एरिक भ्यालीको फिल्म ‘क्याराभान’ हेरेदेखि पंक्तिकारको मनभित्र फोक्सुन्डो ताल पुग्ने लालसाले बास गरेको थियो । सोचेको धेरै भए पनि हालै मात्र नेपालको सबैभन्दा गहिरो ताल प्रत्यक्ष अवलोकन गर्ने अवसर मिल्यो ।
नेपालको सबैभन्दा ठूलो जिल्ला डोल्पा । हालै सडक सञ्जालले छोए पनि यहाँ जान भरपर्दो विकल्प भनेको हवाईजहाज नै हो । नेपालगञ्जदेखि जुफालसम्म हवाईजहाजको यात्रापश्चात सुरु हुन्छ, पैदलयात्रा । सामान्यतया तीन दिन लाग्ने पैदल यात्रा समयाभावका कारण हामीले दुई दिनमै गर्यौं ।
एक छिनमा नीलो, एक छिनमा फिक्का नीलो । छिन-छिनमै पानीको रंग फेरिँदो रहेछ फोक्सुण्डो तालमा । तालको गहिराई ६ सय ५० मिटर रहेको छ । तालमा कुनै पनि जीव-जनावर अर्थात् जलचर नहुनु फोक्सुण्डोको अर्को विशेषता हो ।
फोक्सुण्डो तालबाट निस्केकोे झरना नेपालकै सबैभन्दा ठूलो झरना पनि हो । यसलाई फोक्सुण्डो झरनासमेत भन्ने गरिन्छ । समुन्द्री सतहबाट ३ हजार ६ सय ६० मिटर उचाईमा अवस्थित फोक्सुण्डो तालको सुन्दरता एरिक भ्यालीले क्याराभान फिल्ममार्फत संसारसामू पस्किदिएका थिए । यही कारणले पनि होला डोल्पामा पुग्ने पर्यटकमध्ये आधाभन्दा बढी फ्रेन्च हुन्छन् । त्यसो त अमृत गुरुडको ‘सा कर्णाली ‘ ले पनि डोल्पाको सुन्दरतालाई ब्याख्या गरेको छ ।
फोक्सुन्डो तालनजिकै रिग्मो गाउँ रहेको छ, जहाँ पर्यटकका लागि बास बस्ने होटलहरु छन् । तर, रिग्मो गाउँमा अव्यस्थित तरिकाले होटलहरु बन्दा तालको सुन्दरतामा नै असर परिरहेको देखिन्छ । फोक्सुण्डो ताल जाने पदमार्गमा पनि ठाउँ-ठाउँ रुखहरु ढलेर बाटो अवरुद्ध भएको थियो । यसलाई तत्काल उचित ब्यवस्थापन गर्न जरुरी छ ।
पदमार्गको कुनै-कुनै स्थानमा बाटोहरु निकै साँघुरा छन् । खच्चड र पर्यटक हिँड्ने एउटै बाटो भएकाले अत्यधिक फोहोर हुनुका साथै धुलोले पर्यटकलाई सास्ती बर्होनुपरेको छ ।
कसरी पुग्ने ?
नेपालगञ्जदेखि जुफालसम्मको हवाईजहाजको यात्रापछि सुरु हुन्छ, पैदल यात्रा । पैदल यात्राको पहिलो दिन जुफाल एयरपोर्टबाट डोल्पाको सदरमुकाम दुनै जान चार घण्टा जति लाग्छ । दोस्रो दिन दुनैदेखि छेप्का । तेस्रो दिन छेप्कादेखि झरना । चौथो दिन झरनादेखि फोकसुण्डो ताल छेउमा भएको रिग्मो गाउँमा पुगिन्छ ।
यथेष्ट प्रचारप्रसार भएन: सत्या पहाडी
डोल्पाकी प्रतिनिधिसभा सदस्य सत्या पहाडी
प्राकृतिक सुन्दरतामा मात्र नभएर सांस्कृतिक, धार्मिक तथा ऐतिहासिक रुपले पनि निकै धनी छ, डोल्पा जिल्ला । तर, डोल्पाको सुन्दरताले जति ख्याति पाएको छ, त्योबमोजिम पर्यटक तान्न सकेको छैन ।
फोक्सुण्डो ताल डोल्पाको मात्र नभएर देशकै गौरव हो । तर, यसको राज्य तथा स्थानीयले त्यति सदुपयोग गर्न सकेका छैनन् । यथेष्ट प्रचार-प्रसार नभएकाले पनि पर्यटक उराल्न चुकिरहेको छ । आवश्यक पूर्वाधार निर्माणमा पनि ध्यान दिन सकिएको छैन ।
पूर्वाधार भन्नाले तालसम्म पुग्नलाई सहज बाटो छैन । ताल पुगिसकेपछि पनि वरिपरि पर्यटकलाई हिँड्डुल गर्ने पदमार्ग छैन ।
ताल तथा सो क्षेत्रको संरक्षणको लागि छुट्टै समिति बनाउनु आवश्यक छ । पदमार्ग छेउछाउका होटलहरुलाई तालिम दिन पनि जरुरी देखिएको छ ।
अन्य जिल्लाहरु भन्दा अलग भूगोलका साथै सांस्कृतिक हिसाबले अलग पहिचान भएकाले डोल्पाको विकासमा राज्यले उचित ध्यान दिनुपर्छ । सबैभन्दा महत्त्वपुर्ण कुरा भनेको राज्यले डोल्पा घुम्न आउने पर्यटकबाट उठाएको पैसा त्यही ठाउँमा खर्च गर्नुपर्यो ।