• होमपेज
  • अर्थ/वाणिज्य
  • भारतीय तस्करको २३ किलो सुन र गाडीसहित ड्राइभर नेपालमा

भारतीय तस्करको २३ किलो सुन र गाडीसहित ड्राइभर नेपालमा

  • बुधबार, फाल्गुन ८, २०७५
भारतीय तस्करको २३ किलो सुन र गाडीसहित ड्राइभर नेपालमा

नेपाल प्रहरीले बिहीबार  कञ्चनपुरको पुनर्वास क्षेत्रबाट  १८ किलो सुनसहित एक जनालाई पक्राउ गर्‍यो।

जिल्ला प्रहरी कार्यालय कैलाली र कञ्चनपुरको टोलीसँगै अपराध महाशाखा र केन्द्रीय अनुसन्धान ब्युरो (सिआइबी)को संयुक्त टोलीले भारतीय सीमावर्ती क्षेत्र पुनर्वासबाट सो परिमाणमा सुन बरामद गरेको थियो।

पुनर्वास नगरपालिकाको दशरथबस्तीका शंकर बिकको घरबाट माटोमा गाडेको अवस्थामा १८ किलो सुन भेटिएको थियो। सुनसँगै प्रहरीले एकजनालाई पक्रेको  थियो।

हिजो राति नै प्रहरीले कञ्चनपुरको शुक्लाफाँटा नगरपालिका–११ अमरपुरका सुरज तिरुवाको गोठमा लुकाइराखेको अवस्थामा थप पाँच किलो ६०० ग्राम सुन बरामद गरेको छ।

इलाका प्रहरी कार्यालय झलारीका अनुसार राति १ बजेमा जिल्ला प्रहरी कार्यालय कञ्चनपुर र नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सिआइबी)को टोलीले छापा मारी सुन बरामद गरेको हो। प्रहरीका अनुसार गोठमा खाल्डोमुनि दुई पोकामा लुकाइछिपाइ राखेको अवस्थामा सुन बरामद भएको हो।

सिआइबीका एक उच्च अधिकारीले सेतोपाटीलाई  दिएको जानकारी अनुसार बरामद भएको सुन भारतीय तस्करको हो। तस्कर समूहको ड्राइभर रहेका नेपाली चालकले गाडीमा सुन भएको थाहा पाएपछि गाडी ल्याएर नेपाल आएका थिए।

‘भारतीय तस्करको गाडी चलाउने नेपाली ड्राइभरले गाडीमा सुन भएको थाहा पाएर गाडीसहित नेपाल आएछन्,’ ती अधिकारीले भने, ‘घर आएर १८ केजी सुन भाइको ससुरालीमा लगेर राखे। बाँकी ५ केजी आफ्नै घरमा राखेको र केही सुन चलाएको पनि देखियो।’

ती ड्राइभरका भाइ  नेपाल प्रहरीमा कार्यरत छन्।

सिबिआई अधिकारीका अनुसार ड्राइभर सुनसहित गाडी ल्याएर नेपाल आएपछि तस्कर समूह पनि केही दिनअघि  कञ्चनपुर आएको थियो।

‘उनीहरूले गाडीमात्र लिएर गए। सुन वैध भएको भए उनीहरू दाबी गर्थे तर सुनबारे केही नभनी गए। त्यहीबेला सूचना चुहिएपछि हामीले अनुसन्धान थालेका थियौं,’ ती अधिकारीले भने।

सुनको सूचना प्रहरीसम्म कसरी पुग्यो भन्ने उनले  खुलाएनन्।

सिआइबीका एसपी सुदिप गिरी, कैलालीका एसपी आभषण तिम्सिना, अपराध महाशाखाका डीएसपी रुगम कुँवर जिप्रका कञ्चनपुर मातहतको संयुक्त टोलीले सुनको अनुसन्धान गरेको थियो।

जिल्ला प्रहरी कार्यालयल कञ्चनपुरले बरामद सुन र पक्राउ परेका व्यक्तिहरुबारे शुक्रबा पत्रकार सम्मेलन गरी विस्तृत विवरण सार्वजनिक गर्ने जनाएको छ।

सेताेपाटीबाट

चर्चामा

सम्बन्धित समाचार