शनिबार, बैशाख १५, २०८१
  • होमपेज
  • समाज
  • गोदामचौर सामूहिक बलात्कार घटनाका अभियुक्तलाई १०/१० वर्ष कैद

गोदामचौर सामूहिक बलात्कार घटनाका अभियुक्तलाई १०/१० वर्ष कैद

  • शुक्रबार, फाल्गुन १७, २०७५
गोदामचौर सामूहिक बलात्कार घटनाका अभियुक्तलाई १०/१० वर्ष कैद

ललितपुरको गोदामचौरमा गत वर्ष एक युवतीलाई सामूहिक बलात्कारपछि हत्या प्रयास गर्ने  तीन अभियुक्तलाई जिल्ला अदालत ललितपुरले दोषी ठहर गरी जनही १०/१० वर्ष कैद सजाय सुनाएको छ । शुक्रबार न्यायाधीश धनसिंह महराको इजलाशले स्थानीय रघु सिलवाल, बिशालध्वज कार्की र पवन कुँवरलाई अदालतले दोषी ठहर गरेको हो ।

उनीहरुले गत वर्ष २ मंसिरमा एक २१ वर्षीय युवतीलाई बलात्कारपछि ढुंगाले हानेर हत्या प्रयास गरेका थिए । प्रहरीले उनीहरुलाई घटनाको केही दिनमा नै पक्राउ गरेपनि जिल्ला अदालत ललितपुरले छाड्ने आदेश दिएको थियो ।  उच्च अदालत पाटनले पुर्पक्षमा राख्ने आदेश दिएपछि फरार भएकोमा गत २६ मंसिरमा उनीहरू पक्राउ परेका थिए ।

युवतीको कार्यालयबाट हिड्दै घर फर्कने क्रममा सामूहिक बलात्कार भएको थियो । भोलिपल्ट युवती घटनास्थलमा बेहोस अवस्थामा फेला परेकी थिइन । करिब एक महिना अस्पतालमा राखेर उनको उपचार गरिएको थियो । घटनापछि उनी गाउँमा बस्न नसकेर बिस्थापित भएकी छिन् । शारिरीक रुपमा उनी अझै अशक्त रहेको परिवारले जनाएको छ ।

पीडितले आरोपीविरुद्ध किटानी जाहेरी दिएपनि जिल्ला अदालतले प्रमाण नपुगेको भन्दै छाडिदिएको थियो ।  उनीहरुलाई छाड्ने आदेश दिने न्यायाधीशलाई अझै कारबाही भएको छैन ।

 

चर्चामा

सम्बन्धित समाचार