शनिबार, बैशाख ८, २०८१
  • होमपेज
  • देश/प्रदेश
  • बैतडीकामा दर्जन बढी शिवालयमा मेला, भक्तजनको भीड

बैतडीकामा दर्जन बढी शिवालयमा मेला, भक्तजनको भीड

  • सोमवार, फाल्गुन २०, २०७५
बैतडीकामा दर्जन बढी शिवालयमा मेला, भक्तजनको भीड

बैतडी, फागुन २० । महाशिवरात्रीको अवसरमा बैतडीका १ दर्जन बढी शिवमन्दिर तथा शिवालयमा भव्य मेला लागेको छ ।

जिल्लाको प्रसिद्ध पातालभुमेश्वर धाम, ईश्वरी गंगा धाम, सिगास धुरा धाम, त्रिवेणी धाम, स्वर्गेनी पीपल धाम, देवलहाट तथा बैतडी दार्चुलाको सीमामा रहेको गोकुलेश्वरमा भव्य मेला लागेको छ । यसका साथै खोड्पे, सनशेरीमाण्डौं, शंकरपुर लगायत अन्य शिवमन्दिरहरुमा मेला लागेको छ ।

महाशिवरात्री मेलामा बिहानैदेखि दर्शनार्थीको घुइँचो लागेको मेला व्यवस्थापन समितिले जनाएका छन् । ईश्वरी गंगा धाममा रुद्रभिषेक सहित मेला लागेको स्थानीय कर्णबहादुर चन्दले जानकारी दिए । यस्तै मेलालाई मध्यनजर गरी मेला अवधीभर शिवालय क्षेत्रमा मदिरा बेचबिखन तथा सेवनमा रोक लगाइएको छ ।

यसैबिच मेलामा हुनसक्ने अपराधिक क्रियाकलाप हुन नदिन सुरक्षा व्यवस्था कडा पारिएको जिल्ला प्रहरी कार्यालय बैतडीका प्रहरी नायव उपरिक्षक नेत्रमणी गिरीले बताए ।

हिन्दु धर्मावलम्वीले शिव उत्पत्ति भएको रातका नामबाट नामकरण भएको महाशिवरात्री प्रत्येक वर्षको फागुन कृष्ण चतुर्दशीका दिन मनाइने प्रचलन छ । कालरात्रि, मोहरात्रि, सुखरात्रि र शिवरात्रि नामक चार प्रमुख रात्रिमध्ये एक पवित्र पर्वका रूपमा यसलाई पुराणमा वर्णन गरिएको छ ।

सैनिक दिवस पनि मनाइँदै
नेपाली सेनाले बैतडीमा पनि सैनिक दिवस भव्यताका साथ मनाइदैछ । हरेक बर्ष महाशिवरात्रीका दिन मनाइने सैनिक दिवस सोमवार बैतडीमा पनि मनाईन लागिएको हो ।

बैतडीस्थित शत्रुर्मदन गुल्मले विभिन्न सांस्कृतिक कार्यक्रमका साथ सैनिक दिवस मनाउन लागेको शत्रुर्मदन गुल्मका गुल्मपती सेनानी पे्रम बहादुर गिरीले जानकारी दिए ।

नेपाली सेनाले दिइरहेको राष्ट्रिय सेवा दल(एनसिसि) तालिम लिएका बैतडीको देहिमाण्डौंस्थित निंग्लाशैनी माध्यमिक विद्यालय , शाहिलेकस्थित विरेन्द्र मावि र सुन्दरखालीस्थित दशरथचन्द माविका विद्यार्थीहरुले पनि आफ्नो प्रस्तुती राख्ने भएका छन् ।

यसका साथै एकल महिलाहरुलाई पनि सैनिक दिवसको अवसरमा बिषेश आमन्त्रण गरिएको छ । यसअघि शनिवार सैनिक दिवसको पुर्वसन्ध्यामा भलिबल प्रतियोगिता समेत सञ्चालन गरिएको थियो । नेपाली सेनाले दुई दशकअघिदेखि महाशिवरात्रिको दिनलाई सेना दिवसका रूपमा मनाउँदै आएको छ ।

सुदूरखबर

चर्चामा

सम्बन्धित समाचार