शुक्रबार, बैशाख ७, २०८१
  • होमपेज
  • राजनीति
  • जनआन्दोलन शब्द थपेर जनयुद्ध दिवस मनाउँदै नेकपा, पार्टी कार्यालयको कार्यक्रममा ओली नजाने

जनआन्दोलन शब्द थपेर जनयुद्ध दिवस मनाउँदै नेकपा, पार्टी कार्यालयको कार्यक्रममा ओली नजाने

  • मङ्लबार, माघ २९, २०७५
जनआन्दोलन शब्द थपेर जनयुद्ध दिवस मनाउँदै नेकपा, पार्टी कार्यालयको कार्यक्रममा ओली नजाने

सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा)ले  जनयुद्ध दिवस मनाउने भएको छ। तत्कालिन नेकपा माओवादीले २०५२ सालमा सशस्त्र युद्ध सुरु गरेको दिनलाई जनयुद्ध दिवसका रुपमा मनाउँदै आएको थियो। तर, माओवादी र तत्कालिन नेकपा एमाले एक भएपछि उक्त दिवस मनाउने विषयमा नेकपा अलमलिएको थियो।

तत्कालिन माओवादी जनयुद्ध दिवस मनाउने पक्षममा थिए भने तत्कालिन एमाले उक्त दिवस नमनाउने पक्षमा थियो। गत वर्ष दुई पार्टीबीच एकता भएको थिएन। तर, एमाले अध्यक्ष केपी शर्मा ‌ओली सहितका नेताहरुले पेरिसडाँडामा रहेको सहिद स्तम्भमा माल्यार्पण गरेका थिए।

यसपटक पनि पूर्व माओवादीले जनयुद्ध दिवस मनाउन खोजेपछि नेकपा अमललिएको थियो। पूर्व एमाले नेताहरु जनयुद्ध दिवस मनाउने पक्षमा थिएनन्। तर पार्टी अध्यक्षद्वय केपी शर्मा ओली र पुष्पकमल दाहाल प्रचण्ड तथा महासचिव विष्णु पौडेलबीच दिवस मनाउने सहमति भएको हो। तर जनयुद्धको अगाडि जनआन्दोलन शब्द राखेर दिवस मनाउने समझदारी बनेको हो।

नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का केन्द्रीय सदस्य विष्णु रिजालले फागुन एक गते – ‘जनआन्दोलन र जनयुद्धका सहिदहरुप्रति श्रद्धाञ्जली कार्यक्रम’ आयोजना गरिएको ट्विट मार्फत् जानकारी दिएका छन्। कार्यक्रम केन्द्रीय कार्यालय धुम्बाराहीमा हुनेछ।

नेकपाको केन्द्रीय कार्यलयका तर्फबाट कृष्णगोपाल श्रेष्ठले गरेको निमन्त्रणा पत्र अनुसार उक्त कार्यक्रममा नेकपाका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड मात्र सहभागि हुनेछन्। ओली भने पार्टी कार्यालयको कार्यक्रममा सहभागि हुने छैनन्।

‘एउटा अध्यक्ष पार्टीको कार्यक्रममा र अर्को अध्यक्ष प्रधानमन्त्री पनि भएकाले सरकारी कार्यक्रममा जानुहुन्छ’, श्रेष्ठले सेतोपाटीसँग भने, ‘जनयुद्ध र जनआन्दोलनका सहिदहरुको सम्झनामा हामीले श्रद्धाञ्जली सभा राखेका छौँ।’

त्यसो त दुई पार्टीबीच एकताको क्रममा पार्टीको प्रस्तावनामा जनयुद्ध शब्द राख्ने विषयमै विवाद भएको थियो। सुरुवातमा जनयुद्धको स्थानमा जनक्रान्ति शब्द राख्न प्रस्ताव गरेको एमाले पछि हटेको थियो। पार्टी एकताको विधानमा जनयुद्ध शब्द राखिएको थियो।

चर्चामा

सम्बन्धित समाचार