• होमपेज
  • मनोरञ्जन
  • सुटिङ गर्न विदेशिने लहर

सुटिङ गर्न विदेशिने लहर

  • बिहिबार, माघ २४, २०७५
सुटिङ गर्न विदेशिने लहर

काठमाडौं : निर्देशक झरना थापा ‘ए मेरो हजुर–३’ को एउटा गीत र फिल्मका केही दृश्य अमेरिकामा छायांकन गरेर फर्किन्। अनमोल केसी र थापाकै छोरी सुहानाले रोमान्स गरेको गीतमा अमेरिकाका रमणीय स्थल समेटिएको निर्देशक थापाले बताइन्।
‘कथाको मागअनुसार नै छायांकन गर्न अमेरिका पुगेका हौं। यी दृश्यले फिल्मलाई निकै रिच बनाएको छ’, निर्देशक थापाले भनिन्, ‘विदेशमा छायांकन गर्दा बजेट बढे पनि फिल्म आकर्षक बनेको छ।’
फिल्म ‘लभ स्टेसन’को टोली एउटा गीतको छायांकन भियतनामका विभिन्न स्थानमा सकेर स्वदेश फर्किएको छ। रोमान्टिक गीतमा प्रदीप खड्का र जसिता गुरुङले अभिनय गरेका छन् उज्ज्वल घिमिरे निर्देशित यो फिल्म भारतको दार्जिलिङ तथा कालिम्पोङमा छायांकन भएको छ। ‘भियतनामका रमणीय दृश्यमा फिल्मका मुख्य कलाकारले रोमान्स गरेका छन्’, निर्माता गोविन्द शाहीले बताए। यसअघि भियतनाममा खासै नेपाली फिल्म खिचिएको थिएन।
नेपाली फिल्म इतिहासमै पहिलोपटक सर्वाधिक लगानीमा बनेको दाबी गरिएको ‘पासवर्ड’को छायांकन लन्डनमा भएको छ। ९८ प्रतिशत दृश्य बेलायत र दुई प्रतिशत नेपालमा हुने र बजेट ३० करोड पुग्ने बताइएको छ। सम्राट बस्नेतको निर्देशनमा बनिरहेको फिल्ममा भारतीय अभिनेत्री सन्नी लियोनीले तीन करोड पारि श्रमिक लिएर एउटा आइटम गीतमा नृत्य गरेकी छन्।
केही वर्षअघिसम्म विदेशमा नेपाली फिल्मको छायांकन विरलै हुन्थ्यो। अझ युरोप, अमेरिका तथा एसियाका विकसित मुलुकमा फिल्म छायांकन गर्ने कल्पना गर्न मुस्किल थियो। तर अहिले अवस्था बदलिएको छ। विदेशमा पनि नेपाली फिल्म प्रदर्शन हुन थालेपछि निर्माता धक फुकाएर लगानी गर्न थालेका छन्। र, विदेशी भूमिमा आफ्नो फिल्मको छायांकन गर्न थालेका छन्।
सामान्यतः ४०–५० लाखमा नेपाली फिल्म बन्ने गथ्र्यो। अहिले दुई करोडभन्दा माथि लगानी हुन्छ। केही निर्माताले पाँच करोडसम्म लगानी गरेर फिल्म बनाउन थालेका छन्। पहिले विदेशमा बस्ने नेपालीले सोख पूरा गर्न केही नेपाली फिल्म आफू रहेका स्थानमा छायांकन गरे पनि अहिले व्यावसायिक रूपमै विदेश गएर फिल्म खिच्न थालिएको छ।
विदेशीहरू प्राकृतिक स्टुडियो भन्दै फिल्म, डकुमेन्ट्री खिच्न नेपाल आउने गर्छन्। नेपाली निर्माता भने नयाँ लोकेसन खोज्दै विदेश जाने क्रम बढ्दो छ। यही क्रममा अभिनेता भुवन केसीले ‘कृ’को एउटा गीत स्कटल्यान्डमा छायांकन गरे। अनमोल केसी र अदिति बुढाथोकीमाथि फिल्माइएको यो गीतले फिल्मको हाइप बढाएको बताउँछन् भुवन।
मिलन चाम्स विदेशी भूमिमा धेरै फिल्म छायांकन गर्ने निर्देशकका रूपमा चिनिन्छन्। उनले ‘लिलिबिली’ को छायांकन लन्डन, स्कटल्यान्ड, स्तानबुललगायतका सहरमा गरे। मिलनले अघिल्लो फिल्म ‘ह्याप्पी डेज’ पनि युरोपमै खिचेका थिए। अर्को चलचित्र ब्लाइन्ड रक्स बेलायतमा खिचिएको हो। मिलनले ‘बबी’ विदेशमा खिचे भने भर्खरै घोषणा गरिएको ‘बबी–२’ पनि युरोपमा छायांकन गर्ने तयारी छ।
विदेशीहरू प्राकृतिक स्टुडियो खोज्दै नेपाल आउँछन्, नेपाली सिनेकर्मी नयाँ लोकेसन खिच्न देशबाहिर
मुकुन्द भट्टको ‘लप्पनछप्पन’ युरोपका विभिन्न सहरमा खिचिएको थियो। फिल्ममा दयाहाङ राई, सौगात मल्ल र वर्षा शिवाकोटी मुख्य भूमिकामा थिए। वसन्त निरौलाको निर्देशनमा ‘होलिडे’ युरोपमा छायांकन गरिएको छ। अभिनेता दिलिप रायमाझीले सुरेशदर्पण पोखरेलको निर्देशनमा मलेसियामा ‘मिस यु’ छायांकन गरेका थिए।
अस्ट्रेलियालगायत विश्वका अन्य केही देशमा खिचिएको थियो अर्को फिल्म ‘दी विनर’। यस्तै अभिनेत्री ऋचा शर्माले निर्माण गरेको ‘सुनकेशरी’ अस्ट्रेलियामा छायांकन गरिएको हो। पृथ्वी रानाले ‘परे नि माया जालैमा’ हङकङमा खिचेका थिए। रमित ढुंगानाले ‘बुद्ध बर्न इन’ नेपालका केही दृश्य अमेरिकामा खिचाए। अभिनेता सुधांशु जोशीले ‘नेपाल’ नामक फिल्मका केही दृश्य अमेरिकामा खिचाएका थिए। आकाश अधिकारीले आफ्नो फिल्म ‘काठमाडौं’को केही दृश्य अमेरिकामा खिचेका थिए।
रामशरण पाठक निर्देशित ‘प्रेम गीत–२’ को छायांकन थाइल्यान्डमा गरिएको थियो। अभिनेता नीरज बरालको ‘स्टुपिड मन’ को केही दृश्य थाइल्यान्डमा खिचिएको थियो। निर्देशक ऋषिराज आचार्यले ‘ड्रिम गर्ल’का केही दृश्य थाइल्यान्डमा खिचे।
निर्देशक मुस्कान ढकाल ‘समर लभ’ रिलिजको तयारीमा छन्। उनले फिल्मका केही दृश्य नर्वे तथा सिंगापुरमा छायांकन गरेका छन्। यो फिल्म माघ २५ मा रिलिज हुँदैछ। सवीर श्रेष्ठको निर्देशनमा रमेश त्वायनाले निर्माण गरेको ‘आधी बाटो’का केही दृश्य र एउटा गीत बेल्जियम र लक्जेम्बर्गमा खिचिएको थियो। राजवल्लभ कोइरालाको ‘राघव’को छायांकन अमेरिका र अस्ट्रेलिया, निर्माता तथा अभिनेता कुशल थापाले ‘ह्याप्पी न्यु इअर’को छायांकन अस्ट्रेलियामा गरे।
‘इन्टुमिन्टु लन्डनमा’को छायांकन लन्डनमा गरिएको छ। यही फिल्मबाट रेनेशा राईले निर्देशनमा डेब्यु गरेकी हुन्। झरना थापाले सुरज सुब्बाको निर्देशनमा ‘फेसबुक’ निर्माण गरेकी थिइन्। फेसबुकका केही दृश्य सिंगापुरमा खिचिएको थियो।

चर्चामा

सम्बन्धित समाचार