बुधबार, बैशाख १२, २०८१
  • होमपेज
  • मनोरञ्जन
  • बलिउडमा जाजरकोटी सिजन

बलिउडमा जाजरकोटी सिजन

  • बिहिबार, माघ २४, २०७५
बलिउडमा जाजरकोटी सिजन

जाजरकोटकी चेली एक भारतीय फिल्को मूख्य नायिकामा अनुबन्धित भएकी छन्। भेरी नगरपालिका–३ पीपलडाँडाकी सिजन पुन बलिउडको फिल्म निर्माण कम्पनी पी भन्साली प्रोडक्सन हाउसले निर्माण सुरु गरेको ‘हर जनम मेँ मिलिंगे’ नामक ठूलो पर्दाको फिल्ममा मूख्य भूमिकामा अनुबन्ध भएकी हुन्।
अभिनय कलाबारे उनले न औपचारिक अध्ययन गरिन्, न त तालिम नै लिएकी छन् तर पनि बलिउड यात्रा कसरी सम्भव भयो त ? ‘हिन्दी फिल्म र सिरियल हेररै कोठामै आफैंले अभ्यास गरेँ, अनि सिकेँ’, उनले भनिन्, ‘सफलताका लागि इच्छाशक्ति ठूलो कुरा रहेछ तर यो अवस्थासम्म आइपुग्दा धेरै संघर्ष र दुःख गर्नु पर्‍यो।’
डेढ वर्षदेखि भारतको मुम्बईमा रहेर भारतीय टेलिभिजनका दुईवटा सिरियलमा चरित्र अभिनेत्रीको भूमिका निर्वाह गरिरहेकी २१ वर्षीया सिजनको मंगलबारदेखि ठूलो पर्दाको उक्त फिल्मको सुटिङ पनि शुरु भएको छ। शशी शेखरको निर्देशन, प्रवीण भन्सालीको निर्माण र चन्दरको लेखन रहेको यस फिल्ममा दुईजना नायकका साथ उनको अभिनय रहने छ।
फिल्ममा आफूले धनी युवतीको भूमिका निर्वाह गरिरहेको र गाउँमा हुने अपराध तथा अन्यायको सिकार हुने गरिबको उद्धार गर्ने खालको विषयमा आफूले अभिनय गरेको बताइन्। सहरको विकृति र गाउँमा ठूलाबडाले गरिबमाथि गर्ने अन्याय र अपराधको चलन कस्तो हुन्छ भन्ने विषयवस्तु समेटेर फिल्मको छायांकन भइरहेको उनले जानकारी दिइन्।
गाउँका सामन्त, भ्रष्टाचारी र अपराधीलाई आफ्नो मायामा फसाएर उनीहरूलाई सजाय दिने भूमिका निर्वाह गरेको उनको भनाइ छ।
भारतको मुम्बई र गुजरातका विभिन्न स्थानमा छायांकन भइरहेको उक्त फिल्म दुई घण्टा १० मिनेटको हुने बताइएको छ। यसअघि सिजनले भारतीय टीभी च्यानल स्टार प्लसमा प्रसारण भइरहेको ‘आरम्भ’ नामको सिरियल र अर्काे क्राइम स्टोरी ‘लक अप’मा अभिनेत्रीको रूपमा अभिनय गरिसकेकी छिन्।
सामान्य परिवारमा जन्मिएकी सिजनले जाजरकोट खलंगाको त्रिभुवन माध्यमिक विद्यालयबाट प्लस टु गरेकी छिन्। उनले आफूलाई नेपालकी चेली भएकोमा गर्व लाग्ने बताइन्। उनले बलिउडमा सफल अभिनेत्रीका रूपमा स्थापित हुने ठूलो सपना रहेको बताइन्।

चर्चामा

सम्बन्धित समाचार