शनिबार, बैशाख १५, २०८१
  • होमपेज
  • खेलकुद
  • क्षेत्रीय भलिबल सुरु

क्षेत्रीय भलिबल सुरु

  • शनिबार, फाल्गुन १८, २०७५
क्षेत्रीय भलिबल सुरु

आठौं राष्ट्रिय खेलकुदका लागि सुदूरपश्चिम प्रदेशबाट खेलाडी छनोट गर्ने उद्देश्यले शुक्रबार दार्चुलामा क्षेत्रीय पुरुष भलिबल सुरु भएको छ । क्षेत्रीय खेलकुद विकास समितिको आयोजना र जिल्ला खेलकुद विकास समिति दार्चुलाको समन्वयमा छनोट प्रतियोगिता सुरु भएको हो ।

क्षेत्रीय प्रतियोगिताको उद्घाटन सुदूरपश्चिम प्रदेशसभाका सदस्य गेल्बुसिंह बोहरा र मानबहादुर धामीले गरे ।
प्रदेशका सबै जिल्लामा १–१ प्रतियोगिता सञ्चालन गर्ने उद्देश्यले दार्चुलामा भलिबल राखिएको आयोजकले जनाएको छ । ‘आठौं खेलकुद हाम्रै प्रदेशमा, पसिना र पौरख आफ्नै देशमा’ भन्ने नारासाथ सुरु प्रतियोगिता ४ दिन चल्नेछ । प्रदेशका ९ वटै जिल्लाका टोली सहभागी छनोटको पहिलो खेलमा दार्चुला र अछाम भिडेका थिए ।
जिल्लामा मैदान र प्रशिक्षक अभावमा खेल गतिविधि प्रभावित बनेको जिल्ला खेलकुद विकास समितिले बताउँदै आएको छ । लामो समयपछि जिल्लामा क्षेत्रीय प्रतियोगिता गर्ने अवसर पाएको जिखेविसका अध्यक्ष नारायण दाहालले बताए । उनले केही वर्षदेखि मैदानलगायतका संरचना नहुँदा जिल्लाको खेलकुद कमजोर बन्दै गएको सुनाए ।
‘पहिला दार्चुलाले राष्ट्रिय तथा क्षेत्रीय खेलकुद प्रतियोगितामा राम्रो नतिजा ल्याए पनि पछिल्लो समयमा प्रशिक्षण नपाउँदा जेनतेन चलेको छ,’ उनले भने, ‘संरचनाको अभाव हुँदा पछिल्ला वर्षमा उपलब्धि पाउन सकिएको छैन ।’ निर्माणाधीन कभर्डहल ०७० असारमा महाकाली नदीको बाढीले बगाएपछि अहिले इन्डोर खेल आयोजना गर्ने ठाउँसमेत जिल्लामा नरहेको उनको भनाइ छ ।
राष्ट्रिय खेलकुद परिषद्ले जिल्लालाई करिब आधा दर्जन खेलका प्रशिक्षक दरबन्दी दिएको भए पनि नियमित प्रशिक्षण भने हुन सकेको छैन । मैदानको अभावमा सबै खेलको प्रशिक्षण गराउन सकिएको छैन । कुनै प्रतियोगिता हुने सार्वजनिक भएपछि मात्र प्रशिक्षण दिन थालिन्छ । राष्ट्रपति रनिङ सिल्ड भएपछि कुनै विधाका खेलाडीलाई प्रशिक्षण दिएको देखिँदैन । ‘राष्ट्रिय स्तर वा कुनै प्रतियोगिता हुने मिति तोकिएपछि प्रशिक्षणमा भाग लिनुपर्छ,’ भलिबलका पूर्व राष्ट्रिय खेलाडी भोजराज जोशीले भने, ‘एक महिना पनि प्रशिक्षण हुन्न । त्यही अवधिमा पनि पर्याप्त खेल सामग्री पाइँदैन ।’
पछिल्लो समय स्थानीयतहले खेलमैदान निर्माणमा चासो दिएको हुनाले अब खेलाडीलाई प्रशिक्षण गराउन सहज हुने जिल्ला खेलकुद विकास समितिका उपाध्यक्ष श्याम सिनालले बताए । दार्चुलामा झलिबल, क्रिकेट, एथलेटिक्सको त्रेज बढी भए पनि भलिबल र क्रिकेटका प्रशिक्षक नपाउँदा खेलाडीले सही प्रशिक्षण पाउन सकेका छैनन् ।

चर्चामा

सम्बन्धित समाचार