• होमपेज
  • सुचना प्रबिधी
  • विदेश यात्रामा ध्यान दिनुपर्ने तीन प्रमुख कुरा

विदेश यात्रामा ध्यान दिनुपर्ने तीन प्रमुख कुरा

  • मङ्लबार, फाल्गुन २८, २०७५
विदेश यात्रामा ध्यान दिनुपर्ने तीन प्रमुख कुरा

यात्रामा जाँदा आफ्नो ‘सपोर्ट सिस्टम’ नै घरमा छोडेर निस्कनुपर्छ । खाना, औषधि, पैसा र सूचनामाथिको नियमित पहुँच नभएपछि मात्रै तिनको वास्तविक महत्वबारे थाहा हुन्छ ।

भाग्यवश, यात्रा गरिने प्रत्येक सहरमा आफ्नो आधारभूत आवश्यकताहरूको कुनै न कुनै विकल्प अवश्य पाइन्छ । विदा मनाउन होस् वा कामको सिलसिलामा, आफू बसेको होटेल नजिकै तीन प्रमुख स्थानहरू पत्ता लगाए यात्रा सहज हुनेछ । सहरमा हुनसक्ने अधिकांश समस्याहरूको सहज समाधानका लागि तपाईं तयार हुनुहुनेछ । उसो भए के गर्ने त ?

सबैभन्दा पहिले औषधि पसल खोज्नुहोस् 

यात्रुका लागि औषधि पसलभन्दा उपयोगी अरू केही हुँदैन । यात्रा गर्दा एकाध औषधि बोक्न पाइने भए पनि कहाँ र कतिबेला के हुन्छ भन्न सकिँदैन । खुट्टा मर्किए, रूघा लागे कहाँ उपचार गराउने र कहाँबाट औषधि ल्याउने भन्ने थाहा पाउनु जरूरी छ ।

धेरैजसो औषधि पसलमा वा बिक्री केन्द्रमा विभिन्न थरीका खानेकुरा, पेय पदार्थ र अन्य सामग्रीहरू पनि उपलब्ध हुन्छन् । यात्रामा ‘फ्रिज’ लैजान सकिँदैन । रेस्टुरेन्टहरू महँगा हुन्छन् । कुनै स्थानमा लामो समय बस्नु परे राम्रो ‘ग्रोसरी स्टोर’ खोज्नुहोस् । तर केही दिन वा एक साताका लागि हो भने, हल्काफुल्का खाना पाइने स्थानबारे थाहा पाउनु एकदमै उपयोगी हुन्छ । कुनै औषधि पसल त चौबीसै घण्टा खुला हुन्छन् । त्यसैले अन्य पसलहरू बन्द भए पनि केही न केही किन्न पाइहालिन्छ ।

त्यसपछि एटिएम (वा पैसा साट्ने स्थान) पत्ता लगाउनुहोस् 

आन्तरिक यात्रा हो भने क्रेडिट वा डेबिट कार्डले काम चलिहाल्छ । नगद चाहिए प्रायः औषधि पसलभित्र एटिएम हुन्छन् । एक पन्थ दुई काज । सेवा शुल्क नलिने एटिएम भेटिए सुनमा सुगन्ध ।

विदेश यात्रा गर्नेहरूका लागि यो अझ महत्वपूर्ण हुन्छ । बैंक वा विमानस्थलमा स्थानीय मुद्रा त पाइन्छ तर भइपरि आउने परिस्थितिलाई कसले पो टार्न सक्छ र ! नजिकको औषधि पसलमा एटिएम छैन भने सस्तो सेवा शुल्कमा पैसा साट्ने स्थान पत्ता लगाउनुहोस् ।

अन्तिममा वाइफाइ हटस्पट पत्ता लगाउनुहोस् 

सूचनाको सहज र निरन्तर पहुँच भए बिरानो सहरमा गन्तव्य तय गर्न सजिलो हुन्छ । घरमा त फोनबाटै सबै जानकारी पाइहालिन्छ । यात्रामा हुँदा नेटवर्क हराए वा डाटा शुल्क बचाउन आफू नजिक भएको हटस्पट थाहा पाइराखे सहयोग मिल्दछ । हुनलाई त होटेलमा वाइफाइ उपलब्ध हुन्छ नै, तर उति भरपर्दाे नहुनसक्छ, भए पनि साहैं महँगो हुनसक्छ ।

आफू बसेको होटेल नजिकै खुला र निःशुल्क वाइफाइ हटस्पट भेटिए ढुक्क होइन्छ । अझ महत्वपूर्ण कुरा, लामो समयसम्म होटेलभन्दा बाहिर बस्नुपर्नेछ भने आफू दिनभरि बस्ने ठाउँ नजिकै वाइफाइ हटस्पट पत्ता लगाउनुहोस् ।

सबैभन्दा सजिलो तरिका त निःशुल्क वाइफाइ भएको कुनै रेस्टुरेन्ट वा कफी पसल पत्ता लगाउनु नै हो तर फोरस्क्वायरजस्तो क्राउडसोर्स गरिएको एपले पनि त्यस्ता नेटवर्क खोज्न सजिलो बनाउँछ ।

चर्चामा

सम्बन्धित समाचार