• होमपेज
  • देश/प्रदेश
  • प्रधानमन्त्रीका लागि सिंगारियो प्रदेश सभा

प्रधानमन्त्रीका लागि सिंगारियो प्रदेश सभा

  • बुधबार, फाल्गुन ८, २०७५
प्रधानमन्त्रीका लागि सिंगारियो प्रदेश सभा

धनगढी, ८ फागुन ।
प्रधानमन्त्री केपी शर्मा ओली आउने भएपछि सुदूरपश्चिम प्रदेश सभा सचिवालय सिंगारिएको छ । प्रदेश सभाभित्र र बाहिर रंगरोगन गरिनुका साथै स्वागतद्धार, नेपाली झण्डा लगाएर सजाइएको छ ।
प्रधानमन्त्री ओलीले बुधबार बिहान प्रदेश सभामा विशेष सम्बोधन गर्ने कार्यक्रम रहेको छ । सरकारी कार्यक्रम र पार्टीको कार्यकर्ता भेलाका लागि मंगलबार सुदूरपश्चिम आइपुगेका प्रधानमन्त्री ओलीले संसदलाई विशेष सम्बोधन गर्ने छन् ।
संसद सचिवालयका सचिव बालाराम शर्माले प्रधानमन्त्रीको सम्बोधनका लागि संसद बैठकमा भौतिक व्यवस्थापन गर्ने, संसद भवन भित्र र बाहिर रङ्गरोगन, सजावट गर्नेलगायत आवश्यक सबै तयारी पुरा भएको जानकारी दिए ।
प्रधानमन्त्री बस्नका लागि सभामुखको कुर्सी नजिक दायातिर विशेष स्थानमा अलगै कुर्सीको व्यवस्था गरिएको छ । संसद भवन प्रवेश गरेपछि प्रधामन्त्रीले सभामुखको कार्यकक्षसँगै बनाइएको कक्षमा केही मिनेट आराम गर्ने र त्यसपछि संसद छिर्ने बताइएको छ ।
संसद कक्षमा प्रवेश गर्दा प्रधानमन्त्रीलाई सभामुख अर्जुनबहादुर थापा र मुख्यमन्त्री त्रिलोचन भट्टले स्वागत गर्ने कार्यक्रम छ । प्रदेश प्रमुख मोहनराज मल्ल भने बिरामी भएर उपचारका लागि काठमाडौंमा रहेकाले अनुपस्थित रहने छन् ।
सचिव शर्माका अनुसार संसद बैठक शुरु भएपछि सभामुखले विशेष सम्बोधनका लागि प्रधानमन्त्रीलाई आग्रह गर्ने छन् । प्रधानमन्त्रीको सम्बोधनपछि बैठक समापन हुनेछ भने त्यसपछि प्रधानमन्त्रीले सांसदहरुसँग सामुहिक रुपमा फोटो खिच्ने कार्यक्रम छ ।
प्रधानमन्त्री गएपछि लगत्तै बस्ने संसदको अर्को बैठकले विशेष सम्बोधनका लागि धन्यवाद प्रस्ताव पारित गर्ने कार्यसुची रहेको संसद सचिवालयले जनाएको छ । प्रधानमन्त्री आउने भएपछि प्रदेश सभा परिसर सिंगारिएको छ ।
संसद भवन परिसरमा नेपालको राष्ट्रिय झण्डाहरु फहराइएका छन् । मुख्यद्धार र संसद भवन प्रदेश गर्ने द्धारमा गरी दुई वटा स्वागतद्धार निर्माण गरिएका छन् । सुरक्षा व्यवस्था मजबुद पारिएको छ ।
प्रदेश सभामा विषेश सम्बोधनपछि प्रधानमन्त्री ओलीले धनगढीमै हुने नेपाल कम्युनिष्ट पार्टीको कार्यकर्ता भेलालाई सम्बोधन गर्ने कार्यक्रम रहेको छ ।
उक्त भेलालाई नेकपाका अध्यक्ष एवं पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड, पूर्वप्रधानमन्त्री माधवकुमार नेपाल, महासचिव बिष्णु पौडेल, सुदूरपश्चिम प्रदेश इन्चार्ज भीम रावल र स्थायी समिति सदस्य लेखराज भट्टले सम्बोधन गर्ने नेकपाका प्रदेश अध्यक्ष कर्ण थापाले जानकारी दिए ।
कार्यकर्ता भेलाका लागि प्रचण्ड श्री यअरलाईन्सको नियमित उडानबाट अपराह्न धनगढी आइपुगेका छन् । पूर्वप्रधानमन्त्री नेपाल वुद्ध यअरको उडानबाट बेलुकी आइपुगेका छन् ।
सरकारी कार्यक्रमका लागि डडेल्धुरा हुँदै डोटी पुगेका प्रधानमन्त्री ओली, उनीसँगै रहेका महासचिव पौडेल, उर्जामन्त्री वर्षमान पुन, भौतिक योजना तथा यातायात मन्त्री रघुबीर महासेठलगायत नेताहरु पनि मंगलबार राती धनगढी आइपुगेका छन् ।

चर्चामा

सम्बन्धित समाचार