शुक्रबार, बैशाख १४, २०८१
  • होमपेज
  • शिक्षा
  • सरकारी स्कुलको बिजोग, एउटा कोठामा तीनवटा कक्षा सञ्चालन

सरकारी स्कुलको बिजोग, एउटा कोठामा तीनवटा कक्षा सञ्चालन

  • आइतवार, फाल्गुन २६, २०७५
सरकारी स्कुलको बिजोग, एउटा कोठामा तीनवटा कक्षा सञ्चालन

तनहुँको घिरिङ गाउँपालिका–४ साभुङस्थित राजपुर प्राथमिक विद्यालयमा एउटै कोठामा तीन कक्षा सञ्चालन गरिएको छ । विसं २०७२ को भूकम्पले विद्यालय भवन क्षतिग्रस्त बनाएपछि भवन अभावमा एउटै कोठामा तीन कक्षा सञ्चालन गर्नुपर्ने बाध्यता रहेको हो ।

विद्यालयका प्रधानाध्यापक डम्बरसिं थापाले कोठा अभावमा कक्षा १, २ र ३ का विद्यार्थीलाई एउटै कोठामा राखेर पढाउनुपरेको बताउनुभयो । उहाँका अनुसार कक्षा ४ र ५ का विद्यार्थीलाई समेत अर्को एउटा कोठामा राखेर पढाउनुपर्ने बाध्यता रहेको छ । उहाँले भन्नुभयो, “भूकम्पले भवन क्षतिग्रस्त बनायो, नयाँ भवन बनिरहेको छ । भवन सम्पन्न नभएसम्म वैकल्पिक व्यवस्थाको रूपमा एउटै कोठामा राखेर कक्षा सञ्चालन गरिरहेका छौँ ।”

चार मात्र कोठा रहेको उक्त विद्यालयको भवनको एउटा कोठामा कार्यालय सञ्चालन गरिएको छ भने अर्को कोठामा बालविकास केन्द्र सञ्चालन भइरहेको छ । बाँकी दुई कोठामा बहुकक्षा शिक्षण पद्धतिको प्रयोग गर्दै तीन वटासम्म कक्षाका विद्यार्थी राखेर पढाउनुपर्ने बाध्यता रहेको विद्यालयका शिक्षिका सावित्री विकले जानकारी दिनुभयो ।

एउटै कोठामा धेरै कक्षाको विद्यार्थी राखेर पढाउनुपर्दा विद्यार्थीमा शिक्षण सिकाइ उपलब्धि नहुने हो कि भन्ने चिन्ता लागेको उहाँले बताउनुभयो । उहाँले भन्नुभयो, “एउटा कक्षालाई पढाइरहँदा अर्को कक्षाको विद्यार्थीले सोध्छन्, अनि अर्को कक्षाकाले जवाफ दिन्छन् । हामीलाई पनि पढाउन समस्या भइरहेको छ ।”

उहाँका अनुसार यस्तो अवस्थामा पाठ्यपुस्तकभन्दा पनि विषय मिल्ने पा्ययक्रमलाई जोड दिएर पढाउने गरिएको छ । तीन शिक्षक रहेका उक्त विद्यालयमा कक्षा ४ र ५ को लागि एकै शिक्षकले पढाउँछन् भने कक्षा १, २ र ३ को लागि भने दुई शिक्षक÷शिक्षिका नै जानुपर्ने बाध्यता रहेको शिक्षिका मनकुमारी श्रेष्ठले बताउनुभयो । कक्षा १ र ३ को पा्ययक्रममा केही भिन्नता भएका कारण दुई शिक्षिका नै चाहिने उहाँले बताउनुभयो ।

कक्षा ५ मा अध्ययनरत छात्रा मनिषा थापाले एउटै कोठामा फरक–फरक कक्षाका विद्यार्थी बसेर अध्ययन गर्दा अध्ययन प्रभावकारी नभएको बताए । एकै जना शिक्षकले दुई कक्षाका विद्यार्थीलाई एकैचोटी पढाउँदा पढाएको बुझ्नसमेत समस्या भएको उनले बताए ।

भूकम्पले विद्यालय भवन क्षति भएपछि राष्ट्रिय पुनःनिर्माण प्राधिकरण जिल्ला आयोजना कार्यान्वयन एकाइ ९शिक्षा० को सहयोगमा विद्यालय भवन पुनःनिर्माण भइरहेको एकाइ प्रमुख सूर्य क्षेत्रीले जानकारी दिनुभयो । दुईकोठे निर्माणाधीन भवनको काम आगामी शैक्षिकसत्रको शुरुआतसम्म सकिने क्षेत्रीले बताउनुभयो । उहाँले भन्नुभयो, “भवन निर्माण भएपछि एउटै कोठामा धेरै कक्षाका विद्यार्थी राखेर पढाउनुपर्ने समस्या केही भए पनि हल हुन्छ ।” रासस

चर्चामा

सम्बन्धित समाचार