शुक्रबार, बैशाख १४, २०८१
  • होमपेज
  • देश
  • गाउँको सिंहदरबारमा ‘कुचिकार’ नेता

गाउँको सिंहदरबारमा ‘कुचिकार’ नेता

  • बुधबार, माघ २३, २०७५
गाउँको सिंहदरबारमा ‘कुचिकार’ नेता

बाजुरा, मंसिर २५ । बडिमालिका नगरपालिका–७ का वडाध्यक्ष धर्मराज पाध्यायले सोमबार बिहान कार्यालय खोले । कोठाभित्रको झाडु समाए । कार्यकक्षदेखि बाहिरसम्म सफा गरे अनि धारामा हात धोए । कार्यकक्षमा पुगेर तौलियाले हात पुछ्दै कुर्सीमा बसे ।
पाध्याय आफ्नो कार्यालय आफैं सफा गर्ने अभियानमा नभई धेरै दिनदेखिको फोहोर देख्न नसकेर सफा गर्दै थिए । कार्यालयमा भेटिएका उनलाई नमस्कार भन्नै परेन, उनैले कुरा सुरु गरे, ‘अवस्था यस्तो छ कि कार्यालय सफा गर्ने कर्मचारीसम्म पठाइदिँदैनन् ।’
बूढीगंगा नगरपालिकामा प्रशासकीय अधिकृत नभएको ६ महिना नाघ्यो । जनप्रतिनिधिले प्रशासनिक काम गर्न नमिल्ने भएकाले सबै काम ठप्प छ ।
केही कर्मचारी छन् तर अधिकृत अभावमा आर्थिक कारोबार हुन नसकेकाले विकास निर्माणका काम ठप्प छन् । ‘प्रदेश र केन्द्रले कर्मचारी नपठाउँदा जनताको काम रोकिएको छ,’ नगरप्रमुख दीपक शाहले बताए ।
केन्द्रमा कर्मचारी समायोजन अध्यादेशमा लालमोहर लागेकाले कर्मचारी पाउनेमा आशावादी भए पनि बाजुरा कर्मचारी आइपुग्न अर्को ६ महिना लाग्नेमा शाह ढुक्क छन् । उनले भने, ‘किनकि, यसअघि पनि खटाएको ६ महिनासम्म कर्मचारी नआएको तीतो अनुभव छ नि हामीसँग ।’ बाजुराका नौवटै स्थानीय तहमा कर्मचारी अभाव छ ।
‘सबै स्थानीय तहमा कर्मचारी पूरा छैनन् कर्मचारीबिना विकास निर्माणका काम थला परेका छन्,’ जिल्ला समन्वय समितिका प्रमुख नरेन्द्र रोकाया आफैं गुनासो गरिरहेका छन् ।
स्थानीय तहमा कर्मचारी नहुँदा जनताले सास्ती खेप्नुपरेको छ । स्थानीय निकायमा दरबन्दीअनुसारका कर्मचारी नहुँदा गाउँपालिका र नगरपालिकाको सेवा लिनका लागि स्थानीय तहकाले केन्द्र धाउनुपर्ने बाध्यता रहेको स्थानीयको गुनासो छ ।
हिमाली गाउँपालिका अध्यक्ष गोबिन्द्रबहादुर मल्ल निर्वाचित जनप्रतिनिधिले मात्र गाउँलाई सिंहदरबार बनाउन नसकिने बताउँछन् । ‘नयाँ संरचना आयो भनेको त झन् काम गर्न गाह्रो भयो,’ उनी भन्छन्, ‘हामी जनप्रतिनिधिले मात्र के गर्ने ? काम गर्ने कर्मचारी नपठाएपछि जनता आएर हाम्रो दिमाग खान्छन्, कर्मचारी छैनन् ।’
सिंहदरबारको अधिकार गाउँगाउँमा भने पनि स्थानीय सेवाग्राहीलाई सुलभ सेवा दिन कठिन भएको गौमूल गाउँपालिका–४ का वडाध्यक्ष वीरेन्द्र रोकाया बताउँछन् ।
गाउँमा सबै सेवा उपलब्ध गराउने भनेर चुनावी प्रचार गरिएको तर कर्मचारी व्यवस्थापनमा समस्या भएकाले जनताको माग पूरा गर्न नसकेको बडिमालिका नगरपालिका–७ का वडाध्यक्ष पाध्यायले बताए । ‘कर्मचारी छैनन्, कसरी वडा कार्यालय चलाउने ?’ वडाध्यक्ष पाध्यायले भने, ‘कार्यालयमा झाडुसमेत आफंैले लगाउनुपर्छ ।’
वडाध्यक्ष पाध्याले कार्यालय सचिवदेखि वडाध्यक्षसम्म सबै काम आफैंले गर्ने गरेको बताए । गाउँपालिका र नगरपालिकामा वडा कार्यालय स्थापना भइसकेका भए पनि कर्मचारी भने छैनन् ।
सामाजिक अभियन्ता शेरबहादुर शाहीले भने, ‘निर्वाचनअघि गाउँगाउँमा सिंहदरबार आउँछ भनी ढुंग्रो फुकेको भए पनि अहिले गाउँघर जाँदा ‘सिंह आयो, दरबार आएन’ भनेर गुनासो गर्ने गरेका छन् ।’
जिल्लामा पाँच गाउँपालिका र चार नगरपालिका गरी नौवटा स्थानीय तह छन् । जिल्लाभरि ६९ वडा छन् । यी स्थानीय निकायका वडामा १२९ जना प्रशासनिक कर्मचारी अभाव रहेको जिल्ला समन्वय समितिका प्रमुख नरेन्द्रकुमार रोकायाले जानकारी दिए ।
वडामा सुब्बास्तरको कर्मचारी हुनुपर्ने व्यवस्था भए पनि खरिदारसमेत नभएको रोकायाले बताए । कर्मचारी व्यवस्थापन समितिले जिल्लामा आवश्यक कर्मचारी पठाइ दिन सामान्य प्रशासन मन्त्रालयलगायत सरोकारवाला निकायमा पठाइसकेको प्रमुख जिल्ला अधिकारी चेतराज बरालले बताए ।
आजको राजधानी दैनिकमा समाचार छ ।

चर्चामा

सम्बन्धित समाचार