बिहिबार, चैत्र १५, २०८०
  • होमपेज
  • देश
  • यो सरकार कलाकारहरूको हो: प्रधानमन्त्री ओली

यो सरकार कलाकारहरूको हो: प्रधानमन्त्री ओली

  • मङ्लबार, फाल्गुन १४, २०७५
यो सरकार कलाकारहरूको हो: प्रधानमन्त्री ओली

काठमाडौं, फागुन १३

प्रधानमन्त्री केपी शर्मा ओलीले आफ्नो नेतृत्वको सरकार कलाकारहरूको भएको बताएका छन् । सोमबार राजधानीमा आयोजित ‘नेपाल नाट्य महोत्सव २०७५’ को उद्घाटन समारोहमा बोल्दै प्रधानमन्त्री ओलीले भने, ‘यो सरकार कलाकारहरूको सरकार हो । हामी तपाईंहरूकै साथमा छौं।’

प्रधानमन्त्री ओलीले आफू कलाप्रेमी  भएको बताए।  उद्घाटन मन्तव्यका क्रममा उनले अंग्रेजीमै भने, ‘प्राइममिनिस्टर इज आर्ट लभर।’ उनले नाटक फाल्तु समयमा गरिने काम नभएको विचार व्यक्त गरे।

आफू कलाकार नभएर पनि कार्यक्रममा बोलाइएको भन्दै ओलीले यसले आफूलाई गर्व लागेको बताए । ‘यस्तो मायालाई खेर जान दिन्न। सरकार यहाँहरूसँगै छ,’ प्रधानमन्त्रीले भने।

ओलीले नाटक फिल्मभन्दा कठिन रहेको औंलाए।

‘फिल्ममा चारपटक हल्लाएको हात चारपटक खिच्न मिल्छ तर नाटकमा त्यो सुविधा छैन,’ प्रधानमन्त्री ओलीले भने, ‘फिल्ममा खिचेर ल्याएको छाँगो, हिमाल जोड्न सकिन्छ तर नाटकमा यतिखेरै कहाँबाट ल्याउनु छाँगो, कहाँबाट ल्याउनु हिमाल?’

प्रधानमन्त्रीले नाटक जीवन्त हुनुपर्ने, अगाडि नै उभिएर मान्छेलाई अर्को संसारमा लान सक्नुपर्ने सुझाव दिए। उनले यसो भनिरहँदा ठूलो हाँसो गुन्जिएको थियो ।

नाट्य क्षेत्रलाई अगाडि बढाउन सरकारले सक्दो सहयोग गर्ने प्रधानमन्त्रीको आश्वासन छ। उनले आगामी बजेटमा नाट्य विधाकै लागि भनेर केही रकम व्यवस्था हुने बताए। कला, संस्कृति र साहित्यको विकास नभई राष्ट्रको विकास नहुने उल्लेख गर्दै ओलीले त्यहीँ कारण आफू नाट्यकर्मीको संगत खोज्दै कार्यक्रममा आइपुगेको बताए।

सोमबार सुरू भएको नाट्य महोत्सवमा नेपालसहित ९ देशका नाटक सहभागी छन्। चार नाटक घरमा तीस वटा नाटक प्रस्तुत गरिनेछ।

साभार सेताेपाटि

चर्चामा

सम्बन्धित समाचार