शुक्रबार, बैशाख ७, २०८१
  • होमपेज
  • अर्थ/वाणिज्य
  • जीवन बिमा कम्पनीको खुद बिमाशुल्क आम्दानी २९ अर्ब

जीवन बिमा कम्पनीको खुद बिमाशुल्क आम्दानी २९ अर्ब

  • सोमवार, फाल्गुन २०, २०७५
जीवन बिमा कम्पनीको खुद बिमाशुल्क आम्दानी २९ अर्ब

चालू आर्थिक वर्ष ०७५/७६ को दोस्रो त्रैमासमा जीवन बिमा कम्पनीहरूले २९ अर्ब १० करोड रुपैयाँ खुद बिमा शुल्क आर्जन गरेका छन् । कम्पनीहरूले प्रकाशन गरेको वित्तीय विवरणका नेपालमा सञ्चालित जीवन बिमा कम्पनीहरूमध्ये पुस मसान्तसम्ममा नेपाल लाइफ इस्योरेन्स कम्पनीले सबैभन्दा धेरै १० अर्ब ४७ लाख रुपैयाँ खुद बिमाशुल्क संकलन गरेको छ ।

त्यसैगरी लाइफ इन्स्योरेन्स कर्पोरेसन नेपालले ५ अर्ब ७८ करोड, नेसनल लाइफ इन्स्योरेन्सले २ अर्ब ९८ करोड रुपैयाँ खुद बिमा शुल्क आर्जन गरेको छ ।

तुलनात्मक रूपमा नेपालमा बिमासम्बन्धी चेतनाको स्तर बढेको तथा नयाँ कम्पनीहरू थपिएकाले पनि बिमा व्यवसाय बढ्दै गएको बिमा समितिका निमित्त कार्यकारी निर्देशक राजुरमण पौडेलले बताए ।

करिब ६३ लाख बिमालेख कायम
जीवन बिमा कम्पनीहरूले करिब ६३ लाख बिमालेख जारी गरेका छन् । चालू आवको पुस महिनासम्ममा २० जीवन बिमा कम्पनीमा ६२ लाख ८८ हजार ५ सय २४ बिमालेख कायम रहेको छ । जीवन बिमा कम्पनीले १६ लाख ६६ हजार ८ सय ७६ बिमालेख जारी गरको छ भने ४ लाख ६१ हजार ३८६ कायम रहेको छ । नेपाल लाइफ इन्स्योरेन्स कम्पनीमा भने १२ लाख ९ हजार ७२० बिमालेख कायम रहेको छ । लाइफ इन्स्योरेन्स कर्पोरेसनमा ७ लाख २५ हजार ७३ कायम रहेको छ भने नेसनल लाइफ इन्स्योरेन्स कम्पनीमा ७ लाख १४३ बिमालेख कायम रहेको छ ।

साढे २ अर्ब भुक्तानी नै भएन 
जीवन बिमा कम्पनीहरूमा परेको कुल दाबीमध्ये करिब साढे २ अर्ब रुपैयाँ अझै भुक्तानी भएको छैन । चालू आवको दोसो त्रैमास अवधिसम्ममा कम्पनीहरूले भुक्तानी गर्न बाँकी रहेको रकम २ अर्ब ५५ करोड रुपैयाँ छ । कम्पनीहरूमा परेको कुल दाबी संख्यामध्ये ४ सय ७३ वटा दाबीबापत उक्त रकम भुक्तानी हुन बाँकी रहेको हो । कम्पनीहरूले प्रकाशन गरेको वित्तीय विवरणअनुसार नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको भुक्तानी गर्न बाँकी रकम १ अर्ब ७८ करोड रुपैयाँ रहेको छ । यो रकम अन्य कम्पनीको तुलनामा अधिक हो । लाइफ इन्स्योरेन्स कम्पनीको २ करोड ६८ लाख र २४ करोड ८२ लाख रुपैयाँ दाबी भुक्तानी हुन बाँकी छ ।

डेढ खर्ब नाघ्यो बिमा कोष
जीवन बिमा कम्पनीहरूको बिमा कोष बढ्दै गएको छ । चालू आवको दोस्रो त्रैमास अवधिमा कम्पनीहरूको बिमा कोष १ खर्ब ७९ अर्ब रुपैयाँ पुगेको छ । नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको मात्रै ५६ अर्ब ७३ लाख रुपैयाँ पुगेको छ । नेसनल लाइफ इन्स्योरेन्स कम्पनीको २३ अर्ब ७१ करोड रुपैयाँ बिमा कोषमा जम्मा भएको छ भने लाइफ इन्स्योरेन्स कर्पोरेशनको ४८ अर्ब ६८ करोड रुपैयाँ रकम बिमा कोषमा थुप्रिएको छ ।

जीवन बिमा कम्पनीले गरे ११ अर्ब दाबी भुक्तानी 

जीवन बिमा कम्पनीहरूले हालसम्म ११ अर्ब ५२ करोड रुपैयाँ दाबी भुक्तानी गरेका छन् । कम्पनीमा परेको कुल दाबी संख्यामध्ये ५९ हजार ९ सय १३ वटा दाबीबापत कम्पनीले उक्त रकम भुक्तानी गरेका हुन् । चालू आवको दोस्रो त्रैमास अवधिमा कम्पनीहरूले ५ अर्ब ४२ करोड रुपैयाँ दाबी भुक्तानी गरेका छन् । लाइफ इन्स्योरेन्स कर्पोरेशनले १ अर्ब ४५ करोड रुपैयाँ भुक्तानी गरेको छ । मेट लाइफ इन्स्योरेन्स कम्पनीले १ अर्ब २८ करोड र नेसनल लाइफ इन्स्योरेन्स कम्पनीले १ अर्ब २६ करोड रुपैयाँ भुक्तानी गरेको छ ।

चर्चामा

सम्बन्धित समाचार