बिहिबार, चैत्र १५, २०८०
  • होमपेज
  • देश/प्रदेश
  • भाडाका घरमा स्थानीय सरकार

भाडाका घरमा स्थानीय सरकार

  • बुधबार, माघ २३, २०७५
भाडाका घरमा स्थानीय सरकार

बैतडी, माघ २२
देश संघिय संरचनामा गएर स्थानीय तहमा जनप्रतिनिधी आएको १ बर्ष बढी भइसकेको छ तर बैतडीका स्थानीय तहहरुले अझै पनि आफ्नो भवना निर्माण गर्न सकेका छैनन् ।
जिल्लाका ८ ओटा स्थानीय तहसंग आफ्ना भवन नहुँदा भाडाका घरमा सञ्चालन भइरहेका छन् । जिल्लाको दशरथचन्द नगरपालिका र शिवनाथ गाउँपालिका बाहेकका अरु स्थानीय तह भाडाका घरमा सञ्चालन भइरहेका हुन् ।
स्थानीय तहका आफ्नै भवन नहुँदा भाडाका घर, विद्यालय भवनहरुमा कार्यालय सञ्चालन गर्नुपरीरहेको स्थानीय तहहरुले जनाएका छन् । स्थानीय तह सञ्चालनमा आएको करीब दुई बर्ष हुन लाग्दा समेत स्थानीय तहहरुसंग आफ्ना भवन छैनन् । कार्यालय भवन नहुँदा स्थानीय सरकारले सञ्चालन गर्ने कामहरु प्रभावकारी हुन नसकेका जनप्रतिनिधिहरुले बताएका छन् ।
जिल्लाको डिलाशैनी गाउँपालिकाले गाउँपालिकाको सम्पर्क केन्द्रमा विद्यालयको भवन मर्मत गरेर कार्यालय सञ्चालनमा ल्याएको छ । ५ लाखमा विद्यालय भवन मर्मत गरेर कार्यालय सञ्चालन भइरहेको गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत चन्द्रदेव जोशीले जानकारी दिए ।
यस्तै दोगडाकेदार गाउँपालिकाले पनि श्रीकोट बहुमुखी क्याम्पसको भवन मर्मत गरेर कार्यालय सञ्चालन गरिरहेको छ । पाटन नगरपालिकासंग भएको भवन सानो हुँदा मासिक ४० हजार भाडा तिरेर कार्यालय सञ्चालन गरिरहेको छ ।
यस्तै मेलौली नगरपालिकाले पनि मासिक १० हजार भाडा तिरेर कार्यालय भाडाको घरमा सञ्चालन गरिरहेको छ । सुर्नया गाउँपालिकाले एउटा घर भाडामा लिएर मासिक १० हजार तिरिरहेको छ भने रौलेश्वर माविको भवन मर्मत गरेर कार्यालय सञ्चालन गरिरहेको छ ।
यसैगरी पुरचौंडी नगरपालिकाले चारओटा निजी घर भाडामा लिएर कार्यालय सञ्चालन गरिरहेको छ । मासिक ४० हजार नगरपालिकाले भाडामा खर्च गरिररहेको छ ।
जिल्लाको सबैभन्दा दुर्गम सिगास गाउँपालिकाले पनि मासिक १० हजारमा निजी पसलहरु भाडामा लिएर जेनतेन कार्यालय सञ्चालन गरिरहेको छ । गाउँपालिकाको केन्द्र गर्जेमा भाडामा लिन समेत भवन नहुँदा गाउँपालिकाले गत बर्षदेखि नै कार्यालय भवन निर्माणको काम गरिरहेको छ ।
भवन निर्माण कार्य अन्तिम चरणमा गाउँपालिकाका अध्यक्ष हरिसिंह धामीले जानकारी दिए । यस्तै पञ्चेश्वर गाउँपालिकासंग पनि भवन नहुँदा सानो भवनमा कार्यालय सञ्चालन भइरहेको छ ।
आफ्नै भवन नहुँदा सेवा प्रवाहमा समस्या
स्थानीय तहहरुसंग आफ्नो भवन नहुँदा सेवा प्रवाहमा समस्या भइरहेको जनाएका छन् । जिल्लाको दशरथचन्द नगरपालिका र शिवनाथ गाउँपालिकाबाहेक अरु स्थानीय तह भाडाका घरमा सञ्चालनमा रहेका छन् । स्थानीय तहमा भौतिक संरचनाको अभावमा काम सञ्चालन गर्न अप्ठ्यारो भएको हो ।
नगरपालिकाहरुकै भवन नहुँदा सेवा प्रवाहमा समस्या भएको जनप्रतिनिधिहरुले बताएका छन् । जिल्लाको मेलौली, पुर्चौडी र पाटन नगरपालिका भवनको अभाव छ भने गाउँपालिकाहरुमा पनि भवनको अभाव रहेको छ । भवनको अभावमा नगरपालिका भित्र शाखाहरु नै स्थापना गर्न नसकिएको पाटन नगरपालिकाका प्रमुख केशवबहादुर चन्दले बताए ।
यस्तै मेलौली नगरपालिकामा पनि भवनको अभाव रहेको छ । भवनको अभाव हुँदा भवन भाडामा लिएर काम सञ्चालन गर्ने तयारी भइरहेको नगर प्रमुख कृष्णसिंह नायकले जानकारी दिनुभयो । मेलौलीमा विद्युत,सञ्चारको समेत समस्या रहेको छ । विद्युत नहुँदा धेरै समस्या भएको स्थानीय नागरिकले बताएका छन् ।
यस्तै पुर्चौडी नगरपालिकामा पनि भवनको अभाव छ भने त्यहाँ पनि विद्युत र सञ्चारको समस्या रहेको छ । यस्तै गाउँपालिकाहरुमा पनि भवनको अभाव नै रहेको छ । विकास न्यूनतम पूर्वाधार समेत नहुँदा स्थानीय तहले प्रदान गर्ने सेवामा कठीनाइ भइरहेको जनप्रतिनिधिले बताएका छन् । डिलाशैनी गाउँपालिकामा भवन अभाव तथा अन्य विविध कारणले स्थानीय तहको केन्द्रभन्दा बाहिर रुद्रेश्वरमा सम्पर्क कार्यालय स्थापना गरेर सेवा प्रदान गरिरेहेको छ । बैतडीमा ४ नगरपालिका र ६ गाउँपालिका गरी १० स्थानीय तहहरु रहेका छन् ।

चर्चामा

सम्बन्धित समाचार