शुक्रबार, चैत्र १६, २०८०
  • होमपेज
  • देश
  • निर्मलाका हत्याराको नजिक पुगेकै हो नेपाल प्रहरी ?

निर्मलाका हत्याराको नजिक पुगेकै हो नेपाल प्रहरी ?

  • आइतवार, माघ २७, २०७५
निर्मलाका हत्याराको नजिक पुगेकै हो नेपाल प्रहरी ?

काठमाडौं, माघ २७ । कञ्चनपुरको भीमदत्त नगरपालिका–२ की १३ वर्षीया किशोरी निर्मला पन्तको बलात्कारपछि हत्यामा संलग्न अभियुक्तको खोजीमा नेपाल प्रहरी सक्रिय छ । तर, हत्याराको पहिचान अझै हुन सकेको छैन ।

पछिल्लो समय प्रहरी अधिकारी र अनुसन्धानमा संलग्न अधिकारी पनि अनुसन्धानबारे बोल्न चाहिरहेका छैनन् । यसअघि अनुसन्धानका कुरा बाहिर आउँदा विवादित भएपछि प्रहरी मौनतामै ‘गोप्य’ अनुसन्धानमा जुटेको हो । पछिल्लो दुई दिनयता निर्मलाका हत्यरा नजिक प्रहरी पुगेको चर्चा केही सञ्चारमाध्यमले गरेका थिए ।

तर, कञ्चनपुर प्रहरीका प्रमुख प्रहरी उपरीक्षक (एसपी) कुवेरसिंह कडायत भने अनुसन्धान जारी रहेको तर हत्याराको पहिचान भइनसकेको बताउँछन् । ‘‘हामी गहन अनुसन्धानमै छौं । विभिन्न कोणबाट अनुसन्धान जारी छ,’’ कडायतले भने । कञ्चनपुर प्रहरी र केन्द्रीय अनुसन्धान ब्युरो (सिआईबी)को टोली अनुसन्धानमा सक्रिय छ ।

पछिल्लो समय अनुसन्धानमा प्रहरीलाई स्थानीयले सहयोग गरिरहेको प्रहरी अधिकारी बताउँछन् । यसअघि प्रहरी अधिकारीले स्थानीयले प्रहरीलाई अनुसन्धानमा सहयोग नगरेको बताउँदै आएका थिए ।

प्रहरी स्रोतका अनुसार पछिल्लो समय प्रहरीले डीएनएको नमुना संकलन तीव्र रुपमा गरिरहेको छ । आसपासका गाउँका प्रत्येक घरका सदस्यको बारेमा जानकारीसमेत लिइरहेको छ । भीमदत्तनगर–२ उल्टाखाम, महुलीया, वडा नम्बर १९ बागफाँटा र वडा नम्बर १८ का प्रत्येक घरको विवरण प्रहरीले संकलन गरिरहेको बताइएको छ ।

स्रोतले भन्यो, ‘‘घरमा को–को बस्छन्, उनीहरुको पेशा व्यवसाय, विगतको पृष्ठभूमिलगायतका विषय बुझ्ने काम भइरहेको छ । यसले अनुसन्धानलाई सकारात्मक सहयोग गरिरहेको छ ।’’

प्रहरीले हालसम्म ५० जनाभन्दा बढी शंकास्पदको डीएनए परीक्षण गरिसकेको छ । तर, कसैको पनि डीएनए निर्मलाको शरीरबाट निकालिएको ‘भेजिनल स्वाब’सँग मेल खाएको छैन । अनुसन्धान टोलीले केही व्यक्तिलाई विशेष निगरानीमा राखेको बताइएको छ । उनीहरुको पहिचान खुलाइएको छैन । प्रहरी स्रोतका अनुसार एक युवकको गतिविधि बढी शंकास्पद देखिएको छ ।

गत साउन १० मा साथीको घरमा निस्किएकी निर्मला भोलिपल्ट उखुबारीमा मृत फेला परेकी थिइन् । साउन १० मै निर्मला अबेरसम्म घर नफर्किएपछि आमा दुर्गादेवीले प्रहरीलाई खबर गरे पनि प्रहरीले भोलि खोजौंला भन्दै टारेको थियो । गृह मन्त्रालयदेखि प्रहरीका भिन्नाभिन्नै टोलीले घटनाको अनुसन्धान र अध्ययन गरेपनि बलात्कार र हत्यामा संलग्नको पहिचान भने हुन सकेको छैन ।

  • बाह्रखरीबाट साभार

चर्चामा

सम्बन्धित समाचार