शुक्रबार, बैशाख १४, २०८१
  • होमपेज
  • मनोरञ्जन
  • कम्फर्ट जोनबाट बाहिरिएँ : शुभेच्छा

कम्फर्ट जोनबाट बाहिरिएँ : शुभेच्छा

  • बिहिबार, माघ २४, २०७५
कम्फर्ट जोनबाट बाहिरिएँ : शुभेच्छा

सन् २०१२ की मिस इन्टरनेसनल शुभेच्छा खड्का फिल्म क्षेत्रमा प्रवेश गरेकी छन्। फिल्म ‘रणवीर’बाट उनी ठूलो पर्दामा देखिन लागेकी हुन्। १७ वर्षको उमेरमा टीभी कार्यक्रममा होस्ट गर्दै उनले करिअर अगाडि बढाइन्।
मिस इन्टरनेसनल भएपछि फिल्मका लागि थुप्रै अफर आए पनि उनले त्यसलाई स्वीकार गरिनन्। तर रणवीरबाट फिल्म नगरीमा प्रवेश गरेपछि उनको चर्चा फेरि चुलिएको छ। उनै शुभेच्छासँग सपना महर्जनले गरेको कुराकानी :
सुन्दरी प्रतियोगितामा भाग लिने युवती फिल्म क्षेत्रमा किन प्रवेश गर्छन् ?
मोडलिङ र फिल्म खेल्ने चाहना भएर नै मिस नेपालमा भाग लिने हो। देशको प्रतिनिधित्व गर्ने चाहना एकातिर हुन्छ भने अर्कातिर मोडलिङमा अवसर मिलोस् भन्ने पनि हुन्छ। साथै फिल्म खेल्ने अवसर पनि गुमाउन चाहन्नथेँ।
टेलिभिजनको क्यामेरा र फिल्मी क्यामेरामा के फरक हुँदो रहेछ ?
टेलिभिजनमा बोल्दा गलत उच्चारण नहोस् भनेर मेहेनत गरिन्छ। फिल्ममा आफू कत्तिको सुन्दर देखिएको छु, त्यसमा ध्यान जाँदो रहेछ। हिरोइन भन्नेबित्तिकै ऊ क्यामेरामा राम्रो देखिनुपर्ने बाध्यता हुन्छ। साथै डाइलग डेलिभरी र अभिनयमा ध्यान दिनुपर्छ। अभिनय वास्तविक पनि लाग्नु पर्‍यो।
तपाईं आफैं महिलाकेन्द्रित फिल्म खेल्न खोजेको बताउनुहुन्छ। पहिलो फिल्म नै पुरुषकेन्द्रित किन छान्नुभयो ?
मलाई सोलो फिल्म खेल्न धेरैले सुझाव दिएका थिए तर रणवीर खेल्ने निर्णय मैले आत्माबाटै गरेको हुँ। मलाई कथावस्तु निकै राम्रो लाग्यो। निर्माण पक्षले यो फिल्म राम्रोसँग बनाउने विश्वास भएर मैले फिल्म खेल्ने निर्णय लिएँ। यही फिल्मले नै मलाई अरू फिल्म पाउन मद्दत गर्छ भने त्यो मेरो सम्पत्ति नै हुनेछ। भविष्यमा सोलो फिल्म आयो भने त्यो मेरो मेहनतले पाएको अवसर हुनेछ।
अभिनय गर्न कत्तिको गाह्रो हुँदो रहेछ ?
अभिनय गर्न त निकै गाह्रो रहेछ। घरपरिवार तथा साथीभाइबीच नक्कल पारेर गर्ने अभिनयजस्तो हुँदैन रहेछ। हामी जब क्यामेरामा कैद हुन्छौं, हाम्रो झुटो एक्टिङ एक सेकेन्डमै थाहा हुन्छ। त्यसैले इमोसनका साथ अभिनय गर्न सजिलो छैन।
मिस इन्टरनेसनल बनेपछि अभिनय सिक्ने टन्नै समय थियो। किन सिक्नुभएन ?
मलाई फिल्म खेल्ने रहर अवश्य थियो तर फिल्म क्षेत्र मेरो प्राथमिकतामा थिएन। जति टेलिभिजनमा मेरो लगाव छ, जति होस्ट गर्दा मलाई रमाइलो लाग्छ; त्यस्तो खालको लगाव फिल्मप्रति थिएन। रणवीर टिमले मलाई फिल्म खेल्न उत्साहित गराउनुभयो। त्यसमा म खुसी छु। सन् २०१९ पछि अभिनयसँग सम्बन्धित सबै कुरा सिक्ने योजना बनाएकी छु।
अभिनेत्री भनेर चिनिन चाहनुहुन्छ कि टीभी होस्ट या मिस इन्टरनेसनल ?
मेरो सुरुआत टीभी होस्टबाटै भएको हो। यो टाइटल त म अवश्य राख्न चाहन्छु। साथै आउँदा दिनमा मेरो अभिनयले न्याय गरेको देखेँ भने अभिनेत्रीको टाइटललाई पनि सँगसँगै लैजान चाहन्छु।
ब्युटी पेजेन्ट जितेको यतिका वर्षपछि फिल्ममा आउनुभएको छ। चर्चा कमाउन हो ?
चर्चाका लागि फिल्ममा आएकी होइन। यो क्षेत्रलाई मैले करिअरका रूपमा कहिल्यै सिरियसली हेरिनँ। मिडिया क्षेत्रबाटै चर्चामा आउन सक्थेँ तर फिल्ममा मेरो फरक योगदान हुने देखेर यो क्षेत्रमा प्रवेश गरेकी हुँ। वास्तवमा म कम्फर्ट जोनबाट बाहिरिएकी हुँ।
रणवीरपछि पूर्ण रूपमा अभिनयतिरै लाग्ने हो ?
टीभीका कतिपय सोमा मैले साइन गरिसकेकी छु। रणवीर सकिनेबित्तिकै मेरो रियालिटी सो आउँदै छ। त्यसैले म टीभीचाहिँ छोड्दिनँ। फिल्मी करिअर पनि अगाडि बढाउँछु।

चर्चामा

सम्बन्धित समाचार