• होमपेज
  • सुचना प्रबिधी
  • अर्काको नामको सिम प्रयोग गर्न नपाइने

अर्काको नामको सिम प्रयोग गर्न नपाइने

  • सोमवार, फाल्गुन २०, २०७५
अर्काको नामको सिम प्रयोग गर्न नपाइने

काठमाडौं : अरुको नाममा रहेको सिमकार्ड प्रयोग गर्न नपाइने गरी नेपाल दूरसञ्चार प्राधिकरणले कार्यविधि तयार पारेको छ। ‘ई–केवाईसी सिस्टम’ को कार्यविधिमा प्राधिकरणले अर्काको नाममा रहेको सिमकार्ड प्रयोग गर्न नमिल्ने गरी व्यवस्थापन गर्न लागेको हो।

अर्काको नाममा रहेको सिमकार्ड प्रयोग गरी आपराधिक क्रियाकलाप गर्ने प्रचलन बढेको भन्दै प्रधानमन्त्री कार्यालयबाट गुनासो आएकाले त्यसलाई सम्बोधन गर्न ई–केवाईसी सिस्टम लागू गर्न लागिएको प्राधिकरणले जानकारी दिएको छ। प्राधिकरणका प्रवक्ता मीनप्रसाद अर्यालका अनुसार प्राधिकरणले ‘ई–केवाईसी सिस्टम’ ल्याउन लागेको छ।

मिसकार्ड दुरुपयोग गर्ने, एउटैको नाममा धेरै सिमकार्ड लिनेलगायत प्रवृत्ति रोक्न ई–केवाईसी सिस्टम ल्याउन लागिएको अर्यालले बताए। ‘उक्त सिस्टमको पहिलो चरणमा कार्यविधि तयार भएको छ। ‘कार्यविधिमा चरणबद्ध छलफल आवश्यक छ’, अर्यालले भने, ‘कार्यविधिमा छलफल आवश्यक भए पनि यसले अरुको नाममा रहेको सिमकार्ड प्रयोगलाई निरुत्साहित गर्नेछ।’ अर्कोतर्फ एउटै व्यक्तिको नाममा धेरै सिमकार्ड पनि निकाल्न नमिल्ने हुन सक्ने देखिएको छ। कार्यविधिमा एउटा व्यक्तिको नाममा कति सिमकार्ड लिन पाउन/नपाउने भनी अहिले नै उल्लेख नभए पनि त्यसमा छलफल गरेर तोक्न सकिने अर्यालले बताए।

‘अहिले ६ वटा सेवा प्रदायक कम्पनी छन्’, अर्यालले भने, ‘ग्राहकले आफूले रोजेर सेवा लिन पाउँछन्। तर, प्रत्येक सिमाकार्ड लिदाँ सबैका लागि छुट्टाछुट्टै फारम भर्नुपर्ने सिस्टम छ। यो झन्झटिलो भएकाले सेन्ट्रल डाटावेस तयार पारेर डिजिटल फिंगर प्रिन्ट र डिजिटल फोटो लिने व्यवस्था गर्न लागिएको हो।’ सेन्ट्रल डाटावेस प्राधिकरणमा रहनेछ। त्यसलाई राष्ट्रिय परिचयपत्रको डाटावेसमा जोडिने अर्याल बताउँछन्।

अर्काको नामको सिमकार्ड प्रयोग गरी आपराधिक क्रियाकलाप गर्ने प्रचलन बढेपछि त्यसलाई नियन्त्रणको प्रयास गर्न लागिएको हो।

सेन्ट्रल डाटावेस तयार भएसँगै ग्राहकले सिमकार्ड लिन चाहेमा पसलमा गएर फिंगरप्रिन्ट र फोटो खिचाएर मात्र लिन पाउने हुन्छ। सरकारसँग रहेको डाटावेससँग दाँजेर मात्रै सिमकार्ड दिइनेछ। यो हुँदा सिमकार्ड जसको नाममा छ, उसैलेमात्र क्लेम गर्नुपर्ने हुन्छ। यस सिस्टममा एउटा व्यक्तिका नाममा पहिले नै कतिवटा सिमकार्ड गएको छ भन्ने तथ्यांक संकलन हुने भएकाले त्यसमा पनि कडाइ गर्न सकिनेछ।

नयाँ मात्र नभएर यो पुराना सिमकार्डमा पनि यो नियम लागू हुनेछ। पुरानो सिमकार्ड प्रयोगकर्ताले पनि आफ्नो सिमकार्ड पुनःदर्ता गर्नुपर्ने हुन्छ। त्यसका लागि पसलमा फिंगरप्रिन्ट र फोटो खिच्ने सिस्टम जडान गरी समय अवधि तोकेर जानकारी दिइने अर्यालले बताए। यसले एकातिर ग्राहकले बुझाएको काजगपत्र सक्कल हो वा होइन भन्ने समस्या र सिम डुब्लिकेसनको समस्या समधान हुनेछ। ‘अहिले पसलबाटै सिमकार्ड लिन मिल्ने भएकाले पसलेले सही कागजात लिएको छ/छैन भन्ने तथ्यांक आउन सक्दैन’, अर्यालले भने, ‘अहिले १० वटा फोटोकपी गरेर १० वटा सिमकार्ड लिन सकिन्छ। १० वटा मिसकार्ड लिएर त्यसबाट आपराधिक काम पनि गर्न सक्ने भएकाले त्यसलाई चिरेर मोबाइल प्रयोगकर्ता सही हुन, सेवा विश्वासिलो होस् भनेर यसको सुरुवात गर्न खोजिएको हो।’

चर्चामा

सम्बन्धित समाचार