढी प्रकाशन गृह तथा संस्थाहरूका ९४९ बढी स्टलहरू रहेका छन् । जसमा अधिकतम् बङ्गाली भाषाका किताबहरू पाइन्छन् भने केही स्टलहरूमा अङ्ग्रेजी भाषामा लेखिएका पुस्तकहरूपनि रहेका छन् । सो पुस्तक मेलामा गत वर्ष ८६ करोडको कारोबार भएको थियो भने यस वर्ष अर्ब नाघ्ने बङ्गला अकाडेमीले जनाएको छ ।
नेपाल स्रष्टा समाजकी महासचिव पुष्पा खनाल सो कुम्भ मेलामा सहभागी भइन् । उनी राष्ट्रिय कविता परिषद, बङ्गलादेशको निमन्त्रणामा ढाका गएकी हुन् ।
देशकै ठूलो कविता उत्सवमा आफूलाई निमन्त्रणा गरेकोमा आयोजकलाई धन्यवाद दिँदै खनालले यस्तो कार्यक्रमले दुई देशको साहित्यिक सम्बन्धलाई अझ प्रगाढ बनाउने बताइन् । उनले भनिन्, मजस्तो साहित्यको विद्यार्थीले अन्तर्राष्ट्रिय स्तरमा आयोजना हुने कार्यक्रममा भाग लिन पाउनु अहोभाग्य हो । यसले मेरो देशको प्रतिनिधित्व त भयो नै; मेरो आफ्नो साहित्यिक उचाईलाई पनि बढाइदिएको छ ।’
यस्ता कार्यक्रमहरूको माध्यमबाट नेपाली साहित्यलाई विश्वबजारमा पुर्‍याउन सहयोग पुग्ने पनि उनले बताइन् । कार्यक्रममा खनालले अङ्ग्रेजी भाषामा अनुवाद गरिएका दुईवटा कविता पनि वाचन गरेकी थिइन् ।

चर्चामा

सम्बन्धित समाचार