• होमपेज
  • देश
  • अधिकारीको पार्थिव शरीर धुम्बाराहीमा, आजै पशुपतिमा अन्त्येष्टि

अधिकारीको पार्थिव शरीर धुम्बाराहीमा, आजै पशुपतिमा अन्त्येष्टि

  • आइतवार, फाल्गुन १९, २०७५
अधिकारीको पार्थिव शरीर धुम्बाराहीमा, आजै पशुपतिमा अन्त्येष्टि

काठमाडौं : पूर्वअर्थमन्त्री एवंम् नेकपाका नेता भरतमोहन अधिकारीको पार्थिव शरीरलाई श्रद्धाञ्जलीका लागि पार्टी कार्यालय धुम्बाराहीमा राखिएको छ। पार्टी कार्यालय धुम्बाराहीमा आइतबार बिहान ९ बजेबाट सुरु भएको श्रद्धाञ्जली सभामा अधिकारीको पार्थिव शरीरमा प्रधानमन्त्री केपी शर्मा ओली र नेकपा अध्यक्ष पुष्पकमल दाहाल “प्रचण्ड’ले संयुक्त रुपमा पार्टीको झण्डा ओढाएका छन् ।

अधिकारीप्रति श्रद्धाञ्जली अर्पण गर्न नेता, कार्यकर्ताहरुको घुइँचो लागेको छ । उनको पार्थिव शरीरलाई मध्याह्न १२ बजेसम्म पार्टी कार्यालयमा राखिने र त्यसपछि शवयात्रा गर्दै आजै पशुपति आर्यघाटमा दाहसंस्कार गरिने नेकपाले जनाएको छ।

आइतबार बिहान प्रधानमन्त्री निवास बालुवाटारमा बसेको नेकपा सचिवालय बैठकले नेता अधिकारीको निधनको शोकमा तीन दिन पार्टीको झण्डा आधा झुकाउने र पार्टी कार्यालयमा शोक पुस्तिका राख्ने निर्णय भएको नेकपाका प्रवक्त्ता नारायणकाजी श्रेष्ठले जानकारी दिए । उनका अनुसार फागुन २३ गते दिवंगत नेता भरतमोहन अधिकारी र रवीन्द्र अधिकारीको श्रद्धाञ्जली सभा संयुक्त रुपमा आयोजना गर्ने निर्णय भएको छ।

अधिकारीको ८२ वर्षको उमेरमा राजधानीको ह्याम्स अस्पतालमा उपचारका क्रममा शनिबार राति निधन भएको हो। अधिकारी गत माघ २४ देखि ह्याम्स अस्पतालमा उपचार गराइरहेका थिए। स्वास्थ्य अवस्था गम्भीर बनेपछि उनलाई भेन्टिलेटरमा राखेर उपचार गरिएको थियो। अधिकारीका पत्नी ओमकुमारीसहित तीन छोरी छन्।

 

तस्बिर : सुनिता डंगोल

चर्चामा

सम्बन्धित समाचार