आइतवार, बैशाख २३, २०८१
  • होमपेज
  • राजनीति
  • सिके राउतसँगको सम्झौताले प्रत्येक नेपालीको शिर झुकेको छ: भीम रावल

सिके राउतसँगको सम्झौताले प्रत्येक नेपालीको शिर झुकेको छ: भीम रावल

  • आइतवार, फाल्गुन २६, २०७५
सिके राउतसँगको सम्झौताले प्रत्येक नेपालीको शिर झुकेको छ: भीम रावल

काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का स्थायी समिति सदस्य भीम रावलले सरकारले सिके राउतसँग गरेको सम्झौताले प्रत्येक स्वाभिमानी नेपालीको शिर झुकेको बताउनु भएको छ ।

जनता टेलिभिजनको कार्यक्रम ‘विशेष सम्वाद’मा नेता रावलले भन्नुभयो, ‘कहीँ नभएको ‘स्वतन्त्र मधेस’लाई मान्यता दिने काम भयो ।’ नेता रावलले भन्नुभयो, ‘सिके रावतसँग हुन लागेको सहमतिको भाषा गलत छ, म अन्तर्राष्ट्रिय कानुनको विद्यार्थी पनि हुँ, यस्तो शब्द हुनुहुन्न भनेँ, तर यस्तो दबाब आएछ कि, सहमतिका कुनै पनि शब्द हटाउने त परको कुरा ह्रश्वदीर्घ र कमासमेत नहटाउने भन्ने भनिएको रहेछ ।’

‘सहमति हुन लागेको खबरपछि प्रधानमन्त्री केपी ओलीलाई सम्पर्क गरेँ, सम्पर्क हुन सकेन, अर्का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डलाई फोन गरेर आफ्ना कुरा राखेँ, उहाँले सचिवालयमा मेरो भनाइ राख्नु भयो कि भएन, थाहा भएन, तर यति सम्झनुहोस्, नेकपा सचिवालयमा प्रधानमन्त्री नै भएका नेताहरु हुनुहुन्छ, उहाँहरुलाई पनि थाहा दिइएन,’ नेता रावलले भन्नुभयो, ‘सहमतिका सबै बुँदाहरुले स्वाभिमानी मुलुकसरह अर्को स्वतन्त्र मधेससँग सम्झौता गरेको जस्तो देखिएको छ ।’

‘चुनाव ४ वर्षपछि हुने हो,’ रावलले भन्नुभयो, ‘जनमत संग्रह भनेका छन् राउतले, यदि यसो हो भने, यो देश टुक्र्याउने मृत्युपत्रमा हस्ताक्षर हो ।’ ‘सिके राउतले कतै मैले गरेको काम गल्ती थियो भनेका छैनन्, उनका डकुमेन्टहरु इन्टरनेटबाट हटाउने भनिएको छैन,’ रावलले भन्नुभयो, ‘म नेपालको कानुन मान्छु, शान्ति प्रक्रियामा आउँछु भनेर एउटा वक्तव्यसमेत आएन र दुर्भाग्यपूर्ण सहमति भएको छ ।’

‘पाँच महिना जेल बसेका सिके राउतले दुई तिहाइका प्रधानमन्त्रीलाई कटाक्ष गरे,’ रावलले भन्नुभयो, ‘अनि प्रधानमन्त्रीले राउतको प्रशंसा गर्दै प्रचण्डसँग तुलना गर्दै व्यंग्य गर्नु भयो ।’ ‘यस्तो गम्भीर विषयमा पार्टीमा छलफल हुँदैन, डिफेन्स गर्न पर्ला भनेर होला,’ रावलले भन्नुभयो, ‘प्रधानमन्त्रीले पार्टीको बैठक बोलाउनु भयो स्थायी कमिटी बैठक, केन्द्रीय कमिटी बैठकले यो सम्झौता खारेज गर्ने छ । नत्र देश टुक्र्याउने बाटोमा दुई तिहाइकै सरकारले बाटो खोलेको छ, समस्या समाधान गरेको भन्नु दुःखद् भयो ।’

‘बलियो राज्यले यस्तो सम्झौतै गर्दैन,’ रावलले भन्नुभयो, ‘देशद्रोह गर्ने, तिनीहरुको परिवारलाई जागिर दिने ? यो कस्तो सम्झौता हो ?’ कुराकानीको पूरा भाग हेर्नुहोस्ः

चर्चामा

सम्बन्धित समाचार