बुधबार, बैशाख १२, २०८१
  • होमपेज
  • समाज
  • युवतीको सुसाइड नोटमा इन्गेजमेन्टको घडी र गुलाबको फूल

युवतीको सुसाइड नोटमा इन्गेजमेन्टको घडी र गुलाबको फूल

  • सोमवार, माघ २८, २०७५
युवतीको सुसाइड नोटमा इन्गेजमेन्टको घडी र गुलाबको फूल

भारतीय सहर रक्सौलको दक्षिणी गाउँमा आइतबार रेलले किचेर ज्यान गुमाएका दुई नेपाली किशोरीको कोठाबाट ‘सुसाइड नोट’ फेला पारेको छ ।

दुवै किशोरी बस्दै आएको वीरगन्ज महानगरपालिका रानीघाटस्थित कुमारीमाई मन्दिर नजिकैको डेराबाट सुसाइड नोट फेला परेको पर्साका प्रहरी उपरीक्षक रेवती ढकालले जानकारी दिए ।

पर्साको कालिकामाई गाउँपालिका–२ भेडिहारीका राजेश्वर साह कलवारकी १७ वर्षीय छोरी निभाकुमारी साह गुप्ता र वडा नम्बर ३ हरिहरपुरका हरिकिशोर चौरसियाकी १८ वर्षीया छोरी किरणकुमारी चौरसियाको शव आइतबार रक्सौल रेल्वे स्टेशनबाट दुई किलोमिटर परेको रेल्वे लाइनमा क्षतविक्षत अवस्थामा भेटिएको थियो ।

रक्सौलबाट दिल्ली जाँदै गरेको १५२७३ नम्बरको सत्याग्रह एक्सप्रेस रेलले आइतबार बिहान करिब नौ बजेतिर उनीहरुलाई किचेको थियो ।

घटनास्थलबाट भारतीय प्रहरीले फेला पारेको फुटेको मोबाइल र निभा कुमारीको वीरगन्ज पब्लिक स्कुल कक्षा ११ को परिचयपत्रका आधारमा दुवैको सनाखत भएको थियो । केही मिटर वरपर रहेका दुवैको शरीरको अंग छिनेको अवस्थामा भेटिएका थिए ।

आइतबार घटनास्थलबाट वीरगन्ज फर्किएका प्रहरी उपरीक्षक ढकाल र मृतकका आफन्तसहितको टोलीले रानीघाटस्थित डेराको ताल्चा फोरेर कोठामा पस्दा काठको विस्तारामा सुसाइड नोट फेला पारेको हो । सुसाइड नोटमाथि प्लाष्टिकको गुलाबको फूल र एक थान लेडिज घडी पनि भेटिएको प्रहरी उपरीक्षक ढकालले बताए ।

सुसाइड नोटमाथि भेटिएको गुलबको फूल र घडी केही दिनअघि भएको किरणको इन्गेजमेन्टमा केटापक्षले दिएको खुलेको छ । फूल र घडी इन्गेजमेन्टमै दिइएको पुष्टि भएको कालिकामाई गाउँपालिका–५ का वडाअध्यक्ष पवन तिवारीले बताए ।

उनका अनुसार , किरणको बिहे भारत बिहारको रामनगरमा तय भइसकेको थियो । बिहेका लागि किरणको टीकाटालो १० दिन अघिमात्र भएको थियो । बिहेमा दाइजो दिने भनेर तय भएको चार लाख रुपैयाँ तीन दिनअघि मात्र किरणका बुवा हरिकिशोर चौरसियाले रामनगरमा पुगेर केटापक्षलाई बुझाएका थिए ।

प्रहरी उपरीक्षक ढकालका अनुसार रातो मसीले लेखिएको सुसाइड नोटको सुरुमै ‘आदरणीय आमाबुवा हामीलाई क्षमा गर्नुहोला…’ भन्ने लेखिएको छ । त्यपछि सुसाइड नोटमा…. ‘हामीले तपाईँहरुको सपना पूरा गर्न सकेनौँ, त्यसैले अब  बाँच्नुको कुनै अर्थ छैन भन्ने हामीलाई लाग्यो, हामीले निर्णय गर्दैछौँ, यो हाम्रो स्वतन्त्र निर्णय हो, यसमा कसैको केही गल्ती छैन, आइ लभ यु पापा आइ लभ यु ममी अलबिदा…..लेखिएको छ ।

आइतबार घटनास्थल रक्सौलबाट फर्केपछि उनीहरु बस्दै आएको कोठा खोलेर हेर्दा खाटको विस्तारामा सुसाइड नोट फेला परेपछि अक्षर म्याच गराउँदा किरणले नै लेखेको पुष्टि भएको प्रहरी उपरीक्षक ढकालले बताए ।

मृतक दुवै किशोरीको शवको सोमबार साँझ अन्तिम संस्कार गरिएको छ । सोमबार पोष्टमार्टम गरी भारतीय प्रहरीले दुवै शव नेपाल प्रहरीमार्फत् अभिभावकको जिम्मा लगाएपछि उनीहरुको आफ्नै गाउँमा दाहसंकार गरिएको हो ।

वीरगन्ज पब्लिक स्कुलको कक्षा ११ मा अध्ययनरत निभा गुप्ता र सत्यम पब्लिक कलेजको कक्षा ११ मै अध्ययनरत किरण चौरसिया रानीघाटस्थित एउटै कोठामा बस्दै आएका थिए ।
गत शनिबार मात्र घरबाट वीरगन्जस्थित डेरामा आएका निभा र साथी किरण आइतबार बिहान साढे ६ बजेतिर डेराबाट निस्किएका थिए ।

प्रहरी उपरीक्षक ढकालका अनुसार आइतबार बिहान साढे ६ बजे दुवै किशोरीहरु सरस्वती पूजा गर्न भन्दै डेराबाट एकैसाथ निस्किएका थिए । घरधनीलाई भने सरस्वती पूजा गर्न डेराबाट निस्किएका दुवै किशोरी भारतीय सहर रक्सौलको रेल्वे स्टेशनबाट करिब दुई किलोमिटर परको रेल्वे लिकमा पुगेका थिए ।

आइतबार बिहान पौने नौ बजे रक्सौल रेल्वे स्टेशनबाट दिल्लीका लागि छुटेको १५२७३ नम्बरको सत्याग्रह रेल रक्सौल–सुगौली रेल खण्ड अन्तर्गत पर्ने कनाना ढाला नजिक पुग्ने बित्तिक्कै रेलको लिकमा सुतेका दुवै किशोरीलाई किच्दै अघि बढेको थियो ।

रक्सौल थानाका पुलिस निरीक्षक एवम् सह–थानाध्यक्ष अजय कुमारले पनि घटना आत्महत्या भएको हुन सक्ने बताए । ‘नेपाल प्रहरीका अनुसार सुसाइड नोट फेला परेकाले यो घटना आत्महत्या भएको देखिन्छ’, उनले भने, ‘तर पोष्टमार्टम रिपोर्ट नआउन्जेल घटनाको एकिन कारण खुल्दैन ।’

नेपाल–भारत दुवैतर्फका प्रहरी ‘आत्महत्या’ नै भएको निष्कर्षमा पुगे पनि वीरगन्जबाट सात किलोमिटर परको रेल्वे लिकमा पुगेको कारण अझै खुल्न सकेको छैन  ।

अन्नपुर्ण पोष्टबाट साभार

चर्चामा

सम्बन्धित समाचार