प्रकाश सिंह
अंग्रेजी वर्ष २०१९ शुरु भएको छ । सन् २०१८ ले धेरै कुरा सिकायो । दुःखी देखायो, दुःख देखायो र मानवता हराउन दिएन । यसर्थमा सन् २०१८ मेरो लागि निकै सुखद् त रह्यो नै, आगामी दिनमा पनि समाजका लागि थप केही गर्ने उत्साह समेत थपियो ।
समार लेखेकै कारण २०१८ मा केहीले नयाँ जीवन पाए । निस्वार्थ भावना भएकासँग साथ संगत भयो । जसले सामाजिक अभियानमा अझ बढी सक्रिय हुने उर्जा मिल्यो ।
समाचार संकलनका लागि हिँड्ने क्रममा कुनै दिन मोटर बाइकमा तेल हाल्ने र खाजा खाने पैंसासमेत हुन्नथ्यो । विश्वास भएका सहयोगी मनलाई ऋण माग्थे । सहजै पाइन्थ्यो । त्यसकारण पनि २०१८ मा थुप्रै सामाजिक अभियान सफल भए । देश विदेशबाट विश्वासी पात्रका रुपमा पहिचान बनाउन सफल भइयो । समाचारमा समावेश तस्वीर, भिडियोहरू भाइरल बने । कसैको उद्धार भयो । कसैले उपचार पाए । कतिले जीवनको नयाँ गोरेटो भेटे ।
रिपोटिङ्मा जाँदा पकेट खर्च समेत सकिएपछि सहयोग गर्ने महानुभावहरू पहिलो भगवान हुन् । त्यस्तै जब दूरदराजका गाउँमा जान्थ्यौ, पीडादायी सवालबाहिर ल्याउथ्यौं । सहयोगी हातहरू जुट्थे । सहयोग हुन्थ्यो, ती सबै उदार मनहरू दोस्रो भगवान हुन् । जसलाई हृदयदेखि खुट्टा ढोगी नमन गर्न चाहान्छु ।
दुःख, पीडा र अभावका बिचमा खोजमूलक अभियानमा सहकार्य गर्ने पत्रकार लक्ष्मीराज पाध्याय, प्रेम विक, प्रशान्त जैशी लगायत सवाल देखाउन सहयोग पहिचान गर्न सहयोग गर्ने हितैषी मित्र बिर बहादुर विष्ट, बिमल रावत, रेखा रेग्मी लगायत सम्पूर्ण साथीहरू प्रेरणाका स्रोत हुन् । हामीलाइ सधै साथ दिने सहयोग गर्ने ती मनहरूप्रति सलाम ! अझै पनि साथ सहयोग रहँदै जाओस् । जसले हाम्रो यात्रा र अभियान निरन्तर रहिरहने छ । मानवता मरेको छैन र मर्न दिने छैन भन्ने महसुस गराउन थप मद्यत मिल्नेछ ।
यस्ता थिए केही कथा
बडिमालिका नगरपालिका ५ मना गाउँमा पाँच भाइबहिनी बिचल्ली भो । बुवाको क्यान्सरका कारण मुत्यु भयो । आमा अर्को बिहे गरेर गएपछि भाइबहिनी सहाराविहीन अवस्थामा थिए ।
४३ वर्षको उमेरमा बुवा राम बहादुर साउदको क्यान्सरका कारण मृत्यु भयो । आमा बिर्मा साउद श्रीमानको मृत्यु भएको १० महिनापछि अर्को बिहे गरेर गईन् । छोराछोरी १३ वर्षीया पार्वती साउद, ११ वर्षकी सोबिना साउद, ९ वर्षकी अस्मिता साउद, ७ वर्षको सुवास साउद र ४ वर्षको रोशन साउद बिचल्लीमा थिए ।
बुवाको मृत्युपछि आमाले छोड्दा वेसहारा भाईबहिनीहरूको बिचल्ली भो । कहिले मागेर एक छाक टार्थे नत्र भोकभोकै । केही गाउँलेले त टुहुरा भन्दै छिः छिः र दूर दूर नै गरे । कसैले दया गरेर दिएका फाटाटुटा कपडाले लाज छोपे । उनीहरूको त्यो भिडियो भाइरल बन्न पुग्यो । धेरै ठाउँबाट सहयोग जुट्यो । सबै भाइबहिनीहरू अहिले एसओएस बालग्राम काठमाडौंको आश्रयमा छन् ।
गौमुल गाउँपालिका ५ कोट बस्ने देशी बुढाको ३ जनाको परिवार बिचल्लीमा परेको थियो । ३६ वर्षका देशी बुढाकी श्रीमती बिपुरा बुढाले गाउँकै भतिजा नाता पर्नेसँग बिहे गरेर गएपछि ९ वर्षका छोरा विकास बुढा र ६ वर्षका बिपिन बुढा बेसहारा थिए ।
देशी बुढा कामको सिलसिलामा दुई वर्ष पहिला भारतमा गएको बेला दुर्घटनामा परेर घाइते भए । उनको कम्मर तलको कुनै पनि भाग चल्दैन । दिसापिसाब पनि ओछ्यानमा गर्छन् । बावु ओछ्यानबाट उठ्न सक्दैनन् आमा बिहे गरेर गइसकिन् । दुईभाई नाबालक छोरालाई खान, लाउन र पढाइ खर्च समेत जुट्न निकै धौ धौ थियो । उनीहरूको यो अवस्थाको समाचार र भिडियो बाहिर आईसकेपछि उनका दुवै छोराको लालन पालनको जिम्मा एसओएस बालग्राम धनगढीले लियो । तर विडम्वना देशी बुढा भने अहिले पनि घरभित्रै जीवन मरणको दोसाँधमा छन् । उनको उद्धार हुन सकेको छैन ।
बडिमालिका नगरपालिका ५ कोर्ध बस्ने ४१ वर्षीया धनमती बडुवाल उपचार अभावमा भौतारिरहेकी थिइन् ।
२०७४ असोजमा भिरबाट ढुङ्गा खसेर उनको खुट्टा भाँच्चिएको थियो । आफन्त नहुँदा र आर्थिक अभावमा उनी आठ महिनासम्म अपाङ्ग जीवनसँगै उपचार अभावमा तड्पिइन् । धनमतीका श्रीमान मानसिङ बडुवालको तीन वर्ष पहिल नै भिरबाट लडेर मृत्यु भएको थियो । अहिले उनी र उनकी छोरी चन्द्रा कुमारी मात्र छन् ।
खुट्टा भाँच्चिएको केही महिनासम्म उनलाई अस्पतालसम्म लगिदिने समेत कोही भएन् । भाँच्चिएको खुट्टाको पीडा खपेर घरमै थन्किइन् । उपचारका लागि सबैतिर गुहार गरिन् । तर कतैबाट सहयोग भएन् । कतै हिँडडुल गर्न नसक्ने भएपछि उनलाई सहयोग गर्न घरमै कोही पुगेनन् । दुई पटक घाउमा किरा पर्दासम्म पनि उपचार पाइनन् । जब उनको यो व्यथा महिला खबरमा प्रकाशित भयो । उपचारका लागि सहयोग जुट्यो । अछामको बयलपाटा अस्पतालमा उपचार भयो । अहिले उनी सञ्चो भएर घरमा छिन् ।
हिमाली गाउँपालिका ६ कि १५ वर्षीया लक्ष्मी शाही सहाराविहीन बनिन् । सहारा दिने अभिभावक र सहयोग गर्ने आफन्त नहुँदा उनी बिचल्लीमा थिइन् ।
चार वर्षकी हुँदा आमाबुबाको मृत्यु भएपछि टुहुरी बनेकी उनलाई आश्रय दिने कोही थिएन ।
आफन्तले समेत घरमा बस्न नदिएपछि गाउँले नाता पर्ने एक जना दिदीले आफ्नो घरमा लगेर राखिन्् । चार वर्षकै उमेरदेखि नाता पर्ने दिदीको घरमा बस्दै आएकी लक्ष्मीलाई दिदीले काम गर्न नसकेको दिन खानै नदिने र बिहानै उज्यालो नहुँदैदेखि घरभित्र र घरबाहिरको काममा खटाइन् । अन्तममा दिदीको वेवास्ता र दुःख बढ्न थालेपछि उनले घर छाडिन् । उनको यो अवस्था बारे महिला खबरमा समाचार प्रकाशित भएपछि अहिले उनी माइती नेपाल काठमाडौको संरक्षणमा छन् ।
जगन्नाथ गाउँपालिका ३ महती बस्ने करन नेपालीको सिचाई कुलो मर्मत गर्दा लडेर खुट्टा भाँच्चियो । उनलाई आफन्तले बोकेर सदरमुकाम कोल्टी ल्याए । आर्थिक अवस्था निकै कमजोर रहेका करनको परिवारले स्थानीय साहुँबाट २० हजार रुपैयाँ मासिक सयकडा ३ का दरले ब्याजमा ऋण निकालेर उपचारका लागि ल्याए ।
प्राथमिक स्वास्थ्य केन्द्र कोल्टी र स्थानीय नविन मेडिकलमा उनले उपचार गरिहेका छन् । ऋण झिकेको पैंसा सकिएपछि उनलाई बजारमा राख्न सम्भाबना नहुँदा उनकी श्रीमती पशु नेपालीले आफै बोकेर आफन्तको घर लग्दै गर्दाको तस्वीर एकाएक भाइरल बन्यो । उनको ऋण झिकेको २० हजार रुपैयाँ काठमाडौ बस्ने फिल्म निर्माता तथा कलाकार अमित ढुङ्गानाले तिरी दिएका छन् । त्यस्तै बगमाया लिमिटेड इगल्याण्डबाट ४ हजार ९ सयसमेत सहयोग प्राप्त भयो ।
२०१८ मा अरु थुप्रै सवालमा कलम चलाइयोे । धेरैले नयाँ जीवन पाए । १४ जना अलपत्र परेका बालबालिकाको उद्धार भयो । ५ जनाको उपचारका लागि राहत जुटाउने काम भयो । उपचार नभएर तड्पिरहेकाहरूले उपचार पाए ।
७१ वर्षीय गन्धर्व महिलाले नागरिकता नपाउँदा सामाजिक सुरक्षा भत्ताबाट बञ्चित थिईन् । उनको नागरिकता लागि पहलसम्म गर्ने काम भयो ।
पत्रकार महासंघ बाजुरा शाखाको जग्गा खरिद गरी भवन निर्माणका लागि पहल अगाडि बढ्रिहयो । यो अभियानमा धेरैको सहयोग रह्यो । थुप्रै भष्ट्राचारका सवालमा कलम चलाइयो । चुनौती र दबाबका बिचमा कलमको यात्रा निरन्तर रहिरह्यो ।
९ वर्षदेखिको पत्रकारिता सधैँ सामाजिक काममा लागि प्रेरित बनिरह्यो । अंगेजी वर्ष २०१८ मेरा लागि यसर्थ उत्कृष्ट बन्न गयो ।